Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

बिस्तारिदै अलैचीको रोग

बिस्तारिदै अलैचीको रोग

  • लोकल सन्देश
  • बिहिबार, बैशाख २८ २०७४


बिस्तारिदै अलैचीको रोग

इलाम । रोगको प्रकोप नियन्त्रणका लागि सरकारी पहल नुहदा विश्वमा सबैभन्दा बढी अलैची उत्पादन गर्ने नेपालका किसानमा कुनै उत्साह छैन । मासिदै गएको अलैंची खेती उनीहरुको निरासाको कारण हो । खोल्साको सुनको उपमा पाएको अलैचीका बगान विभिन्न रोग लागेर मासिएपछि यसमा आश्रीत किसानका लागि अहिलेको आकाशिदो मूल्य निरर्थक रहेको छ । रोगका कारण पूर्वाञ्चलका पहाडी जिलामा ३० प्रतिशत देखि ७५ प्रतिशतसम्म अलैचीका बगान मासिएको अलैची विकास केन्द्रले जनाएको छ ।
झन्नै आधा दर्जन रोगले बगान मासिएपछि प्रतिमन ८० हजार नाघेको अलैचीको मुल्यले अहिले किसानको मन रोएको छ । इलामबाट फैलिएको रोग पाँचथर, ताप्लेजुङ्ग, संखुवासभा, भोजपूर, ताप्लेजुङ्ग जिल्लाका बगानमा विस्तार भएको छ । बषौँ पूराना बगानहरु एक्कासि मासिदै गएकाले रोजीरोटी नै गुम्ने अवस्थामा पुगेको पाँचथर सुभाङका किसान कृष्ण तिम्सिना बताउँछन् । आम्दानीको मुख्य श्रोत अलैची मासिएकाले लेकालि क्षेत्रका धेरैजसो किसान वैकल्पिक खेति लगाउने तयारीमा छन् । धेरैजसो किसानले अलैची बगान मासेर जडिबुटी खेती गर्ने सोच बनाएका हुन् । खाध्यबालिको तुलनामा धेरैगुणा बढी आम्दानी दिने अलैचीको रोग नियन्त्रणमा सरकारी चासो कम भएको फिक्कल किसान सागर पराजुली बताउँछन् ।
‘अलैचीको जस्तो आम्दानी दिने अरु नगदेवाली छैन । उनी भन्छन्, सकारी निकायले मासिएका अलैची बगान पुनःस्थापनाका लागि सहयोग गर्नुपर्छ । भारतमा नर्सरी व्यवस्थापन, अलैची विरुवा रोप्ने किसानलाई दशहजार रुपैयाँ, सुकाउने भट्टी निर्माण गर्ने, सिंचाइ गर्ने र रोगी अलैची मासेर नयाँ बगान व्यवस्थापनका लागि किसानलाई एकलाख रुपैयाँ प्रदान गरिन्छ । तर नेपालमा किसान लक्षित गरि कुनैपनि योजना संचालन नभएकाले मासिएका बगान पुनःस्थापना नभएको अलैची व्यवसायी नरेन्द्र अधिकारी बताउँछन् ।
अलैचीमा छिर्के, फुर्के रोग, ढुसी युक्त गानो कुहिने रोग संगै फैलिएको ढुसियुक्त झाँग सुक्ने रोगका कारण साना बगानदेखि एक सय मन सुख्खा अलैची विक्री गर्ने किसानका बगान पुरै बगान मासिएका छन् । अलैची निर्यातले मात्र नेपालको बाह्र प्रतिशत अर्थतन्त्र धानेको र सत्तरी हजार परिवार आश्रीत भएको सरकारी तथ्याङ्क रहेका छन् । अलैचीमा आश्रीत परिवार बर्षाै देखि देखा परेको रोग नियन्त्रण होस् भन्ने चाहान्छन् । तर किसानले १० वर्षदेखि समस्या समाधान गर्न उठाएका आवाज सुन्ने कोही नभएपछि पुर्वी पहाडको अर्थतन्त्र धरापमा परेको छ । सरकारको चासो नभएपछि किसानलाई मात्रै नभएर अलैची व्यवसायीलाई समेत चिन्ता थपेको छ । अलैचीको बगान विस्तार भइरहेको अवस्थामा उत्पादन बढ्नु पर्नेमा झनै घटेकाले अलैची मासिदै गएको पुष्टि भएको अलैची व्यवसायी दिपक नेपाल बताउँछन् ।
निर्यात प्रवद्र्धन केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष अलैचीको उत्पादन १४ सय मेट्रिक टनले कमि रहेको छ । उत्पादन घट्दै गएपछि अलैचीमा आश्रीत रहेर विहान बेलुकी छाक टार्दै आएका किसान र व्यवसायीले रोग नियन्त्रणका लागि आवाज उठाउँदै आएका छन् ।
उनीहरुले अलैचीको विकल्प खोज्ने हैन अलैची खेती व्यवस्थपन र बजार प्रर्वद्धनका लागि भरपर्दो योजना ल्याइनु पर्ने बताउँदै आएका छन् । किसान र व्यवसायीको गुनासा सुन्दै आएको अलैची विकास केन्द्र भने अलैचीमा लागेको रोगको जिवाणु पत्ता लागिसकेको र तत्कालको अवस्थामा भइरहेको प्रविधिबाट निरोगी विरुवा उत्पादन गरि किसानलाई प्रदान गरेको अलैची विकास केन्द्र फिक्कलका प्रमुख पदम अधिकारी बताउँछन् ।
नेपालको पूर्वाञ्चलका पहाडी जिल्लाबाट ५६ बर्ष अघि शुरु भएको अलैची खेती अहिले ४० जिल्लाको १४ हजार ५ सय हेक्टर क्षेक्रफलमा बिस्तार भएको छ । तर अलैची बगान सँगै विस्तार हुदै गएको रोग नियन्त्रणका लागि तत्काल कदम नचाले अलैची औषधिका रुपमा सिमित रहने निश्चित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार