इलाम । मूल्य राम्रो पाउन थालेपछि इलामका किसानले काउली खेतीबाट आम्दानी गर्न थालेका छन् । कृषि विकास कार्यालय इलामले प्राविधिक सेवा र रोग किरा नियन्त्रण सम्बन्धि बेला बेलामा सचेतनामूलक कार्यक्रम गर्दै आएपछि किसानलाई व्यवसायीक काउली खेतीका लागि सहज भएको छ । कृषि विकास कार्यालय इलामका बालि संरक्षण अधिकृत वुद्धि भट्टराईका अनुसार किसानलाई तकारी पकेट क्षेत्र घोषणा गरेर काउली खेतीका लागि प्राविधिक सहयोग गर्दै आएको छ ।
इलामका किसानले बन्दा ब्रोकाउली, फुलकोपीको खेती गर्दै अएका छन् । जिल्लामा दूई सय ७२ हेक्टर क्षेत्रफलमा फुलकोपी, चार सय २४ हेक्टर क्षेत्रफलमा बन्दाकोपी र ३७ हेक्टर क्षेत्रफलमा ब्रोकाउलीको खेती हुदै आएको छ । किसानले उत्पादन भएको काउली न्यूनतम ४० रुपैयाँ प्रतिकेजीमा नेपाल र भारतका बजारमा बिक्रि गर्दै आएका कृषि विकास कार्यालय इलामले जनाएको छ । काउली खेतीबाट प्रति रोपनी १५ हजार देखि २० हजारसम्म किसानले आम्दानी गर्दै आएका छन् । उत्पादन भएको काउली इलाम बजार, पशुपतिनगर, गोर्खे, झापाको बिर्तामोड र भारतीको दार्जिलिङ्गमा बिक्रि हुने गरेको छ ।
व्यवसायीक रुपमा खेती गर्दै आएका किसानले व्यपारीलाई काउली पठाउने र व्यापारीले किसानको बैंक खातामा पैशा जम्मा गर्ने गरेकाले व्यापारमा सजिलो हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा ५ हजार दुई सय २३ मेट्रिक टन फुल कोपी, ७ हजार आठ सय ५० मेट्रिक टन बन्दाकोपी र तीन सय १५ मेट्रिक टन ब्रोकाउली उत्पादन भएको कृषि विकास कार्यालयका सुचना अधिकारी प्रकाशमणि काफ्लले बताए । काउलीको बिक्रिबाट इलामका किसानले गत वर्ष ५३ करोड ५५ लाख २० हजार रुपैयाँ आम्दानी गरेको कृषि विकास कार्यालय इलामले जनाएको छ । कृषि विकास कार्यालयले जिल्लाको चुलाचुली, चमैता, साङ्रुम्बा, साँखेजुङ्ग, मंगलबारे, माइपोखरी,बरबोटे, गोदक, इलाम नगरपालिका, सुम्बेक, पञ्चकन्या, कोल्बुङ्ग, कन्याम, पशुपतिगनर र फिक्कल गाविस समेटेर आठ वटा काउली पकेट क्षेत्र घोषणा गरेको छ ।