Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चिया क्षेत्रको उच्चस्तरीय कार्यादलसँग व्यवसायीको २० बुंदे सुझाव पेश

चिया क्षेत्रको उच्चस्तरीय कार्यादलसँग व्यवसायीको २० बुंदे सुझाव पेश

  • सुजन तिमिल्सिना
  • मंगलबार, असोज २३ २०७५


चिया क्षेत्रको उच्चस्तरीय कार्यादलसँग व्यवसायीको २० बुंदे सुझाव पेश

इलाम । चिया क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठन भएको उच्चस्तरीय कार्यादलसँग इलामका चिया व्यवसायीले २० बुंदे सुझाव पेश गरेका छन् । श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश प्रसाद दाहालको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय कार्यदललाई चियाको राजधानी इलामका व्यवसायीहरुले २० बुंदे सुझाव पेश गरेका हुन् ।
उद्योगी व्यवसायीले दिएको सुझावपत्रमा चिया क्षेत्रको छुट्टै कानुन र कार्यनिति निर्माण गर्नुपर्ने, न्यूनदरमा कृषि ऋण पाउनुपर्ने, चियाको अर्गानिकरणका लागि काम गर्नुपर्ने, विद्युत महसुल ५० प्रतिशत छुट हुनुपर्ने, कोइलामा लाग्ने भ्याट छुट र जिल्ला निकासी कर हट्नुपर्ने छन् । यसैगरि नेपाली तयारी चिया भारत निकासी सहज बनाउनुपर्ने, चिया निकासी बजारमा निर्यात गर्दा पाउनुपर्ने १५ प्रतिशत अनुदान लागुगर्नुपर्ने, भारत निर्यात हुँदै गरेको हरियो चिया पत्ति निकासीमा प्रतिबन्ध लगाउनुपर्ने, हरियो चिया पत्तिको मुल्य उद्योगी आफैले राख्न पाउनुपर्ने, नेपाली चियाको आफ्नै क्लोन नभएकाले नेपाली चियाको परिचय खुल्ने क्लोन निर्माण गर्नुपर्ने लगायतका सुझाव रहेका छन् ।
अर्थ मन्त्रालय, कृषि मन्त्रालय, सूयुक्त ट्रेड युनियन समन्वय केन्द्र, चिया तथा कफि विकास बोर्ड, चिया व्यवसायी र चिया क्षेत्रमा सक्रिय ३ वटा मजदूर संगठनका सदस्य रहेको कार्यादलले इलामका चिया उद्योगीसँय सनिबार बिहान सुझाव संकलन गरेको थियो । उच्च स्तरीय कार्यदलसँग सुर्योदय चिया एशोसिएसनका अध्यक्ष, पुनम राई, चिया उद्योगी सुबास संघाई, उदय चापागाई, दुर्गा बराल, जिवन नेपाल, ओम काफ्ले, सचिव सुब्बा लगायतले सुझाव पेश गरेका थिए । हरियो पत्ति कम गुणस्तरको भएको र बजार खस्केको अवस्थामा श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा तोकिएको ज्याला दिन सरकारी निकायले सहयोग गर्नुपर्ने व्यवसायीले कार्यदलसँग सुझाव पेश गरेका थिए ।
कार्यदलले चिया उद्योगी, किसान, मजदूर र निर्यातकर्तासँग छलफल गरि २ महिनामा समस्या र समाधानबा बारेमा प्रतिवेदन बुझाउन समय तोकिएको समितिका सदस्य दिपक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार