Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

प्रिमियर लिगमा कुन टिमको बेटिङ रेट कति?

प्रिमियर लिगमा कुन टिमको बेटिङ रेट कति?

  • लोकल सन्देश
  • बुधबार, साउन ४ २०७४


प्रिमियर लिगमा कुन टिमको बेटिङ रेट कति?

 काठमाडौं : लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग जित्छ भनेर सन् २०१५ को जुलाइमा इंग्ल्याण्डकी मेण्डी क्लार्कको नामबाट १० पाउण्ड (करिब १३ हजार ५ सय नेपाली रुपैयाँ) को बाजी पर्‍यो। सो रकम उनका हाकिमले प्रिमियर लिगलाई मजाकको रुपमा लिँदै मेण्डीको नाममा उपहारस्वरुप बाजी राखिदिएका थिए।

त्यतिबेला बुकीहरुले लेस्टर सिटीले लिग जित्छ भन्ने पक्षमा बाजी राख्नेलाई १ बराबर ५ हजार पाउण्ड दिने घोषणा गरेका थिए, किनभने हरेक वर्ष रेलिगेशनबाट बच्न संघर्ष गर्ने लेस्टरले लिग जित्ने सम्भावना उनीहरु मात्रै होइन, कसैले देखेका थिएनन्। अन्तिममा नसोचेको भयो, सबैलाई चकित पार्दै लेस्टरले प्रिमियर लिग जित्यो र मेण्डीले १० को बदलामा ५० हजार पाउण्ड (करिब साढे ६७ लाख नेपाली रुपैयाँ) जितिन्। यसलाई फुटबल बेटिङको इतिहासमै बुकीहरुको सबैभन्दा ठूलो हारको रुपमा लिइन्छ।

यसपटक बुकीहरुको टाइटल फेभरेट म्यान्चेस्टर सिटी

प्रिमियर लिग सिजन २०१७/०१८ सुरु हुनलाग्दा अहिले पनि इंग्लयाण्डमा बेटिङ बजार गर्माएको छ। यसपटक बुकीहरुले म्यान्टेस्टर सिटीको पक्षमा बाजी राख्नेहरुलाई सबैभन्दा कम र हालै प्रिमियर लिगमा उक्लिएको हडर्सफिल्ड टाउनको पक्षमा बाजी राख्नेलाई सबैभन्दा बढी रकम दिनेगरी मुल्य निर्धारण गरेका छन्। आइरिस बेटिङ कम्पनी PaddyPower ले सिटीको भाउ १५/८ र हडर्सफिल्डको २५००/१ पाउण्ड तोकेको छ। यसको मतलब सिटीको पक्षमा बाजी जितेमा ८ को १५ पाउण्ड अर्थात दोब्बरभन्दा कम रकम पाइन्छ, भने हडर्सफिल्डको पक्षमा बाजी जितेमा १ को २५०० पाउण्ड अर्थात २५०० गुणा बढी रकम पाइने छ।

सिटीपछि म्यान्चेस्टर युनाइटेड र त्यसपछि चेल्सी पक्षमा कम मूल्य तोकिएको छ। युनाइटेडको पक्षमा बाजी राख्नेले ३ को १० पाउण्ड तथा चेल्सीको पक्षमा बाजी राख्नेले २ को ७ पाउण्ड पाउनेछन्। अर्थात तीन गुणाभन्दा केही बढी। उपाधि जित्ने सम्भावना भएका टिमको पक्षमा धेरै बाजी पर्ने भएकाले उनीहरुको भाउ कम र सम्भावना कम भएका टिमको पक्षमा बाजी पनि कम पर्ने भएकाले उनीहरुको भाउ बढी तोकिएको हुन्छ।

युरोपमा स्पेनिस ला लिगा, जर्मन बुण्डेसलिगा, इटालीयन सिरी ए, फ्रेन्च लिग वानजस्ता अन्य चर्चित लिग पनि छन्, तर ती लिगहरुमा उपाधिका लागि सिमित टिमबीच नै प्रतिस्पर्धा हुने र इंग्लिस प्रिमियर लिगमा कसले जित्छ भन्ने अनुमान लगाउन कठिन पर्ने भएकाले प्रिमियर लिगको बेटिङ बजार सबैभन्दा उच्च छ।

हेर्नुहोस्, कसको भाउ कति ?

यतिमात्र होइन टप फोर, टप टेन, बटम टेन, रेलिगेशनमा पर्ने टिम, हाइस्कोररलगायतका धेरै विधामा बाजी राख्न पाइन्छ। यसपटक धेरै गोल कसले हान्छ भन्नेमा चाहिँ टोटनह्यामका ह्यारी केनको मूल्य सबैभन्दा कम तोकिएको छ। दोस्रोमा हालै म्यान्चेस्टर युनाइटेड गएका रोमेलु लुकाकु, तेस्रोमा म्यान सिटीका सर्जियो अग्वेरो, चौंथोमा चेल्सीका डिएगो कोस्टा तथा पाँचौंमा सिटीकै गाब्रियल जिसस छन्। प्रिमियर लिगको नयाँ सिजन आगामी अगस्ट १२ बाट सुरु हुँदैछ। यसपटक म्यान सिटी, म्यान युनाइटेड र चेल्सीमध्ये एकले उपाधि जित्ने अनुमान धेरैले गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार