आज मे ३१ तारिक विश्व धुम्रपान विरुद्ध दिवस हो । विश्व समाजमा चुरोट, बिडी, खैनि, हुक्का, चिलिम, गुट्का र अन्य सुर्तीजन्य पदार्थहरुको सेवन गरी कुलतमा फसेर मानिसहरु अम्मली बन्दैछन् । शिक्षित र चेतनशील व्यक्तिहरुमा विभिन्न बहानामा सुर्तीजन्य पदार्थहरुको अम्मली बनिरहेका छन्, बालक, बृद्धा, युवा, युवती, महिला र पुरुष रुमालिएका छन् । धुम्रपानको धुँवाबाट गाउँ, शहर, पहाड, तराई बाटोघाटो, बनजङ्गल सरकारी कार्यालय र स्वास्थ्य संस्थाहरु समेत अछुतो छैनन् ।
. विश्व धुम्रपानको स्थिति
विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा करिब १.३ विलियन मानिसहरुको सुर्तीजनय पदार्थ सेवन गर्दछन् । जसमध्ये ८४ प्रतिशत विकासोन्मुख र अविकसित देशका मानिसहरु पर्दछन् । धनी, गरीव, शिक्षित, अशिक्षित सबै बर्गका मानिसहरु अम्मलि भए तापनि गरीब वर्गमा धुम्रपानको कुलत अर्थात अम्मल धेरै रहेको पाइन्छ । यसको फलस्वरुप गरिब देशका जनता आफैले आफ्नो गरीवीको ढोका खुल्ला गरेको मान हुन आउँछ । सुर्तीजन्य पदार्थको सेवनबाट बर्षेनी ५० लाख मानिसहरुको मृत्यु हुने गर्दछ । यो अवस्थामा सुधार नभएमा सन् २०२० सम्ममा वर्षेनी १ करोड मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ, जसमध्ये करिब ७० प्रतिशत मृत्यु विकासोन्मुख देशहरुमा हुनेछ ।
नेपालमा १५ वर्ष र सोभन्दा माथि उमेरका ३७.४ प्रतिशत जनता विभिन्न किसिमका धुमपान अम्मली रहेको कुरा सुन् २००० को तथ्याङ्कले देखाएको छ, जसमा ४७.४ प्रतिशत, पुरुष र २७.६ प्रतिशत महिला, हिमाली क्षेत्रमा ५९.३४ प्रतिशत पुरुष र ५४.९ प्रतिशत महिला, पहाडी क्षेत्रमा ४७.९ प्रतिशत पुरुष र ३०.३ प्रतिशत महिला र तराई क्षेत्रमा ४६.८ प्रतिशत र २३.६ प्रतिशत महिला धुमपानका अम्मलीहरु रहेको पाइएको छ ।पुरुष र महिलाहरुको धुमपान सेवनको तुलनात्मक अध्ययन गर्दा शहमा पुरुषहरुमा र गाउँमा महिलाहरुमा धुम्रपान गर्ने प्रबृत्ति बढी छ । नेपालका महिलाहरु विश्वकै सबैभन्दा बढी धुमपान गर्ने महिलाहरुमा पर्दछन्, धुम्रपान सेवनको कारणले नेपालमा वर्षेनी १५ हजार मानिसहको मृत्यु हुने गरेको छ । शिक्षाको आधारमा हेर्दा अशिक्षित जनताहरु ४५.८ प्रतिशत र शिक्षित जनताहरू २२.३ प्रतिशत धुमपानको अम्मली रहेको पाइएको छ । अशिक्षित महिलाहरुमध्ये ३८.६ प्रतिशत धुम्रपान सेवन गर्दछन भने शिक्षित महिलाहरु मध्ये ७.५ प्रतिशतले मात्र धुम्रपान गर्दछन् । यी तथ्याङ्कहरुलाई हेर्दा धुम्रपान नेपालमा पुरुष र महिलाहरु बिच एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको देखिन्छ ।
धुम्रपान विरुद्ध अभियान
धुम्रपान सेवनका कारण प्रत्यक्ष वा अप्रत्यक्ष जनताको स्वास्थ्यमा प्रतिकुल असर पारीरहेको छ, जुन असरले गर्दा व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रले नै सामाजिक र आर्थिक समस्या भोगिरहेको छ । धुम्रपानले एउटा व्यक्ति र परिवारलाई मात्र असर गर्ने नभई यसको दुश्चक्रले समग्र विश्वलाई नै गरिवीमा फसाउने संयन्त्र निर्माण गरिरहेको हुन्छ । यसै सन्दर्भमा हरेक वर्ष मे ३१ तारिकका दिन विभिन्न प्रकारका जनचेतना मूलक कार्यक्रमहरु सबै पक्षको सहयोग र सहभागितामा संगठित रुपमा सञ्चालन गरी धुमपानको प्रयोग र उत्पादनमा कमी ल्याउने उद्देश्यले विश्व धुम्रपान विरुद्ध दिवस मनाइदै आएको छ ।
. धुम्रपानमा खर्च
धुम्रपानका अम्मलीहरुको परिवारको करिब १० प्रतिशत घरायसी खर्च धुम्रपानमा नै हुने गरेको छ, जुन खर्च खाना, शिक्षा, स्वास्थ्य लुगाफाटोमा हुने खर्चबाट कटाएर गर्नुपर्दछ । धुम्रपानमा प्रायः गरिवीको अवस्थाका हुन्छन् र तिनले कमाएको पैसा धुम्रपानमा खर्च हुने भएकोले धुम्रपानका अम्मलीहरुको परिवार र बालबच्चाको बहुपक्षिय विकासका कुराहरु प्रत्यक्ष नकारात्मक असर परिरहेको छ
स्वास्थ्य समस्या
धुम्रपानले केही क्षणिक मानसिक आन्नद र तनाबबाट मुक्त गराएजस्तो भएपनि दीर्घकालिन रुपमा धुम्रपानका अम्मली र त्यस्का वरपर रहने व्यक्ति तथा परिवारका सदस्यहरुलाई विभिन्न रोग र स्वास्थ्य समस्याको चपेटामा पार्दछ । दम, खोकी, ब्राङ्काइटिस, क्यान्सर क्षयरोग, मुटुरोग, रक्तचाप लगायत अन्य कैयौ रोगहरु देखापर्दछन् । व्यक्ति तथा परिवारमा स्वास्थय समस्या देखापर्ने वित्तिकै खर्चमा बृद्धि हुन्छ । रोगका उपचारबाट निको भएपनि व्यक्तिको स्वास्थय पहिलैकै अवस्थामा फर्किन्छ भन्ने कुरा विश्वास गर्न सकिन्न ।
. जनशक्ति तथा उत्पादकत्वमा ह्रास
धुम्रपानले मानिसमा विभिन्न रोगहरु लगाई गम्भिर असर पु¥याउँछ । अकाल मृत्युको कारण बन्दैछ । जुन मृत्युले परिवारले एउटा अभिभावक र कमाई गर्ने व्यक्ति गुमाउनुपर्ने हुन्छ । त्यसपछी परिवारलाई आर्थिक र समाजिक समस्या भोग्न बाध्य गराउँछ । राष्ट्रले एउटा सक्षम जनशक्ति गुमाउँदछ । व्यक्तिको मृत्यु हुनु भनेको नै राष्ट्रको उत्पादकत्वमा घाटा पर्नु हो, अर्थतन्त्र कमजोर हुन हो ।
स्वास्थ्य संस्थामा हुने खर्च
सुर्तिजन्य पदार्थबाट सिर्जित रोग तथा स्वास्थय समस्याको उपचार गर्न अस्पताल अनुसन्धानशाला विभिन्न आधुनिक संयन्त्र निमार्ण गर्नुपर्ने राष्ट्रको दायित्व भइरहेको छ । चिकित्सक र अन्य स्वास्थ्य प्राविधिक जनशक्तिको उत्पादन रोजगारी र औषधिमुलको खर्चको भार सरकारले व्यहोर्नु परिरहेको छ, र धुम्रपानको कारणले उत्पन्न हुने रोगहरु र समस्याको निराकरणका लागि राज्यको राजश्व खर्चलाई प्रत्येक वर्ष बृद्धि गर्दै लग्नुपरेको छ । यदि धुम्रपानको सेवनलाई घटाउन सकिन्छ ।
.बैदेशिक मुद्राको खपत
चुरोट, सुर्तिजस्ता बस्तूहरु आयतको लागि राज्यले बैदेशीक मुद्रा खर्च गरिरहेको छ । आयतको लागि खर्चिनु पर्ने बैदेशिक मुद्रा राज्यले अन्य क्षेत्रबाट कमाएको आयबाट धुम्रपानजस्ता घातक पदार्थ आयातका लागि खर्च हुन्छ । धुम्रपानबाट नै सिर्जित स्वास्थ्य समस्याको उपचारका लागि आयात गर्नेपर्ने औषधिमुलोमा समेत खर्च हुने गर्दछ ।
. वातावरणीय ह्रास
सुर्ती र सुर्तीजन्य पदार्थको कारणले ल्याउने बातावरणिय ह्रासले पनि गरीविलाई बढाईरहको छ । सुर्ती खेतिका लागि गरिने जंगलको विनाश, किटनाशक तथा रासायनिक मलको प्रयोगले हुने माटोको विनाशको साथै सुर्तिजन्य पदार्थको भण्डारले सिजर्ना हुने वातावरणीय ह्रासले जैविक विविधताका साथै जनस्वास्थ्यमा समस्या परिरहेको छ । त्यस्तै धुम्रपानका कारणले कति स्थानमा जंङ्गलहरु डढेलो लागेको कुरा पनि देखिएकै छ । जसले हरियाली वातावरणलाई नाश गरेको छ ।
धुमपान नियन्त्रण गर्न गरिएका पहलहरु
धुमपानको उपयोग असर र प्रभाव कम गर्न विश्वभर नै विभिन्न किसिमका पहल प्रयासहरु भइरहेका छन् । एउटा अध्ययन अनुसार धुम्रपानको मूल्यमा १० प्रतिशत बृद्धि गर्नले धुम्रपानका नियन्त्रणका लागि सरकारी, गैरसरकारी तथा सामाजिक क्षेत्राट विविध प्रयासहरु उल्लेनिय रुपमा भईरहेका छन् । नेपालमा धुम्रपान निषेध, रोकथाम र नियन्त्रणका लागि गरिएका प्रयाहरु निम्नलिखित रहेका छन् ।
.१. सुर्तीजन्य बस्तु नियन्त्रणका लागि अन्तराष्ट्रिय अनुबन्धन मा सरकारले हस्ताक्षर गरि त्यसलाई संसदले समेत अनुमोदन गरी अन्तराष्ट्रिय मान्यता अनुरुप धुम्रपान नियन्त्रणका लागि नेपाल प्रतिबद्धता जाहेर गरिसकेको छ ।
.२. विद्युतिय सञ्चारमाध्यमहरुबाट धुम्रपानलाई प्रबद्धन गर्ने विज्ञापनहरु प्रसारण गर्न पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।
.३. सरकारी तथा गैरसरकारी संस्थाहरुबाट धुम्रपानविरुद्ध, धुम्रपानको प्रयोग रोकथाम निरुत्साहित र नियन्त्रण गर्नका लागि जनचेतनामुलक विभिन्न कार्यक्रमहरुको सञ्चालन गरिएको छ ।
.४. सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न निषेध गरिएको छ ।
.५. सुर्ति, चुरोट, विंडिको बट्टामा स्वास्थ्यका लागि हानिकारक छ भन्ने सावधानिको सुचना अनिवार्य लेखनको व्यवस्था गरिएको छ ।
.६. सुर्ति र चुरोटमा अनिवार्य स्वास्थ्य करको प्रावधान राखिएको छ ।
.७. कानुनी रुपमा धुमपानलाई निषेध तथा नियन्त्रण गर्नकालागि विधेयकको मस्यौदा भइरहको छ ।
सुर्तिजन्य बस्तु नियन्त्रणका लागि अन्तराष्ट्रिय अनुबन्धन
सुर्तिजन्य बस्तु नियन्त्रणका लागि विश्वव्यापी कानुन हो यो अनुबन्धन विश्व स्वास्थ्य संघका १९२ सदस्य राष्ट्रहरुको सहमतिमा तयार भएको हो । यसमा नेपालको पनि सहभागिता रहेको थियो । मुख्यतया यसमा सुर्तिजन्य बस्तुहरुद्वारा उत्पन्न हुने स्वास्थ्य तथा आर्थिक हानी कम गर्ने उपायहरु छन् । १६८ राष्ट्रले हस्ताक्षर गरेको अनुबन्धनमा हालसम्म १४२ राष्ट्रले अनुमोदन गरिसकेका छन् । सुर्तिजन्य बस्तुमा नेपाल सरकाले ३ नोभेम्बर २००६ मा प्रतिनिधि सभाले समेत अनुमोदन गरी अन्तराष्ट्रिय मान्यता अनुरुप धुम्रपान नियन्त्रणका लागि नेपालले प्रतिबद्धता जाहेर गरिसकेको छ ।
. सुर्तिजन्य बस्तु नियन्त्रणका लागि अन्तराष्ट्रिय अनुबन्धनका मुख्य बुंदाहरु
.१. सुर्तीजन्य बस्तुको विज्ञापन, प्रबद्धर्न तथा प्रयोजनलाई पूर्णरुपमा प्रतिबन्ध लगाउने ।
.२. सुर्तीजन्य बस्तुको खोल वा प्याकेटमा स्वास्थ्यलाई गर्नसक्ने हानिबारे जनाउन दिने सन्देश राख्नुपर्ने प्रावधान राख्ने ।
.३. हलुका र मलुवाजस्ता भ्रामक र कपटपुर्ण शब्दहरु राखी बेचविखन गर्नलाई प्रतिबन्ध गर्ने ।
.४ नागरिकलाई सूर्तीको धुँवाबाट जोगाउन कार्यालय, कार्यस्थल, सार्वजनिक यातायात सार्वजनिक भवन र समारोहरुमा धुमपान निषेध गर्ने ।
.६ तस्करी नियन्त्रणका लागि कुन देशमा बेचिने हो त्यसको बट्टामा गर्नुपर्ने प्राबधान राख्ने ।
.७. सूर्तीजन्य बस्तुको उत्पादनमा कर बृद्धि गर्ने ।
.८. सुर्तीजन्य बस्तुको उत्पादनको नाबालिकद्वारा बेचिविखनमा प्रतिबन्ध गर्ने ।
. जनस्वास्थ्य सुरक्षाका उपायहरु
सुर्तीजन्य बस्तुको उत्पादनमा रहने तत्वहरु उल्लेख गर्नुपर्ने ।
.सुर्तीको लतको उपचार व्यवस्था गर्नुपर्ने ।
. सुर्ती उद्योग विरुद्ध कानुनी कारवाही सम्बन्धी ।
देशहरुबीच अनुसन्धान र सूचना आदानप्रदान गर्ने ।
सुर्ती तथा सुर्तीजन्य पदार्थ निषेध, रोकथाम र नियन्त्रणका लागि सबै क्षेत्रबाट सक्रियताका साथ हातेमालो गरी कार्य गरौं, नेपाललाई सुर्ती तथा सुर्तीजन्य पदार्थ मुक्त देश बनाउन सहयोग गरौं ।