विर्तामाेड । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आधारभूत तहसम्मको शिक्षा नलिने व्यक्ति राज्यको सेवासुविधाबाट वञ्चित हुने बताएका छन्। विभिन्न नमुना विद्यालयको शिलान्यास कार्यक्रममा सहभागि हुन झापा आएका शिक्षामन्त्री पोखरेलले आइतबार प्रेस संगठन झापाले आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्। आधारभूत शिक्षा लिने व्यक्तिले बैंक खातासमेत खोल्न नपाइने भएकोले सेवासुविधाबाट वञ्चित हुने मन्त्री पोखरेलको भनाइ छ।
अहिले स्थानीय सरकारले सरकारको नीतिविपरीत धमाधम शिक्षक भर्ना गरिरहेकोले शिक्षक भर्ना आयोगले मात्र गर्न पाउने अधिकार रहेको उनले प्रस्ट्याए। नयाँ शैक्षिक सत्र सुरु भइसकेकोले सामुदायिक विद्यालयले कुनै पनि शीर्षकमा शुल्क लिन नमिल्ने बताउँदै उनले झापाका केही सरकारी विद्यालयले विद्यार्थीबाट शुल्क लिएको विषय जानकारी आएकोले त्यस्तो कार्य तुरुन्त बन्द गर्न आग्रह गरे।
‘शिक्षा क्षेत्रको परिवर्तनका लागि चाँडै शिक्षा नीति टुंगो लगाउने तयारीमा छौँ’, उनले भने, ‘संघीयतापछि गठित सरकारको पहिलो वर्ष शिक्षाका लागि आधार वर्ष भएको र अब यस वर्ष शिक्षा क्षेत्रमा काम गरेर देखाउने हो।’ शिक्षालाई उत्पादनसँग जोडन प्राविधिक र सिपयुक्त शिक्षाको आवश्यकता देखिएको बताउँदै उनले भने, ‘विद्यालयको ब्लाकबोर्डको शिक्षा मात्र चल्ने छैन, अब प्राविधिक र सिपयुक्त शिक्षा सञ्चालन हुन्छ।’