Local Sandesh शनिबार, असोज १७ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

  • सन्देश सम्बाददाता
  • बिहिबार, असोज ८ २०८३


राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएकी छन्।
  • एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकले उनलाई सम्मानीत वरिष्ठ नेताको जिम्मेवारी दिएको छ।
  • यसअघि पार्टी सदस्यता दिने वा नदिने विषयमा बहस चले पनि अन्ततः उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको हो।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा फर्किएकी छन्। नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले उनलाई सम्मानीत वरिष्ठ नेताको जिम्मेवारी दिएसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन्।

२०७९ फागुन २५ गते रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारी पूर्वराष्ट्रपतिको हैसियतमा पुगेकी थिइन्। त्यसअघि उनी २०७२ कात्तिकमा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। २०७४ मा उनी फेरि दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी थिइन्। राष्ट्रपति पदबाट बिदा भएपछि भण्डारीले पार्टी राजनीतिमा फर्किन गतिविधि गर्दै आएकी थिइन् । तर एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी राजनीतिमा उनको पुनरागमनको विपक्षमा देखिएका थिए । पछिल्लो समय आफै पार्टीभित्र आलोचित हुँदै गएपछि ओलीले भण्डारीलाई पार्टी राजनीतिमा फर्किन बाटो खुला गरेका छन्।

एमालेको केन्द्रीय कमिटीको बैठकअघि बिहीबार बसेको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको थियो। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो। पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई पार्टी सदस्यता दिने वा नदिने विषयमा एमालेभित्र बहस चल्दै आएको थियो। अन्ततः उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको हो।

एमाले सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उनको राजनीतिक तथा साङ्गठनिक अनुभवले पार्टीको आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। बैठकपछि प्रतिक्रिया दिँदै सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिएपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताइन्।

अर्का सचिव महेश बस्नेतले केन्द्रीय कमिटीको बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै ‘नेतृत्व र पार्टीमाथि भएको हमलालाई निराश’ बनाउँदै पार्टीलाई एकताबद्ध तथा उत्साहित बनाउँदै बैठक सम्पन्न भएको जिकिर गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार