इलाम । इलाम नगरपालिकाले आगामी पुष २० गते आयोजना गरेको लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्न लागेको बिशेष सम्मानको नेपाली कांग्रेसले विरोध गरेको छ । नेपाली कांग्रेस इलाम जिल्ला कार्य समितीले एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न बहानमा जनताले तिरेको करबाट आफनो कार्यकर्ताको थैली भर्ने परिपाटी गलत भएको उल्लेख गरेको छ । जिल्ला सभापती हिमालय कर्मचार्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘सर्वसाधारण जनताले तिरेको रकम तिनैको सेवा सहजीकरण तथा सुविधा अभिवृद्धि र प्राथमिकीकरणका आधारमा विकास निर्माणमा लगानी नगरेर नगर प्रमुखले मनमौजी ढंगले खर्चने गरेको तथ्य बारेमा आम नागरिक अनविज्ञ छैनन्् ।’
खलंगा स्थापनाको २०० बर्ष पुरा भएको अवसरमा कार्यपालिकाबाट १० लाख बिनियोजन गरिएको भएपनि अनावश्यक औचित्यहिन खरिदका बिल फस्र्यौटलाई एकलौटी ढंगले अनुमोदन गराई ७०/८० लाख खर्च गर्दै नितान्त व्यक्तीगत कार्यकर्ता पोस्ने काम भएको आरोप लगाइएको छ ।
लगानी आर्कषित गर्न छलफल र गृहकार्य नै नगरी लगानी सम्मेलनलाई बर्षगाठमा जोडेर गर्दा खोज्दा यसको औचित्य र सफलतामा प्रश्न चिन्ह खडा भएको कांग्रेसको आरोप छ । लगानीको पर्याप्त संभावना र लगानीकर्ताको आर्कषण इलाम भएपनि हचुवाको निर्णयले यसलाई ओझेलमा पार्ने कार्य नगर्न चेतावनी दिएको छ ।
मुलुकको खस्कदो शान्ति सुरक्षा, अनियन्त्रित हत्या, बलात्कार, तस्करी र संस्थागत भ्रष्टचार बृद्धि भएको अवस्था, फितलो कुटनिति, अमर्यादित र असन्तुलित परराष्ट्र निती, धर्मप्रचार संस्थासंगको अप्राकृतिक साठगाठका कारण असफलता तर्फ लम्किएका र आफनै पाटीभित्र चरम विरोध र विवादमा मुछिएका सरकारका प्रमुखलाई नगरबासीका नाममा नाटकिय ढंगले गर्न लागिएको सम्मानले व्यक्तीगत स्वार्थ पुरा हुने भएपनि आम इलामबासीको मर्यादा र चेतनालाई आघात पुग्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।