Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दोस्रो चरण निर्वाचनको उम्मेदवारी मनोनयन आज

दोस्रो चरण निर्वाचनको उम्मेदवारी मनोनयन आज

  • लोकल सन्देश
  • बिहिबार, कार्तिक १६ २०७४


दोस्रो चरण निर्वाचनको उम्मेदवारी मनोनयन आज

 

काठमाडौं । आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्येक्षतर्फको उम्मेदवारी मनोनयन आज हुँदैछ । निर्वाचन आयोगको घोषित कार्यतालिका अनुसार आज ४५ जिल्लामा उम्मेदवारी दर्ता हुन लागेको हो ।

४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र छ भने प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्र छन् । यसअघि कात्तिक ५ गते ३२ हिमाली जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ । यी जिल्लामा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बिहीबार कार्यालय समयभित्र दलहरुले उम्मेदवारी दर्ता गराउन सक्ने जानकारी दिए । ‘निर्वाचन आयोगमा दर्ता भएका दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरुले कार्यालय समयभित्र उम्मेदवारी मनोनयन दर्ता गराउन सक्नेछन्’, आयुक्त ढकालले  भने ।

निर्वाचन आयोगले जिल्लामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट दुवैतर्फको उम्मेदवारी दर्ता गराउन सक्ने प्रवन्ध मिलाएको छ । प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराउन चाहनेले दलको सिफारिस पत्रसँगै एकजना प्रस्तावक र १ जना समर्थकको सहयोगमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । प्रस्तावक र समर्थक भने उम्मेदवारी दिने क्षेत्रकै हुनुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिन चाहने व्यक्तिले पनि प्रतिनिधिसभाको उम्मेदवारले जस्तै दलको सिफारिसपत्र पेश गर्नुपर्ने छ । यसका साथै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र आफ्नो निर्वाचन क्षेत्रभित्रको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ ।

प्रमुख दलबाट इलाममा प्रतिनिधीसभा र प्रदेश सभामा उम्मेदवार को को ?
प्रतिनिधी सभाको लागी क्षेत्र १ को प्रत्यक्षतर्फ वाम गठबन्धनबाट एमालेका झलनाथ खनाल र कांग्रेसबाट भूपेन्द्र कट्टेलले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतिनिधिसभाकै क्षेत्र २ मा गठबन्धनबाट एमालेका सुवासचन्द्र नेम्बाङसँग कांग्रेसका नेता तथा पुर्व साँसद केशव थापा प्रतिस्पर्धा गर्नेछन ।
प्रदेशसभातर्फ क्षेत्र १ को १ मा गठबन्धनबाट एमालेकी खिनु लङ्वा लिम्बू र कांग्रेसबाट देवेन्द्र राईले प्रतिस्पर्धा गर्दैछन् । केही वर्षअघि कांग्रेस छाडेर संघीय समाजवादी फोरमको जिल्ला अध्यक्षसमेत रहेका राई कांग्रेसमै प्रवेश गर्ने सर्तमा कांग्रेसबाट उम्मेदवार बनेको कांग्रेस स्रोतले जनाएको छ । क्षेत्र १ को २ मा गठबन्धनबाट एमालेका काजीमान कागते र कांग्रेसबाट दुर्गा बराल लड्ने भएका छन् ।
प्रदेशतर्फ नै क्षेत्र २ को १ मा गठबन्धनबाट एमालेका रामबहादुर रानासँग कांग्रेसका डम्बर खड्काले प्रतिस्पर्धा गर्दैछन् । क्षेत्र २ को २ मा भने गठबन्धनबाट माओवादीका धीरेन्द्र शर्मा रमणले कांग्रेसका खगेन्द्र देवानसँग प्रतिस्पर्धा गर्नेछन । मुख्य निर्वाचनको कार्यालयमा आज मनोनय हुनेछ ।

बाम गठबन्धनलाई केन्द्रिय नेताहरुले सम्बोधन गर्ने 
मनोनय दर्तापछि आज नै बाम गठबन्धनलाई केन्द्रिय नेताहरुले सम्बोधन गर्ने भएका छन । अपराहन्न २ बजे इलाम सदरमुकाम स्थित गौतमबुद्ध सभागृहमा एमाले र माओवादीका केन्द्रिय तहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार