इलाम । प्रदेश नम्बर १ को सरकारले पुसदेखि प्रदेशस्तरमा चिया तथा कफी बोर्ड गठन गर्ने प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ । सङ्घीय सरकारले गठन गरेको चिया तथा कफी विकास बोर्डले मङ्सिर महिनाभित्रमा राम्रो काम गरेर नदेखाए अर्को बोर्ड गठन गर्ने चेतावनी प्रदेश नम्बर १ को सरकारले दिएको हो । केन्द्रीय चिया सहकारी सङ्घले विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले प्रादेशिक स्तरमा बोर्ड गठन गरेर चिया तथा कफी विकासका काम अघि बढाउने बताएका हुन ।
‘मुख्य नगदे बालीका रूपमा प्रदेश नम्बर १ मा चिया र अलैँची नै हुन, नेपालमा उत्पादन हुने चिया र अलैँचीमध्ये ९९ प्रतिशत यही प्रदेशमा उत्पादित हुन्छ’, मन्त्री आङ्बोले भने ‘तर सङ्घीय सरकारले चिया र अलैँचीको मर्म नबुझेकालाई बोर्डमा नियुक्त गरेको छ । हामी मङसिरभरि अझै बाटो हेर्छौं । यो एक महिना पनि राम्रो काम भएन भने बोर्ड गठन गर्ने प्रक्रिया सुरु गर्छौं ।’
चिया र अलैँचीले व्यापार घाटा कम गर्न र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन मद्दत गरिरहेको चर्चा गर्दै उहाँले दुबै नगदे बालीसित सम्बन्धित निकाय सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने आग्रह गरे ।
आङ्बोले भने ‘९९ प्रतिशत चिया र अलैँची उत्पादन गर्ने कृषक र उद्यमीका समस्या नसुन्ने विकास बोर्डको पछि लागिरहनु अब जरुरी छैन। सङ्घीय सरकारले कृषिसित सम्बन्धित सबै संयन्त्र हामीलाई हस्तान्तरण गर्नुपर्छ। नगर्ने हो भने हामी आफैँ गठन गर्न स्वायत्त छौँ ।’