पाँचथर । प्रत्येक दिन पत्थरसंगको मुकाविला । बिहान उठेदेखि साँझ नपरुञ्जेलसम्म त्यँहि पत्थरलाई बडो स्नेहले सुम्सुम्याइरहेका, माया गरिरहेका हुन्छन् फेदेन–१ पान्थरका रुद्र कुमार तुम्रोक । यसरी पत्थरमा कला भर्नु रुद्रको दैनीकी संगै रोजीरोटी पनि हो । ढुंगामा खोपिएको रुद्रको मूर्तीकलाले सबैलाई अचम्म पार्छ । फोटोको आकृतिलाई ढुंगामा दुरुस्त उतार्नु चानचुने काम होइन । त्यँहि असाधारण काम गरेर समाजमा चिनिएका छन् उनी । अढाइ दशक पुग्यो निरन्तर छ रुद्रको पत्थर प्रेम ।
‘वनको काडाँलाई तिखार्नु पर्दैन, जान्ने मान्छेलाई सिकाउँनु पर्दैन !’ यो उखान रुद्रको जीवनमा लागु हुन्छ । अर्थात् मूर्तीकार बन्न कसैलाई पनि गुरु मान्नु परेन रुद्रले । उनी अतीत सुनाउँछन् ‘०४४ सालमा जब मेरो आमाको असामयीक निधन भयो, त्यो दिन म साह्रै रोएँ । आमाको पार्थीव शरीरलाई अन्तिम संस्कार गरीयो, तर नफर्किने बाटो गएकी आमालाई मात्र देखिरहुँ लाग्ने । उहि बेला अचानक आमाको प्रतिमा बनाउँने सोच आयो । एउटा रुखको ठुटामा दिवांगत आमाको आकृति उतार्न थालें । त्यँहिबेला कोही आएर भन्यो– ठ्याक्कै तिम्रो आमाको अनुहार जस्तै छ !’ रुद्रलाई लाग्छ उतिबेलै त्यसो नहुदो हो त अहिले उनी सायद मूर्तीकार भनेर चिनिने थिएनन् ।
हाल पान्थर सदरमुकाम फेदेन बजारको ठाडोलाइनमा ‘तुम्रोक मूर्तीकला सेन्टर’ खालेर बसेका रुद्र पान्थरको सिवा ७ मा जन्मेका हुन् । बाबु स्व.भगिराज र आमा स्व.रनमायाका माइलो छोरा रुद्रले पहिलोपल्ट पत्थरमा खोपेको आकृति उनकै आमा रनमायाको हो । ‘बाबुको पनि बनाउँने मन छ, ०२३ सालमै बित्नुभएको उहाँको तस्विर कतै भेटिंन ।’ भावुक हुँदै उनले भने ‘बाबुको अनुहारको मनमा धमिलो सम्झना छ, अनुमानको भरमा कसरी बनाउँनु ?’ रुद्रले हालसम्ममा कति मूर्ती बनाए त्यसको हिसाब छैन उनी संग ‘१५ सयभन्दा उकालै पुगे होलान्’ उनी अनुमान गर्छन् ।
पूर्वका विभिन्न जिल्ला संगै काठमाण्डू, भातरको सिक्किम, दार्जिलिङ सम्मका मानिस मूर्तीको अर्डर गर्न आउँछन् । एउटाको १५ सयदेखि २५ हजार सम्म लिन्छन् रुद्र । ‘कमाउँन नसके पनि जीवन चलेको छ, मान्छेहरुले चिन्छन् यसैमा सन्तुष्ट छु ।’ उनले भने । रुद्रको कलालाई सम्मान गर्दै विभिन्न संघ–संस्थाहरुले सम्मान तथा अभिनन्दन समेत गरेका छन् । ती सम्मान पत्रहरुलाई बडो जतनले फ्रेमिङ गरेर राखेका छन् रुद्रले । भन्छन् ‘सम्मान स्वरुप कसैले दिएको वस्तुको छुट्टै माया हुँदो रहेछ ।’ मूर्ती बनाउँन भने जस्तो ढुंगा भेट्नै गाह्रो हुने रुद्र बताउँछन् । नयाँ मूर्तीको अर्डर आउँनासाथ छिनो, मार्तोल र अन्य आवस्यक औजार बोकेर जिल्लाको फेदेन र भारपा गाविसको सिमा भएर बग्ने हेवाखोला पुग्छन् रुद्र । उतै आकृति कुँदेर ल्याएपछि फिनिसिङ्को काम गर्छन् । ‘त्यत्रो दुःख गरेर सिध्याउँन लागेको मूर्ती सानो मात्र चोइटियो भने पनि बर्बाद हुन्छ ।’ रुद्र आफ्नो दुःख र समस्या खोतल्छन् ‘मान्छेहरुले आफ्नो दुःख बुभिदिंदैनन् ।’ एउटा मूर्ती तयार गर्न कम्तीमा पाँचदेखि सात दिनसम्म लाग्ने रुद्र बताउँछन् ।
उनकै शब्दमा भन्ने हो भने दुःखीहरुले गर्ने काम हो यो । तस्विरको आकृतिलाई सानो छिनो र मार्तोलको सहारामा ढुंगामा खोपेर जस्ताको तस्तै उतार्नु सजिलो छैन । त्यँहि असजिलो काम गरेरै रुद्रले आफ्नो पारिवारिक डुंगालाई सयर गराएर यहाँसम्म पु¥याए । तीन छोरीको विवाह गरिदिए, तीन छोरालाई हुर्काए, पढाए । जीवन संग अफ्शोच र गुनासो दुबै छैन रे उनलाई । अहिले उमेरको ७० औं खुड्किलो उक्लिदै गरेका रुद्रले पत्थर संग खेलेर बिताएको अढाइ दशक बितेको छ । आफ्नो शरीरले साथ दिएसम्म यै काम गर्ने निष्कर्षमा पुगेका रुद्रले किराती पुर्खा सिरिजंगा, फाल्गुनन्द, युमा (बुढी बोजु) लगायतका विभिन्न ऐतिहासिक व्यीक्तत्वहरुको समेत मूर्ती बनाइसकेका छन् । अन्य पनि त्यस्ता ऐतिहासिक वीर पुर्खाहरुको खोजी गरी मूर्ती बनाउँने आफ्नो सपना रहेको उनी सुनाउँछन् ।