इलाम । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले भगवती मावि इलाममा कार्यरत शिक्षक खिनमाया परियारलाई पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको दलित आयोग प्रमुख रहेकी खिनमायालाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको इलामका एसपी विपिन कर्माचार्यले जानकारी दिए । परियारसँगै नेत्रविक्रमका अर्का कार्यकर्ता डम्बर मगरलाई पनि प्रहरीले बुधबार इलामबाटै पक्राउ गरेको छ । मगर युवा संगठन प्रमुख रहेको एसपी कर्माचार्यको भनाइ छ ।
यसअघि मंसिर १ गते यता प्रहरीले अन्य चार जना कार्यकर्तालाई इलामका विभिन्न स्थानबाट गिरफ्तार गरेको थियो । । इलाम नगरपालिका– ५ बाट ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका– ११ बाट २७ वर्षीय सञ्जीव फागो, देउमाइ नगरपालिका– ८ बाट ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका– १ बाट २६ वर्षीय विशाल राईलाई गिरफ्तार गरिएको र उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।