इलाम । बलात्कार र घरेलु हिंसाका घटना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इलामको नेतृत्वमा इलामका ८१ वटै वडाहरुमा लागू औषध निषेध तथा मदिरा नियन्त्रण अभियान सञ्चालन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाको अध्यक्षतामा मंगलबार जिल्ला प्रशासन कार्यालय इलाममा बसेको वैठकले सो निर्णय गरेको हो । वैठकले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, इलामका स्थानीय तहहरुका प्रशासकिय अधिकृत र जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागि जिल्लास्थित कार्यदल निर्माण गरेको छ ।
९ सदस्यीय कार्ययोजना निमार्ण कार्यदलमा गठन मानव अधिकार मञ्च नेपाल ,करुणा फाउण्डेसन इलाम, जिल्ल्ला युवा समितिको कार्यालय,भरोषा नेपाल पत्रकार महासंघ जिल्ला शाखा, चेतना नाट्य समूह, हरित नगर महिला समूह इलाम, क्वीन इलाम र इलाम नगरपालिकाको कार्यालय इलाम रहेका छन् ।
कार्यदलले प्रारम्भिक चरणमा लागू औषध निषेध तथा मदिरा नियन्त्रण अभियानको लागि लाग्ने खर्च तथा कार्यतालिका सहितको प्रस्ताव पत्र निर्माण गरी अर्को वैठकमा पेश गर्नेछ । आर्थिक व्यवस्थापनको लागि सम्बन्धित स्थानिय तहबाट प्रत्येक वडाको लागि कम्तिमा १० हजार रुपैयाँका दरले बजेट सिलिङ गराउने प्रस्तावमाथि इलामका १० वटै स्थानीय तहका प्रसाशकिय प्रमुखहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । प्रारम्भिक चरणमा बसेको वैठकमा आवश्यकता अनुसार फेरी स्थानिय तहका प्रमुख, विभिन्न सरकारी तथा संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग समन्वयात्मक वैठक बसिने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमसिनाले बताउनुभयो ।