इलाम । इलाम गोलबस्तीका १० बर्षिय दिवस शिवा शुक्रबार विद्यालय छुट्टी हुने वितिकै जर्सी र बुट बोकेर ठुलो टुडिखेल तर्फ हिडछन । क्रिस्टियानो रोनाल्डो जस्तै बन्ने लक्ष्य बोकेका उनी शुक्रवार दिउँसो र शनिवार विहानै इलामको ठुलो टुडिखेलमा फुटबल खेल्दै गरेको भेटिन्छ । इलाम नगरपालिका– ९ का १० बर्षिय आरभ शिवाकोटी ४ किलोमिटर हिडेर ठुलो टुडिखेल फुटबल सिक्न आउँछन । उनी मात्र होइन उनको गाँउबाट उनीभन्दा साना र ठुला गरी २० भन्दा बढी बालबालिकाहरु ग्रासरुटमा सहभागी छन । नेयमार जस्तै बन्ने लक्ष्य लिएका उनी शुक्रबार स्कुलबाट घर पुगेर खाजा समेत नखाइ मैदान उत्रन्छन भने शनिवार ६ बजे नै खेलमैदान प्रस्थान गर्छन । उनी भन्छन ‘ धेरै मज्जा आएको छ । फुटबल भन्ने वितिकै गोल लगाउनुभन्ने बुझेको थिए त्यतीमात्रै होइन रहेछ । फुटबल भित्र निक्कै प्रकारको स्किल हुँदो रहेछ ।’
इलाम जोरधाराका सुजल पौडेल फ्रान्सका कप्तान ह््युगो लोरिस जस्तै गोलकिपर बन्न चाहन्छन । १३ बर्षिय उनी साताको २ दिन नेपाली सेनाको स्वामित्वको टुडिखेलमा सहकर्मीहरुको प्रहार बचाउनमा व्यस्त भेटिन्छन । दिवस, आरभ र सुजल मात्र होइन इलाम सदरमुकामका ८ वर्षदेखि १३ वर्ष उमेर समूहका २ सय बढी बालबालिकाहरु विभिन्न देश र क्लबका जर्सीमा मैदानमा बल संग रमाउदै गरेका भेटिन्छन । उनीहरुलाई जिल्ला फुटबल संघले प्रशिक्षण दिने गरेको छ । प्रशिक्षक दर्शन भक्तराज सहित ५ जना प्रशिक्षकले फुटबल सम्वन्धी विभिन्न कला सिकाउने गरेका छन । । अखिल नेपाल फुटबल संघ (एन्फा) मा आबद्ध ४५ जिल्ला संघले नयाँ र प्रतिभावान खेलाडी पहिचान गर्ने उद्देश्यसहित ग्रासरुट फुटबल अभियान शुरु गरेको छ जस्मा इलामले समेत अभियानलाई तिव्र रुपमा अगाडी बढाइरहेको छ । भदौबाट सुरु भएको कार्यक्रममा सदरमुकामका विभिन्न विद्यालयका २ सय बढी बालबालिकाहरु सहभागी छन । ग्रासरुटमा सहभागीता जनाउन थालेपछि नयाँ कुराहरु सिक्न पाएको सहभागी कुशल ल्वागनु बताउँछन । उनी भन्छन ‘ मज्जा लागिरहेको छ कोचहरुले पनि राम्रै सिकाइरहनुभएको छ । मैले छकाउन, हेडिङ, चेस्टिङ सिके अनि पास सिके ।’
बालबालिकाहरुलाई खेलकुदप्रति आकर्षित गराउने र भोक जगाउने उद्देश्यबाट ग्रासरुट फुटबल फेस्टिभल प्रभावकारी हुने देखिन्छ । ‘यस्तो बिधिबाट उत्पादन हुने खेलाडीहरु मध्येबाट विशेष अवसरका साथ उमेर अनुसारका प्रतियोगितामा सहभागी गराउँदै लैजाने हो भने पछिल्लो पुस्ताका बालबालिकाहरु पनि खेलकुद प्रति आकर्षित हुनेछन’ एन्फा युथ डेभलप्मेन्ट कमिटी सहसंयोजक एवम केन्द्रिय सदस्य निरोज खडगीले भने । सदरमुकाममा बालबालिकाहरुको उत्साहजनक सहभागीतापछि ग्रासरुट कार्यक्रम सुर्योदय नगरपालिका, चुलाचुली, देउमाइ नगरपालिका र रोङ गाँउपालिकामा समेत संचालन गरिने जिल्ला फुटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठले बताए । बालबालिकाहरुको उत्साहजनक सहभागीताले अभिभावकमा समेत खेलकुद प्रति सकारात्मक सोचको विकास हुँदै गएको प्रमाणित गर्दछ । खेलकुदलाई उच्च कोटीको बनाउने हो भने सानो उमेरदेखि नै खेलाडी उत्पादनमा राज्यले लगानी गर्नुपर्ने फुटबल जानकार बताउँछन । ‘२ महिनामात्रै हुँदैछ । यो सहभागिताले हामीलाई हौसला मिलेको छ ।’ लाेकल सन्देशसँग कुरा गर्दै श्रेष्ठले भने , ‘विद्यालय र अभिभावक समेत उत्साहित छन । अब यो कार्यक्रमलाई ब्यवस्थित बनाएर अगाडी बढाउछौ । बल बिव्स लगायतका सामाग्री एन्फाले दिन्छ केही खर्च स्थानिय तहहरुले सहयोग गर्ने प्रतिवद्धता गरेका छन ।’
के हो ग्रासरुट फुटबल
ग्रासरुट फुटबल कार्यक्रम एन्फा र फिफाकै महत्वाकांक्षी परियोजना हो । स्तरीय र उत्कृष्ट खेलाडी उत्पादनको योजनाका रूपमा परियोजनालाई लिइएको छ । फिफाले नियम अनुसार ६ वर्षदेखि १२ वर्षको उमेर समूहले खेल्ने फुटबललाई ग्रासरुट भनेर निर्धारण गरेकोछ । तर एन्फाले ८ देखी १२ बर्ष उमेर समुहका बालबालिकालाई प्रशिक्षण दिने गरेको प्रवक्ता किरण राईले बताए । यसमा सिनियर फुटबलले खेल््ने जस्तो कुनै नियम लागू हँुदैन । यो एकदमै मनोरञ्जनात्मक परियोजना भएको एन्फाले जनाएको छ । रमाइलो गरेर साना बालबालिकालाई फुटबल सिकाउने माध्यम हो । ‘सुरुमा ग्रासरुटमा कसरी फुटबल दौडाउने कसरी बल फाल्ने, कसरी पास हान्ने भन्ने सिकाइन्छ । प्रशिक्षक दर्शन भक्तराज भन्छन ‘यो जहाँ पनि जोसँग पनि सिक्न सकिन्छ, खेल्न सकिन्छ । सामान्य फुटबल खेल्न सिक्ने फुटबलका रूपमा ग्रासरुटलाई लिइएको हुन्छ ।’ ग्रासरुट प्रशिक्षणका लागी इलाममा ५ जना प्रशिक्षकहरु नियुक्त गरिएको छ ।
‘ग्रासरुट फुटबलको मेरुदण्ड हो ।’ एन्फा युथ डेभ्लोपमेन्ट कमिटी सहसंयोजक एवम केन्द्रिय सदस्य निरोज खड््गी भन्छन ‘यस कार्यक्रममा सिनियर खेलाडीले खेल्ने फुटबल नियम लागु हुँदैन । बालबालिकालाई मनोरन्जनात्मक तरिकाले फुटबल खेल्न सिकाईन्छ । फुटबल सिकाउने भन्दा पनि स्वतन्त्र रुपमा मैदानमा छाडने हो अनि कसरी खेल्छ भनेर हेर्नेमात्र हो त्यसबाट विस्तारै कलाहरु सिकाउने हो । ’ एन्फाले ग्रासरुट फुटबल गतिविधि बढाउन, मैदानको मर्मत लगायतको कार्य गर्न ४५ वटै जिल्लामा आर्थिक सहयोग र खेलकुद सामग्रीहरु प्रदान गरेको छ । नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल संघ एन्फा को केन्द्रीय नीतिअनुसार ग्रासरुट कार्यक्रम जिल्लाको माग र फिफाको सहयोग अनुसार समय थप्दै जाने एन्फा प्रवक्ता किरण राईले बताए । कार्यक्रमका लागि विद्यालयका छात्रछात्रा निकै उत्साहित छन । भौतिक पूर्वाधार निर्माण गर्नको लागि एन्फाले सुगम र दुर्गम छुट््याएर नगद रुकम उपलब्ध गराएको छ । १० जिल्ला बाग्लुङ, धनकुटा, दोलखा, इलाम, काभ्रे, लमजुङ, पाल्पा, पाँचथर, सिन्धुपाल्चोक र स्याङ््जाको लागि भने एन्फाले थप १० लाख उपलब्ध गराएको छ भने बाँकी ३५ जिल्लालाई ५ लाख रुपैया प्रदान गरेको छ । यस्तै १ लाख बराबरको फुटबल सामाग्रीमा एन्फाले बल, बिब्स, मार्कर, कोन लगायतका सामाग्री प्रदान गरेको छ ।