सन्दकपुर (माबु) । सन्दकपुर गाउँपालिका–४ तिनकुने चोक माबुमा बालविवाह विरुद्ध जनचेतना फैलाउनका लागि “कचहरी नाटक” को प्रदर्शन भएको छ । बालविवाहका कारण, त्यसले पार्ने असर र समाधानका उपायहरूलाई प्रभावकारी ढंगले प्रस्तुत गर्दै नाटकले समुदायमा जनचेतना फैलाउने हिसाबले सडक नाटक प्रदर्शन गरिएको हो । सकारात्मक सन्देश फैलाउने हिसाबले नाकट प्रदर्शन गरिएको सन्दकपुर ४ का वडाअध्यक्ष ढाल बहादूर गुरुङ्गले बताए ।
“बालबालिकाको अधिकार, समवृद्ध सन्दकपुरको आधार ” भन्ने मुल नारासहित आयोजित कार्यक्रममा बालविवाहको अन्त्यको लागि कचहरी नाटक प्रस्तुत गरिएको थियो। कला र संवादको संयोजनमार्फत सशक्त सन्देश दिइएको उक्त कार्यक्रममा वडा अध्यक्ष, शिक्षक, प्रहरी, स्वास्थ्यकर्मी, बालबालिका, स्वयंसेवक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।
नाटकपछि गरिएको खुला छलफलमा सहभागीहरूले कचहरी शैलीको प्रस्तुति समाजमा गहिरो प्रभाव पार्ने उल्लेख गरे। उनीहरूले संवाद र चेतनाबाटै दीगो समाधान सम्भव हुने भन्दै बालविवाह रोक्न प्रतिबद्धता जनाए। कार्यक्रममा रोजन गुरुङ, रेबिका तोलाङी, सरिता राई, विमला चाम्लिङ , भूमिका सुब्बा, दर्शन घिमिरे, गुणराज देवान विष्णु खातीवडा र मनिष विश्वकर्माले अभिनय गरेका थिए। नाटकको निर्देशन अन्वेश थुलुङ राई ले गरेका थिए। सन्दकपुर गाउँपालिका, ४ नम्बर वडा कार्यलय र बाल अधिकार समितिको आयोजनामा भएको नाटक प्रदर्शनमा मानव अधिकार मंन्च नेपाल ईलाम र वडा स्तरीय बाल संजाल को सहकार्यमा रहेको थियो । सडक नाटकमा प्रदर्शन चेतना नाट्य समूह इलामले आफ्नो प्रस्तुती दिएको थियो । नाटक को मुख्य सन्देशस्बालविवाह अन्त्य गरौं, बालमैत्री समाज बनाऔं भन्ने रहेको चेतना थिटर ईलामका अध्यक्ष सुरेश पोर्तेलले बताएका छन् ।
