Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्रका नेता जसले पार्टीलाई जित दिलाए

माओवादी केन्द्रका नेता जसले पार्टीलाई जित दिलाए

  • सन्देश सम्बाददाता
  • बिहिबार, साउन ५ २०७४


माओवादी केन्द्रका नेता जसले पार्टीलाई जित दिलाए

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन भएका ६ संघीय प्रदेशहरूमा दुई सय भन्दा बढी स्थानीय तहमा जित हात पार्दा नेकपा माओवादी केन्द्र भने दुई अंकको जितमै खुम्चियो। मत परिणाम घोषणा भएका ६१६ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा मात्र माओवादी केन्द्रले प्रमुखरअध्यक्ष जित्न सक्यो।

प्रदेश नम्बर ३ को भरतपुर महानगरपालिकामा मात्र अन्तिम मत परिणाम आउन बाँकी रहँदा माओवादी केन्द्रले पहिलो चरणमा ४६ र दोस्रो चरणमा ३८ गरी ८४ तहमा अध्यक्ष र प्रमुख जितेको छ।

चार हजार सदस्यसहितको जम्बो केन्द्रीय समिति रहेको माओवादी केन्द्र डेढ सय केन्द्रीय सदस्य रहेका कतिपय जिल्लामा निल भएको छ। यहाँ हामी केन्द्रीय समितिलाई पनि लगाम लगाउने हेडक्वार्टरका सदस्यहरूको गाउँरनगरमा माओवादीले कस्तो नतिजा निकाल्यो र माओवादी केन्द्र काहाँ कसरी निल भयो ।

माओवादी केन्द्रका ३५ हेडक्वाटर सदस्य मध्ये ३१ जनाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। तेश्रो चरणमा असोज २ गते निर्वाचन हुने प्रदेश नम्बर २ का ४ जना हेडक्वार्टर सदस्य मातृका यादव, विश्वनाथ शाह, उर्मिला अर्याल र प्रभु शाह बाहेक अन्य प्रदेशका नेताहरूले पहिलो र दोस्रो चरणको निर्वाचनमा मतदान गरेका छन्।

३१ जना हेडक्वार्टर सदस्यले मतदान गरेका स्थानीय तहमा केही स्थान बाहेक अन्यत्र माओवादीले उल्लेख्य जित हात पार्न सकेन। कतिपय हेडक्वार्टर सदस्यको गाउँरनगरमा अध्यक्षरप्रमुख र उपाध्यक्षरउपप्रमुख त के वडा अध्यक्ष र सदस्य समेत माओवादीले जित्न सकेन।

जसले दिलाए जित

हेडक्वार्टर सदस्यद्वय जर्नादन शर्मा र लोकेन्द्र बिष्टको घर रहेको जिल्ला रुकुममा माओवादीले सबै स्थानीय तहमा ‘क्लिनस्विप’ गर्‍यो। घर रुकुम भएपनि नेता विष्टले काठमाडौं महानगरपालिकाको काँडाघारीबाट मतदान गरेका थिए।

रोल्पाली नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’ र कुल प्रसाद केसी ‘सोनाम’को घर रहेको लिवाङ नगरपालिकामा माओवादीका पूर्ण केसी करेन्टले जित हात पारे। लिवाङ नगरपालिकाको वडा नम्बर १० मा नेपाली कांग्रेसको प्यानल विजयी भएपनि अन्य वडामा भने माओवादी विजयी भयो।

जयपुरी घर्तीको घर रहेको रोल्पाको दुइखोली गाउँपालिका २ राङसीमा माओवादी केन्द्रका जितजंग डाँगीले जितेका छन्।

मणि थापाको घर रहेको प्युठानको प्युठान नगरपालिकामा ५ हजार ३१३ मतका साथ माओवादी केन्द्रका अर्जुनकुमार कक्षपति विजयी भए। थापाको घर रहेको वडा नम्बर ८ मा माओवादीकै लिलापसिंह केसीले जित हात पारे।

अमिक शेरचनले भरतपुर महानगरपालिकाको वडा नम्बर २६ को दिव्यनगर बुथबाट मतदान गरे। यो वडाको वडाध्यक्षमा माओवादी केन्द्रका ज्ञानप्रसाद खनालले एक हजार ६४७ मत सहित जित हात पारे। वडाका चार सदस्यमा भने नेपाली कांग्रेसले जित हात पार्‍यो।

नेता अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ बाट मतदान गरेका थिए। यो नगरपालिकामा माओवादी केन्द्र विजयी भयो। चौतारा साँगाचोकगढी नगरपालिकामा ७ हजार ७२९ मतका साथ अमानसिंह तामाङ प्रमुख र ७ हजार ७४२ मतका साथ जानुका पराजुली उपप्रमुख निर्वाचित भए। वडाध्यक्षमा पनि माओवादी केन्द्रको प्यानलै विजयी भयो।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ रहिसचौरबाट मतदान गरेका टोपबहादुर रायमाझीको वडामा साख जोगाए पनि अन्य वडामा भने माओवादी केन्द्रले जित्न सकेन। प्रमुख र उपप्रमुखमा भने कांग्रेस(माओवादी गठबन्धनका उम्मेदवारले जित हात पारे।

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गोरखाको सिरानचोक गाउँपालिका ८ मा रहेको जौवारी मतदान केन्द्रबाट मतदान गरे। उनको वडामा माओवादी केन्द्रले प्यानलै जित्न सफल भयो। ७८४ मतका साथ माओवादी केन्द्रका झटक प्रसाद दवाडीले वडाध्यक्ष जित हात पारे भने अन्य चार सदस्यमा पनि माओवादी केन्द्रले नै जित्यो। ८ वडा रहेको सिरानचोक गाउँपालिकामा एउटा वडामा नयाँ शक्ति नेपालले जित्यो भने बाँकी ६ वडासहित अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले बाजी मार्‍यो।

जसले जिताउन सकेनन्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रहेको लक्ष्मी मावि मतदान केन्द्रबाट मतदान गरे। उनले मतदान गरेको वडामा उनकै भोट सदुपयोग हुन सकेन। भरतपुरको वडा नम्बर ४ मा एमालेका हरिप्रसाद आचार्यले एक हजार ७२० मत ल्याएर विजयी भए। सदस्यहरूमा भने नेपाली कांग्रेसले जित हात पार्‍यो। नेपाली कांग्रेससँग तालमेल गरेर चुनाव लडेको भरतपुर महानगरपालिकको अन्तिम मत परिणाम आउन सकेको छैन।

केही वर्ष प्रचण्ड नेतृत्वको माओवादी छाडेर मोहन वैद्य किरणको पार्टीमा पुगी २०७० सालको संविधान सभा चुनाव बहिष्कार गरेका नेता रामबहादुर थापा ‘बादल’ले चितवनको भरतपुर महानगरपालिका १० नारायणी मावि मतदान केन्द्रबाट मतदान गरे। उनको घर भएको वडामै माओवादी केन्द्रको कन्तबिजोग भयो। यो वडामा दुई हजार ३१६ मतका साथ एमालेका अरुणपीडित भण्डारीको प्यानलले जित हात पार्‍यो।

देव गुरुङले मनाङको नासोङ गाउँपालिका ४ मा रहेको सरस्वती प्राविबाट मतदान गरे। उनको वडा र गाउँपालिकामा नेपाली कांग्रेसले विजयको झण्डा गाड्यो।

ललितपुर महानगरपालिकाको वडा नम्बर २ कुपण्डोलबाट मतदान गरेकी पार्टी प्रवक्ता पम्फा भुसालले आफ्नै वडामा पार्टीको साख जोगाउन सकिनन्। यो वडामा एक हजार ८३८ मतका साथ नेकपा एमालेका रमेशकुमार महर्जनले प्यानलसहित जित हात पार्दा माओवादी केन्द्रका दिनेश महर्जनले जम्मा ५८४ मत प्राप्त गरेका थिए। त्यसैगरी ललितपुर महानगर प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले २४ हजार ६४२ मतका साथ विजयी हुँदा माओवादी केन्द्रका दिनेश महर्जनले भने १०६६१ मत प्राप्त गरे।

बाग्लुङको बाग्लुङ नगरपालिका १२ अमलाचौरमा मतदान गरेका दिनानाथ शर्माको वडामा एमालेका गुरुदत्त पाठकले एक हजार १८० मतका साथ जित हात पारे। उनको वडाको खुला सदस्यमा रुद्रप्रसाद शर्मा पौडेलले एक हजार ११८ र महिला सदस्यमा मीनाकुमारी आचार्यले एक हजार १३२ मतका साथ माओवादी केन्द्रको इज्जत जोगाए। बाग्लुङ नगरपालिकामा भने एमाले र राप्रपाले प्रमुख र उपप्रमुख जिते।

सुदुरपश्चिमका नेता लेखराज भट्टले मतदान गरेको कैलालीको गोदावरी नगरपालिकामा माओवादीले आफ्नो साख जोगाउन सकेन। नेता भट्ट प्रदेश नम्बर ७ का संयोजक पनि हुन्।

त्यस्तै प्रदेश नम्बर १ का संयोजक समेत रहेका नेता गोपाल किरातीले मतदान गरेको सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेकपा एमालेले विजयको झण्डा गाड्यो। नेता किरातीले आफ्नो पार्टीको साख जोगाउन सकेनन्।

प्रदेश नम्बर ६ का इन्चार्ज शक्ति बस्नेतले मतदान गरेको जाजरकोटको भेरी नगरपालिकामा पनि माओवादी केन्द्र पराजित भयो। नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेले जित हात पारेपनि उनको वडा नम्बर १ मा भने ६५७ मतका साथ माओवादी केन्द्रका दीपक रानाले आफ्नो प्यानलै जित्न सफल भए।

हरिबोल गजुरेलको घर भएको सिन्धुलीको कमलामाई नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा एमालेका उम्मेदवारले जिते। प्रमुखमा एमालेका खड्गबहादुर खत्रीले ११ हजार १५२ मत ल्याउँदा गजुरेलकी श्रीमती समेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार साबित्रीदेवी पाण्डेले भने ४ हजार २५१ मत प्राप्त गरी तेश्रो स्थानमा रहिन्। उनको वडा नम्बर ४ मा नेपाली कांग्रेसले जित हात पार्‍यो। यो वडामा माओवादी केन्द्रले सदस्य समेत जित्न सकेन।

पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा उनका राजनीतिक सल्लाहकार समेत रहेका माओवादी हेडक्वार्टर सदस्य चक्रपाणि खनाल ‘बलदेव’ले आफ्नो नगरपालिकामा इज्जत जोगाउन सकेनन्। कपिलबस्तुको वाणगंगा नगरपालिकामा मात्र होइन उनको घर रहेको वडा नम्बर ७ मा पनि माओवादी केन्द्र पराजित भयो। पोलिटब्यूरो सदस्य गिरिधारीलाल न्यौपाने र सार्वजनिक लेखा समितिका सभापति समेत रहेका सांसद डोरप्रसाद उपाध्यायको घर पनि यहीँ पर्छ। उनीहरूसहित कपिलवस्तुका ५८ केन्द्रीय सदस्यमध्ये २५ बढी यही वाणगंगा नगरपालिकाका छन्। यस नगरपालिकामा माओवादीले वडा नम्बर ११ को वडा अध्यक्ष मात्रै जित्यो। नगरपालिका प्रमुखमा थोरै मतान्तरले नेपाली कांग्रेस विजयी भयो।

नेता हितराज पाण्डेको घर रहेको गोरखाको पालुङटार नगरपालिका प्रमुखमा कांग्रेसले विजयको झण्डा गाड्यो। नेता पाण्डेको घर रहेको वडा नम्बर ६ मा भने माओवादीले जितेको छ।

साहित्यकार समेत रहेका माओवादीका नेता विश्वभक्त दुलाल ‘आहुति’ले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ झोलेटोलबाट मतदान गरेका थिए। तर यहाँ पनि माओवादी केन्द्रले पराजय भोग्यो।

नेता गिरिराजमणि पोख्रेलले विराटनगर महानगरपालिकाबाट मतदान गरेका थिए। उनको नगरमा पनि माओवादी केन्द्रले साख जोगाउन सकेन।

नेता लिलामणि पोख्रेलले काठमाडौं महानगरपालिका ३२ कोटेश्वरबाट मतदान गरेका थिए। यहाँ एउटै सदस्य पनि माओवादीले जित्न सकेन। उनको वडाध्यक्षमा एमालेका नवराज पराजुली विजयी भए।

तिलक परियारको घर रहेको बाँकेको कोहलपुर नगरपालिकामा पनि एमाले नै हावी भयो। यो वडामा समेत माओवादी केन्द्रले एक सदस्य पनि जोगाउन सकेन। परियार एक महिना अगाडि देखि नै चुनावी प्रचार प्रसारका लागि बाँके पुगेका थिए।

दाङको तुल्सीपुर उपमहानगरपालिका १७ दुधरासमा मतदान गरेका नेता नारायण शर्माले पनि पार्टीको साख जोगाउन सकेनन्।

केही समय अगाडि मात्र माओवादी केन्द्र प्रवेश गरी हेडक्वार्टर सदस्यको जिम्मेवारी पाएका पुराना वामपन्थी नेता टंक राईले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा माओवादीलाई जित दिलाउन सकेनन्। चुनावको मुखैमा सिंगै पार्टीलाई माओवादी केन्द्रमा विलय गराएका राइले मझुवागढी नगरपालिकाका तीन वडामा भने पार्टीका उम्मेदवारलाई जिताउन सके।

डिलाराम आचार्य सुरेन्द्रले रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ बाट मतदान गरेका थिए। चुनावको लागि अधिकांश समय बुटवलमै खटिए पनि उपमहानगरका सबै पदमा माओवादी उम्मेदवार पराजित भए।

तनहुँको भानु नगरपालिका घर भएका अर्का हेडक्वार्टर सदस्य श्रीराम ढकाल प्रशान्तले भने काठमाडौंको नार्गाजुन नगरपालिकामा मतदान गरेका थिए। तर न भानु नगरपालिकामा न त नागार्जुन नगरपालिका कतै पनि माओवादी केन्द्रले साख जोगाउन सकेन। बाग्लुङ घर रहेका नेता हितमान शाक्यले काठमाडौंबाटै मतदान गरे। उनले मतदान गरेको स्थानमा पनि माओवादी केन्द्रले पराजय भोग्यो।

डेढ सय केन्द्रीय सदस्य भएका जिल्लामा समेत माओवादी निल

वैशाख ३१ र असार १४ गरी मुलुकका ६ प्रदेशमा निर्वाचन सकिँदा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले ८४ स्थानमा विजय हासिल गरेको छ। पहिलो चरणमा २ सय ८३ स्थानीय तहमध्ये ४६ तहमा मात्र प्रमुख पद जितेको माओवादीले दोस्रो चरणमा ३३४ तहमा चुनाव हादा ३८ स्थानमा मात्र जित हासिल गर्‍यो।

दुइ चरणमा गरी सम्पन्न निर्वाचनमा माओवादी केन्द्रले २२ जिल्लामा एक स्थान पनि ल्याउन सकेन। पहिलो चरणमा चुनाव भएका रसुवा, दोलखा, काठमाडौं, भक्तपुर, मनाङ, मुस्ताङ, कास्की, स्याङ्जा, म्याग्दी, मुगु र सुर्खेतको एउटा पनि स्थानीय तहमा माओवादी विजयी हुन सकेन।

दोस्रो चरणमा चुनाव भएका झापा, सुनसरी, ताप्लेजुङ, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, कपिलवस्तु, पाल्पा, बाजुरा र बझाङमा माओवादीले एउटा तहमा पनि जित हासिल गर्न सकेन। २०७३ सालको जेठमा माओवादीका विभिन्न घटकहरुबीच एकीकरण भएपछि पार्टीको केन्द्रीय समिति बढ्दै ३ हजार ९९९ सदस्यीय बनेको छ।

एकै जिल्लामा एक सय भन्दा धेरै केन्द्रीय सदस्य छन्। तर धेरै केन्द्रीय सदस्य रहेका जिल्लामा नै माओवादीको नतिजा शून्य छ। माओवादीले पहिलो र दोस्रो चरणमा गरी एउटै स्थानीय तह जित्न नसकेका २२ जिल्लामा ६ देखि १४० जनासम्म केन्द्रीय सदस्य भएको पाइएको छ।

माओवादी हेडक्वार्टर समितिका सदस्य चक्रपाणि खनाल बलदेवको गृहनगर कपिलवस्तुको बाणगंगा नगरपालिकामा माओवादी केन्द्रले जम्मा एउटा वडाको अध्यक्ष पद मात्र जित्यो। बलदेवको घर रहेको वडा नम्बर ७ मा माओवादी पराजित भयो। माओवादी पोलिटव्यूरो सदस्य गिरधारीलाल न्यौपाने र सार्वजनिक लेखा समितिका सभापति समेत रहेका सांसद डोरप्रसाद उपाध्यायको घर पनि यहीँ नगरपालिकामा पर्छ। उनीहरुसहित कपिलवस्तुका ५८ केन्द्रीय सदस्यमध्ये २५ बढी यही वाणगंगा नगरपालिकाका छन्।

यस नगरपालिकामा माओवादीले वडा नम्बर ११ को वडा अध्यक्ष मात्रै जित्यो। नगरपालिका प्रमुखमा थोरै मतान्तरले नेपाली कांग्रेस विजयी भयो। यतिका धेरै संख्यामा केन्द्रीय सदस्य भएको ठाउँमा पनि किन माओवादीको जनमत देखिएनरु माओवादी केन्द्र कपिलवस्तुका नेता भानुप्रकाश श्रेष्ठले संगठनात्मक रुपमा माओवादी कमजोर रहेको बताए। उनले भने ‘एकातिर संगठन कमजोर छ। अर्कोतिर पार्टी विभाजनको असर सबैतिर परेको छ।

त्यसैले चुनावमा अपेक्षित मत आउन नसकेको हो।’ एक सय १५ जना केन्द्रीय सदस्य रहेको कास्की जिल्लामा पनि माओवादी केन्द्रले कुनै स्थानीय तह जित्न सकेन। केन्द्रीय सदस्य धेरै भए पनि धेरै जिल्लामा तल्लो कमिटी व्यवस्थित नभएको माओवादी केन्द्रका नेता देव गुरुङ बताउँछन्। ‘जति केन्द्रीय कमिटी छ, पार्टी त्यत्तिमा सीमित छ। पार्टीको लागि संगठन बनाउन गाउँ गाउँ जानेहरु शहरमुखी भएर बसेका छन्। संगठन धेरै नै कमजोर छ’ उनले भने।

पार्टीमा नियमित काम गर्ने नेता कार्यकर्ताहरु नभएको बताउँदै उनले बिघटन र बिसर्जनको अवस्थामा पार्टी पुगेको भन्दै चिन्ता व्यक्त गरे। पार्टीबाट बाहिर जान्छ कि भनेर पद दिएर थामथुम पारिदिएका नेता कार्यकर्ताले पार्टीको संगठन र विचार बचाउन नसक्ने नेता गुरुङको तर्क छ। अब हुने पार्टीको बैठकमा यस बारेमा समीक्षा गरिने उनले बताए।

माओवादी केन्द्रका अर्का नेता गोपाल किरातीले भने आफूहरुले अधिकतम कोशिस गर्दागर्दै पनि अपेक्षित परिणाम नआएको तर्क गरे। ‘हामीले चुनाव हारेका होइनौ,’ थाहा खबरसँग कुरा गर्दै नेता किरातीले भने ‘हामीलाई हराइएको हो।’ परिवर्तन नचाहने र यथास्थितिमै रहन चाहनेहरुले साम, दाम, दण्ड र भेद गरी आफ्नो पार्टीलाई हराएको उनको जिकिर छ।

रुसमा लेनिनको पार्टीलाई चुनाव हराएपछि उनले सशस्त्र विद्रोह गरेको उदाहरण किरातीले दिए। उनले त्यस प्रशंग जोड्दै भने ‘अबको एक दशक यस्तै शान्तिपूर्ण रुपमा परिवर्तन स्थापित गर्न लागिपर्ने र आउने चुनावहरुमा पनि यसैगरी आफ्नो पार्टीलाई हराएमा दोश्रो विकल्प रोज्न बाध्य हुनेछौं।’

स्थानीय तह जित्न नसकेका २२ जिल्लामा माओवादी केन्द्रीय सदस्य कतिरु

१। झापा स् ६१ केन्द्रीय सदस्य

२। सुनसरी स् ५९ केन्द्रीय सदस्य

३। इलामः २३ केन्द्रीय सदस्य

४। ताप्लेजुङ स् २२ केन्द्रीय सदस्य

५। संखुवासभाः १७ केन्द्रीय सदस्य

६। तेह्रथुमः १८ केन्द्रीय सदस्य

७। धनकुटाः २२ केन्द्रीय सदस्य

८। रसुवाः १९ केन्द्रीय सदस्य

९। दोलखाः ५१ केन्द्रीय सदस्य

१०। काठमाडौंः १४० केन्द्रीय सदस्य

११। भक्तपुरः २४ केन्द्रीय सदस्य

१२। मनाङः६ केन्द्रीय सदस्य

१३। मुस्ताङः ६ केन्द्रीय सदस्य

१४। कास्कीः ११५ केन्द्रीय सदस्य

१५। स्याङ्जाः ३७ केन्द्रीय सदस्य

१६। म्याग्दीः १६ केन्द्रीय सदस्य

१७। कपिलवस्तुः ५८ केन्द्रीय सदस्य

१८। पाल्पाः २५ केन्द्रीय सदस्य

१९। मुगुः ४५ केन्द्रीय सदस्य

२०। सुर्खेतः ३८ केन्द्रीय सदस्य

२१। बाजुराः ७ केन्द्रीय सदस्य

२२। बझाङः ३१ केन्द्रीय सदस्य

थाहा खबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार