Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

छैटौ अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगिताको उपाधी नेपाललाई

छैटौ अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगिताको उपाधी नेपाललाई

  • लोकल सन्देश
  • शनिबार, बैशाख ३० २०७४


छैटौ अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगिताको उपाधी नेपाललाई

इलाम । इलामको पर्यटकिय नगरी सुर्योदयमा भएको छैटौ अन्तराष्ट्रिय खुल्ला कराँते च्याम्पियनसिपको उपाधी नेपालले जितेको छ । बैशाख १५ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालले कुमुते तर्फ १६ स्वर्ण, ११ रजत र ९ कास्य तथा काता तर्फ १ स्वर्ण २ रजत र १ कास्य पदकका साथ च्याम्पियन बनेको हो । नेपालको तर्फबाट इलामका विभिन्न डोजोबाट छनौट भएका ४८ जना खेलाडीहरु सहभागी रहेका थिए । त्यसै गरी कुमुतेमा ४ स्वर्ण ५ रजत र २९ कास्यका तथा काता तर्फ १ कास्य साथ भारतले दोश्रो स्थान हासिल गरेको छ । कुमुतेमा ३ स्वर्ण ७ रजत र ३ कास्य र काता तर्फ १ स्वर्णका साथ भुटानले तेश्रो स्थान हासिल गरेको छ ।

श्रीलंकाका ५ र बंगलादेशका २ जना खेलाडीहरु सहभागि हुने भनिएता पनि अन्तिम समयमा आएर प्राविधिक समस्याका कारण सहभागीता जनाउन नसकेको आयोजक समितीले जानकारी दिएको छ । प्रतियोगिताको पुरुष तर्फको बेष्ट फाइटर भुटानका कर्मा दोर्जी, महिला तर्फ नेपालकी प्रिया बस्नेत र उदयीमान खेलाडी भारतकी कावेरी नालक घोषित भइन । नेपाल सितोरियो कराते संघ इलामको आयोजनामा बैशाख १५ गतेबाट सुरु भएको प्रतियोगितामा पुरुष तर्फ २० देखी ७५ केजीमाथी तौल समुहका १३ विधा, महिला तर्फ २५ देखी ६५ केजी तौल समुहमा ११ विधा र कातामा २ वटा विधामा १०० वटा मेडलका लागी प्रतिस्पर्धा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता समापन गर्दै नेपालको अन्तराष्ट्रिय पदक ल्याउने कराते खेल उपेक्षामा परेको बताए । उनले अघिल्लो दक्षिण एसियाली खेलमा करातेलाई हटाइएपनि तेह्रौ दक्षिण एसियाली खेलकुद नेपालमा आयोजना हुने भएकाले आयोजकको हैसियतले कराते खेललाई सहभागि गराइने बताए । सुर्योदय नगर खेल पर्यटनको अव्वल गन्तव्य भएको बताउँदै उनले कराँतेको इन्डोर स्टेडिम बनाउनका लागी आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जाहेर गरे । उनले खेल ठेकेदारका कारण नेपाली खेलकुद क्षेत्र धरासायी बन्दै गइरहेकाले आगामी दिनमा खेलकुदलाई नियमन गर्दै विश्वमाझ नेपाललाई खेल पर्यटनको माध्यमबाट चिनाउनका लागी पहल गर्ने बताए ।

कार्यक्रममा सुर्योदय नगरपालिका कार्यकारी अधिकृत राजेन्द्र भट्टराई, , प्रशिक्षण विभागका उपनिर्देशक महेन्द्र राई, झापा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष शंकर थापा लगायतको आतिथ्यता रहेको थियो । इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता संचालनका लागी चौधरी ग्रुपको नेपाल आइसको मुख्य प्रायोजना रहेको थियो । जिल्ला समन्वय समिती, स्थानिय कलकारखाना, मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन समिती, सुर्योदय होटल व्यवसायी संघले प्रतियोगिताको सह–प्रायोजना गरेका थिए । इलामका वि.स २०४७ सालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगिताको ५ औ संस्करण २ बर्ष अघि हर्कटेमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार