इलाम : विद्यालयका शिक्षकहरुलाई भलिबल खेलसम्बन्धी प्राविधिक ज्ञान र प्रशिक्षण क्षमता प्रदान गर्ने उद्देश्यले इलाम सदरमुकाममा ६ दिवसीय निस्शुल्क भलिबल प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला भलिबल संघ इलामले आयोजना गरेको प्रशिक्षक प्रशिक्षणबाट जिल्लाका विभिन्न विद्यालयमा कार्यरत ६२ जना शिक्षक लाभान्वित भएका छन् ।
वार्षिक रुपमा सञ्चालन हुने राष्ट्रिपति रनिङ सिल्ड प्रतियोगितालाई लक्षित गरी ग्रामीण क्षेत्रमा भलिबल खेलको गुणस्तर अभिवृद्धि गर्न भदौ १० गतेदेखि आयोजना गरिएको प्रशिक्षण सोमबार समापन गरिएको छ । प्रशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्दै इलाम नगरपालिका प्रमुख केदार थापाले शिक्षकहरु नै विद्यार्थीको प्रतिभा पहिचान गर्ने पहिलो व्यक्ति भएकाले उनीहरुलाई खेलसम्बन्धी प्रशिक्षण प्रदान गर्न नगरपालिकाले जिल्ला भलिबल संघसँगको सहकार्यमा प्रशिक्षण आयोजना गरिएको बताए ।
प्रशिक्षण अवधिभर सहभागी शिक्षकलाई भलिबल खेलसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक कक्षा प्रदान गरिएको संघले जनाएको छ। संघले जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई प्रशिक्षण प्रदान गरी विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित कार्यक्रमको तयारी गरेको जनाएको थियो। प्रशिक्षणमा इलामका १० मध्ये ९ स्थानीय तहका शिक्षकहरु उपस्थित रहेका थिए । सूर्योदय नगरपालिकाले आफै प्रशिक्षण कार्यक्रम गरेको छ ।
जिल्लामा भलिबल खेलको आधार बलियो बनाउने तथा विद्यालयस्तरबाटै प्रतिभावान् खेलाडी पहिचान र उत्पादन गर्ने लक्ष्यका साथ प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको आयोजक जिल्ला भलिबल संघ इलामका अध्यक्ष प्रविण गुरुङले जानकारी दिए । भलिबलका लेभल -२, प्रशिक्षक, राष्ट्रिय रेफ्रि बिजय कृष्ण बादे लगायतले प्रशिक्षण दिएका थिए ।