इलाम । इलामको माङ्सेबुङ गाउपालिका–५ लारुम्बामा आत्मानन्द लिङदेन रनिङ गोल्ड कप को १० औ संस्करण खेलकुद प्रतियोगिता मंसिर ९ गतेबाट हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६४ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगिता मंसिर १७ गते सम्पन्न हुनेछ ।
प्रतियोगितामा फूटबलसहित विभिन्न खेलकुद प्रतियोगिताको बिषयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । आयोजक समितिका अध्यक्ष मनकुमार आङवुहाङले धर्मगुरु लिङदेनको जन्मोत्सवका अवसरमा विभिन्न खेलकुद कार्यक्रमको तयारी सुरु भएको बताए । माङसेवुङ खेल मैदानमा हुने गोल्डकपमा फूटबल, म्याराथुन, लगायतको खेल हुने छ ।
फूटबल प्रतियोगितामा पूर्वका सप्तकोशी फुटबल क्लब सुनसरी, रेह हर्ष इलाम, लेटाङ फुटबल क्लब मोरङ, एएफसी अर्जुधारा झापा, सगरमाथा फुटबल क्लब मोरङ सहभागी हुने भएका छन । त्यसैगरी विभागीय टिम शसस्त्र प्रहरीको एपिएफ झापा, सर्वोत्तमुखी यासोक पाँचथर, र विविएफसी दमक सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगीतामा विजेता टिमलाई नगद एक लाख ५ हजार ६४ रुपैयाँ, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ७५ हजार ६४ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आङबुहाङले बताए । किरात साम्यो हक्चात यक्चुम मुख्य संयोजन र फाल्गुनन्द स्मृती युवा क्लबको सहसंयोजन रहेको उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । २०६५ सालबाट निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको छ ।
गत संस्करणमा यासोक फुटबल क्लब बिजेता बन्दै नगद १ लाख १ हजार १ र उपविजेता महमाई फुटबल क्लबले ७५ हजार १०१ रुपैया प्राप्त गरेको आयोजक समितीका उपाध्यक्ष मनोज शिवाकोटीले जानकारी दिए । १० औ संस्करणको पहिलो खेलमा सप्तकोशी फुटबल क्लब सुनसरीले रेडहर्स इलामको सामना गर्दैछ ।