इलाम । नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा तीज गीतको रौनक बढेको छ। यही माहोलमा गायिका संगीता भण्डारी २२ वर्षपछि नयाँ तीज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन्। भण्डारीको स्वरमा रहेको मौलिक तीज गीत ‘रानीहार’ शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
लोकप्रिय गीतकार डीपी खनालको शब्द, चर्चित संगीतकार शंकर थापा ‘स्माइल’को संगीत तथा विषम आचार्यको एरेन्जमा गीत तयार गरिएको हो। ‘रानीहार’ले तीज पर्वको मौलिकता, खुसी र आत्मीयतालाई केन्द्रमा राख्दै महँगा सुनका गरगहना नभए पनि आपसी प्रेम, उमंग र खुसीका साथ तीज मनाउन सकिने सकारात्मक सन्देश दिएको छ। भड्किलो प्रदर्शनभन्दा आत्मीयता र खुसी महत्वपूर्ण हुने भाव गीतमा प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा यशु भट्टराई, मिलसा वाग्ले र गायिका संगीता भण्डारीको अभिनय तथा नृत्य देख्न सकिन्छ। भिडियोमा तीजको सांस्कृतिक परिवेशसँगै मनोरञ्जनात्मक प्रस्तुति समेटिएको छ। विशाल थापाले छायांकन गरेको भिडियोको सम्पादन दीपक बिष्टले गरेका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गरेका हुन्। गीत डश म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
२२ वर्षपछि गायनमा फर्किएकी गायिका भण्डारीले इच्छाशक्ति, आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्न उमेर बाधक नहुने सन्देश दिन आफू पुनः सांगीतिक यात्रामा फर्किएको बताएकी छन्। लामो समयपछि संगीतमा फर्किँदा आफू उत्साहित रहेको उल्लेख गर्दै उनले नयाँ पुस्तासँगै पुराना श्रोतालाई पनि ‘रानीहार’ले जोड्ने विश्वास व्यक्त गरेकी छन्।