इलाम । कृषिउपजले आर्थिक अवस्था उकासेका यहाँका कृषकलाई बाँसले पनि गतिलो आम्दानी दिन थालेको छ । मेची राजमार्ग र सडकको पहुँच पुगेका ग्रामप्ण क्षेत्रबाट बाँस बिक्री हुने क्रम बढेको हो । यहाँको बाँस राजधानी जाने गरेको छ ।
पाखाभित्तामा घरायसी प्रयोगमा सीमित बाँसको माग ०७२ को भूकम्पपछि राजधानीलगायत क्षेत्रमा बढेको हो । सुरुमा अस्थायी टहरा निर्माणका लागि प्रभावित क्षेत्रमा पुग्ने यहाँको बाँसले त्यसपछि अन्य प्रयोजनका लागि स्थान पाएको हो । जिल्लाका विभिन्न गाउँबाट दैनिक ट्रकमा लोड भएर राजधानीतर्फ बाँस जाने गरेको छ । सडकको अवस्था हेरेर कृषकले ८० रुपैयाँदेखि एक सय २० रुपैयाँसम्म प्रतिगोटा बाँसको मूल्य पाउँछन् । ट्रयाक्टरले ढुवानी गर्न सक्ने क्षेत्रसम्मको व्यवसायीले संकलन गरी काठमाडौं र्पुयाउने गरेका छन् । व्यवसायीले राजधानीमा एक सय ७० देखि दुई सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।
वर्षौंदेखि नकाटिएका पुराना बाँस अझै पनि कृषकले बिक्री गरिरहेका छन् ।
इलाम नगरपालिका ५ तोरीबारीका कृषकले राम्रो आम्दानी गरेको स्थानीय अग्नि अधिकारीले वताए । दुई वर्षयता निरन्तर राजधानी जान थालेको बाँसको अभाव नभएको ठेकेदार बताउँछन् । ‘एक महिनामा ३० गाडीभन्दा धेरै बाँस राजधानी पुर्याउछु ,’ इलाम नगरपालिका खरेलडाँडामा भेटिएका व्यवसायी मिलन लुङ्गेलीले भने, ‘१२ भन्दा बढी व्यवसायीले यही दरमा लैजाने गरेका छन् ।’ घरटहरा, फर्निचर, हस्तकलाका सामग्रीलगायत विभिन्न क्षेत्रमा प्रयोगमा आउने बाँसको स्थानीय स्तरमा भने घरायसी प्रयोजनबाहेक उपयोग हुन सकेको थिएन । मालबाँसको मात्र बिक्री हुने गरेकाले लेकाली क्षेत्रमा हुने कृषकले भने आम्दानी लिन सकेका छैनन् । मेची राजमार्गका विभिन्न स्थानमा संकलन गरी बाँस लैजाने गरिएको छ । बाँसको कारोबार बढेसँगै स्थानीय स्तरमा रोजगारीको अवसर पनि बढ्दै गएको छ । बाँस काट्ने, बोक्नेलगायतका कामसँगै सानोतिनो ठेक्कापट्टा गर्ने उल्लेख्य छन् ।
यहाँबाट लगिएको बाँस काठमाडौंदेखि बनेपासम्मका विभिन्न डिपोमा पुग्छ । यसअघि धनकुटा, तेह्रथुम, उदयपुरलगायत पूर्वका जिल्लाबाट राजधानी लगिने गरेको थियो । इलामबाट मात्रै मासिक एक सयभन्दा बढी ट्रकले बाँस ढुवानी गर्ने गरेको स्थानीय ढुवानी सेवाका कुवेर भट्टराईले बताए । ‘हाम्रो कम्पनीका मात्र ५० वटा गाडीले ढुवानी गर्छन्,’ उनले भने, ‘सरदर एउटा गाडीले महिनामा पाँचपटकसम्म लैजान्छन् ।’ एउटा ट्रकमा ७ सयसम्म बाँस अट्छ । टुसा हालेको दुई वर्षमा बिक्री गर्न सकिने भएकाले कृषकले व्यावसायिक रुपमै बाँसको उत्पादन गर्ने सोच बनाएका छन् ।