इलाम, । चुनावको मिती नजिकिएसँगै आफनो विरासत जोगाउन काँग्रेस–एमालेको नेता जिल्ला दौडाहमा छन । निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिन (असार ४) गते पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल जिल्लाको रोङ गाउँपालिका आइपुगे । खनाल रोङमा उम्मेदवारी दर्तामा सहभागी भएर सूर्याेदय नगरपालिकामा ‘चुनावी रणनीति’ बारे स्थानीय नेता–कार्यकर्तासँग छलफल गरे । सुर्योदय नगरमा राम्रालाई भन्दा हाम्रालाई टिकट दिलाएको भन्दै कार्यकताहरुमाझ नै विरोधका पात्र बनेका खनालले असन्तुष्ट कार्यकताहरुसँग भेट गरेर उम्मेदवार रणबहादुर राई (आरबी) को प्यानललाई जिताउन अपिल गरे ।
सूर्याेदय नगरपालिका र रोङ गाँउपालिका खनालले संविधानसभाका दुईवटै निर्वाचन जितेको इलामको क्षेत्र नम्बर १ मा पर्छन् । २०५६ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले खनाललाई नै पराजित गरेका थिए । २०६४ सालको संविधासभा निर्वाचनमा पुनः खनालले प्रसाईंलाई पराजित गरे । खनालले ०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्यलाई १ नम्बर क्षेत्रमा पराजित गरेका थिए ।
पहिलो संविधानसभामा बिजय बनेपछि प्रधानमन्त्री समेत बनेका खनाललाई इलाम क्षेत्र नं १ मा विकासका निर्माणका कार्यहरु जनताको अपेक्षा अनुरुप नगरेको भन्ने आरोप समेत लाग्दै आएको थियो । तर, खनालले दोस्रो संविधानसभा चुनाव जितेरै आफूमाथिको आरोपको ‘खण्डन’ गर्न बारम्बार आफ्नो चुनाव क्षेत्रमा कार्यकताहरुसँग भेटघाटलाई तिव्रता दिन थाले ।
खनाल असार ५ गते बिहानै सदरमुकाममा कार्यकताहरुलाई भेटेर आफ्नो जन्मगाउँ साखेजुङ हुँदै पुवामझुवा पुगे । त्यहाँ पुगेर पनि उनले एमालेका कार्यकताहरुलाई सम्वोधन गर्दै एमालेलाई सुर्य चिन्हमा भोट दिन आग्रह गरे । खनाल जिल्लाका बरबोटे, सुलुबुङ, माइजोगमाई, सुम्बेकलगायतका गाउँमा कार्यकर्ताहरुसँग भोट माग्दै घुमिरहेका छन् । पार्टीले आयोजना गर्ने सभा र भेलामा उनको अनिवार्य उपस्थिती हुने गरेको छ । उनी इलाम नगरपालिका–१ साखेजुङमा मतदानको दिनसम्म रहने पार्टी स्रोतले बताएको छ । केन्द्रिय प्रचार समितीले चुनावका लागी नेताहरुलाई विभिन्न जिल्ला खटाउन थालेपछि झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङले गृह जिल्लामा चुनाव प्रचारका लागी जिम्मा पाएका हुन ।
पुर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ पनि उम्मेदवारी दर्ता गर्ने दिन आफ्नो निर्वाचन क्षेत्र (इलाम–२) मा पर्ने माङ्सेबुङ गाउँपालिका पुगे । एमालेका स्थानीय उम्मेदवारको उम्मेदवारी दर्तापछि उनी अहिले आफ्नै क्षेत्रका चुनावी सभा, बैठक, भेला र समारोहमा सहभागी भइरहेका छन् । माङ्सेबुङसहित फाकफोकथुम, चुलाचुली गाउँपालिका, देउमाई नगरपालिका लगायतका क्षेत्रमा उनी अहिले चुनावी गतिविधिमा छन् ।
इलाम क्षेत्र नं २ बाट नेम्बाङले चौथोपटक चुनाव जितिसकेका छन् । २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा मात्र होइन पहिलो र दोश्रो संविधानसभा निर्वाचन पनि नेम्बाङ अपराजित रहे । अहिले स्थानीय एमाले उम्मेदवारको ‘मनोबल बढाउन’ र मतदातालाई एमालेको पक्षमा रिझाउन उनी गाउँ–गाउँमा चुनावी प्रचारलाई तिव्रता दिइरहेका छन । नेपाली कांग्रेस नै एमालेको प्रतिस्पर्धी भए पनि जनजाति समुदायको बसोबास बढी रहेको यो क्षेत्रमा साना दलले मत तान्न सक्ने चुनौती देखेपछि नेम्बाङ आफैं उम्मेदवारसँग घरदैलोमा पुगिरहेका छन् ।
‘इलामको कर्णालीका रूपमा चिनिने क्षेत्र नं २ अहिले समृद्ध हुने क्रममा छ, अबको नयाँ संविधानले भौतिक, सामाजिक, आर्थिक सबै क्षेत्रको विकासलाई चुलीमा पु¥याउनेछ,’ उनी सार्वजनिक समारोहमा भन्दैछन ‘नयाँ संविधान कार्यान्वयन गर्न र स्थानीय तहको अधिकार प्रभावकारी बनाउन देशलाई एमाले नेतृत्वको खाँचो छ ।’ नेम्बाङ आउँदो निर्वाचनसम्मै इलाममा बस्ने तालिका रहेको पार्टी स्रोतले बतायो ।
एमाले नेता रघुवीर महासेठ पनि चुनावी अभियान लिएर इलाम आएका छन् । ‘चुनावको अवधिसम्म यहीं बसेर एमाले इलामले बनाएको कार्यक्रममा सहभागी हुनेछन । महासेठले शुक्रवार सुर्योदय नगरपालिकाको पशुपतीनगरमा आयोजना भएका चुनावी सभालाई सम्वोधन गरे । आज इलाम सदरमुकाममा हुने चुनावी सभामा पनि महासेठ झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङसँगै बक्ताको रुपमा सहभागी हुँदैछन ।
पूर्वसभामुख तथा नेपाली कांग्रेस नेता कुलबहादुर (केबी) गुरुङ पनि चुनावी अभियानका लागी इलाम छन । शनिवार इलाम चोक बजारमा सम्वोधन गर्दै हरेक परिवर्तनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेस दोस्रो चरणको निर्वाचनपछि पहिलो स्थानमा आउने उनले दाबी गरे । जनतालाई नेपाली कांग्रेसले प्रजातन्त्र स्थापनादेखि गणतन्त्रसम्मको यात्रा गराइसकेको स्मरण गराउँदै भविष्य बोकेको पार्टी समेत भएकाले काँग्रेसको बिकल्प नभएको बताउदै आएका छन । इलाम नगरपालिकाका मतदाता समते रहेका गुरुङ चुनावसम्म इलाममा रहने नेपाली कांग्रेसले जनाएको छ । इलाम नगरपालिका घर भएका गुरुङले इलाम क्षेत्र नम्बर–३ बाट २०६४ सालको संविधानसभा निर्वाचनमा विजय हासिल गरेका थिए । उनी ज्येष्ठ सदस्यका नाताले संविधानसभाको अध्यक्षसमेत भएका थिए । तर, विजयी भएपछि उनी आफ्नो निर्वाचन क्षेत्रमा फर्केर नआएको मतदाताको गुनासो छ । निर्वाचनपछि गृहजिल्ला ‘नहेरेको’ आरोप चिर्न उनी दोश्रो संविधानसभाको निर्वाचनमा समानुपातिक साँसद बनेपछि बारम्वार इलाम आउने गरेका छन । गुरुङसँगै इलामको सभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिन विश्वकर्मा, तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्याथी संघका महामन्त्री सरोज थापा लगायतका नेताहरुले सम्वोधन गरे ।
निर्वतमान स्वास्थ्यमन्त्री तथा कांग्रेसका प्रभावशाली युवा नेता गगन थापा पनि इलामका स्थानीय तहमा जनतासँग भोट माग्न ३ दिन इलाम रहे । असार ४ गते इलाम आइपुगेका थापाले देउमाई नगरपालिका, इलाम नगरपालिकाको बरबोटे र माई नगरपालिकाको चुनावी सभामा सहभागी भएर मतदातालाई कांग्रेस उम्मेदवार जिताउन आह्वान गरेका थिए । माङसेवुङ गाँउपालिकामा कार्यकताहरुसँग भेटघाट गरेर रुखमा नडराइ मतदान गर्न अपिल गरे । शान्ति र संविधानका लागि नेपाली कांग्रेसले इतिहासदेखि अहिलेसम्म नेतृत्व गरिरहेको भनाइ मतदातासमक्ष राख्न उनले छुटाएनन् । कांग्रेस केन्द्रिय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्मा पनि इलामका विभिन्न चुनावी सभामा सम्बोधन गरेर फर्केका छन् । झापा मेचीनगरका स्थायी बासिन्दा शर्मा इलाममा कार्यकताहरु माझ बारम्वार भेटघाटका लागी आउने गरेका छन । इलामका हरेक चुनावी सभालाई सम्वोधन गर्दै शर्माले नेपाली काँग्रेसले ठिक्क पारेको बजेटबाट एमालेसँग वृद्धभत्ता बाडेकाले यो बाहेक एमालेसँग अन्य एजेन्डा नभएको भनाइ राख्न छुटाएनन् । आदिवासी जनजाती महासंघका पुर्व केन्द्रिय अध्यक्ष तथा नेपाली काँग्रेसका साँसद नगेन्द्र कुमाल पनि चुनावी प्रचारका लागी गृह क्षेत्र माइ नगरपालिकामा छन । उनले चुलाचुली, माङसेवुङ, माइ नगरपालिका र इलाम नगरपालिका लगायतका क्षेत्रमा भएका चुनावी सभालाई सम्वोधन गर्दै काँग्रेसका उम्मेदवारलाई जिताउन अपिल गरे । त्यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा साँसद सुजाता परियार र इलाम क्षेत्र नं ३ का साँसद केशव थापा पनि जिल्लाको चुनावी माहोल तताउन दौडाहमा छन् ।
पुर्व पशुपन्छीमन्त्री तथा माओवादी केन्द्रका नेता श्रीप्रसाद जवेगुले पनि गत असार ३ गते इलाम नगरपालिका–१२ साङरुम्वामा चुनावी सभालाई सम्वोधन गरे । देशमा संघियता, गणतन्त्र, धर्मनिरपेक्षता र गाँउ नगरमा सिंहदरवार माओवादी केन्द्रकै एजेन्डा भएकाले पनि माओवादी केन्द्रका उम्मेदवारलाई जिताउन अपिल गरे ।
केन्द्रीय तहका नेताहरू मतदातासम्म पुग्दा जिल्लास्तरका नेताले राहत अनुभव गरेका छन् । ‘केन्द्रका नेताले राष्ट्रिय राजनीतिको कुरा गरिदिनाले राजनीतिक अवस्थाबारे मतदातालाई बुझाउन केन्द्रीय नेताको ठूलो सहयोग हुने गरेको नेपाली काँग्रेस इलामका सचिव निरोज खडगी बताउछन ।