इलाम । पहिलो चरणको स्थानीय चुनावमा जस्तै दोस्रो चरणको चुनावमा पनि माओवादीबाट पूर्वलडाकूहरु उम्मेदवार छन् । समुन्नत नेपालको परिकल्पनासहित विगतमा बुलेटको लडाईं लडेकाहरु अहिले ब्यालेटको संघर्षमा छन् । माओवादीकी त्यस्तै एक उम्मेदवार हुन् सीता वली । माओवादी जनयुद्धमा कम्पनि कमाण्डरको जिम्मेवारी पूरा गरेकी उनी दाङको तुलसीपुर उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार बनेकी छन् ।
जनयुद्धमा बन्दुक उठाउँदा सामन्ती सत्ता अन्त्य गरेर गरिबको सत्ता ल्याउने लक्ष्य थियो उनको । देशबाट सामन्ती सत्ताको प्रतीक राजसंस्था हटेर गणतन्त्र स्थापना त भयो । तर, उनले चाहे जस्तो समाज बन्यो कि बनेन त्यो आफ्नो ठाउँमा होला । तर, पनि उनी स्थानीय चुनावको लडाईंलाई नेपाली क्रान्तिको फरक र मौलिक मोर्चा ठान्दछिन् । ‘बन्दुकबाट राज्यसत्ता कब्जा गर्ने र सर्वहारा वर्गको बर्चस्व कायम गर्ने अठोटका साथ हिँडेका थियौं । तर अहिले राजनीतिक परिस्थिति चेन्ज भएपछि बन्दुक बिसाएर ब्यालेटमा आएका छौं,’ उनले भनिन्, ‘नेपाली क्रान्तिको आफ्नै मौलिकतामा परिवर्तनलाई स्थानीय चुनावबाट संस्थागत गर्न सकिन्छ भन्ने लागेको छ ।’ गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लगायतका उपलब्धी माओवादी जनयुद्धकै उपलब्धी भएको बताउने उनी संविधान कार्यान्वयन गर्दै त्यसलाई संस्थागत गर्नुपर्ने बताउँछिन् ।
सानै उमेरमा भूमिगत, ठूला लडाईंमा सहभागी
कक्षा ९ पढ्दा पढ्दै उनी भूमिगत भएकी थिइन् । बिजौरीस्थित घर छाडेर उनी सल्यानको गर्पा भन्ने गाउँमा पुगिन् जहाँ उत्तर नामले चिनिने माओवादी नेता भेटिए । उमेर सानै भएकाले सुरुमा सीतालाई खासै जिम्मेवारी दिइएन । तर, उनको क्रियाशीलताले सबै प्रभावित भए । उनले छोटो समयमै बन्दुक चलाउन सिकिन् । सबैखाले हतियारहरु चलाउन जानेको बताउने उनी लडाईंका मोर्चाहरुमा सहभागी भइन् । म्याग्दी सदरमुकाम बेनी, जुम्ला, रुकुमको खारा, दाङको भालुबाङ र सतबरिया जस्ता ठूला लडाईंका मोर्चामा सहभागी भइन् । लडाईंको क्रममा बायाँ खुट्टा र दायाँ कोखामा लागेका दुई गोली शरीरमा अझै रहेको उनी बताउँछिन् । शान्ति प्रक्रियापछि उनले स्वेच्छिक अवकाश रोजिन् र अवकाश पछि आएको पैसाले पार्टनरसीपमा व्यापार थालिन् । सीता वलीले पूर्वजनसेना दिपशिखा घर्तीसँग मिलेर तुलसीपुरमा डेरी उद्योग सन्चालन गरेकी छन् । ‘सानो व्यापार छ । त्यसैको कमाइले जीबन धान्दैछु,’ हालसम्म अविवाहित सीता भन्छिन्, ‘सामाजिक रुपान्तरणको लक्ष्य पनि पूरा गर्नुछ ।’
यस्ता छन् एजेण्डा
हाल चुनावी सभा र घर दैलोमा कार्यक्रममा व्यस्त उनी मतदाताहरुबाट सकारात्मक सन्देश पाएको दाबी गर्छिन् । तर चुनावी परिणाम आफ्नै पक्षमा आउँछ भनेर ढुक्क छैनिन् उनी । ‘माओवादीले मात्रै परिवर्तन गर्न सक्छ अरुले गर्न सक्दैन भनेर हामीमा आकर्षण बढी छ । तर हेरौं चुनावमा के हुन्छ,’ उनले भनिन् । सम्मुनत समाज र समृद्ध तुलसीपुर उपमहानगरपालिकाको एजेण्डासहित चुनावी मैदानमा होमिएकी उनले भ्रष्टाचार निर्मुल गर्ने, तल्लो तहका वर्गलाई न्यायको प्रत्याभूति दिलाउने कामलाई प्राथमिकता दिने बताउँछिन् । ‘भूउपयोग नीति लागू गर्छु र तुलसीपुरको विकास गरेर नमूना नगर बनाउँछु,’ उनले भनिन्, ‘धेरै काम गर्नुछ ।’