Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नौमती बाजा संरक्षणमा जुट्दै चुलाचुली गाउँपालिका

नौमती बाजा संरक्षणमा जुट्दै चुलाचुली गाउँपालिका

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र ८ २०८१


नौमती बाजा संरक्षणमा जुट्दै चुलाचुली गाउँपालिका

इलाम : इलामको चलाचुली गाउँपालिका नौमती बाजा संरक्षणमा जुटेको छ । पछिल्लो समय लोप हुँदै गएको नौमती बाजा संरक्षका लागि चुलाचुली गाउँपालिकाले अग्रसरता देखाएको हो । चुलाचुली गाउँपालिकाले दुईवटा समूहलाई नौमती बाजा सम्बन्धी तालिम सञ्चालन गरी नौमती बाजाका सामग्रीहरु सहयोग गरेको छ । चुलाचुली गाउँपालिका–२ को दुर्गा मन्दिर समिति र चुलाचुली गाउँपालिका–३ को सरस्वती किर्तन मण्डलीका २३ जनालाई १५ दिनसम्म नौमती बाजा बजाउने तालिम दिनुका साथै बाजाका सामग्रीहरु सहयोग गरेको हो ।

चुलाचुली गाउँपालिकामा कार्यक्रम आयोजना गरी गाउँपालिकाले दुईवटा समूहलाई नौमती बाजाका सामग्री हस्तान्तरण गरेको हो । स्थानीय स्तरमा नौमती बाजा संरक्षण गर्नका लागि तालिम दिएर बाजाहरु सहयोग गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । ‘यस क्षेत्रमा नौमती बाजा बजाउने कुनै समूह नभएकाले कुनैपनि कार्यक्रममा नौमती बाजा बजाउनुपर्यो भने छिमेकी जिल्ला झापा, मोरङबाट महँगो शुल्क तिरेर भाडामा ल्याउनुपर्ने बाध्यता थियो,’

गाउँपालिका अध्यक्ष केरुङले भने, ‘त्यो बाध्यता हटाउन गाउँपालिकाले बजेट विनियोजन गरी दुई समूहलाई नौमती बाजाका सामग्री हस्तान्तरण गरेको हो ।’ यसले संस्कृति संरक्षणमा योगदान गर्नुका साथै स्थानीयको आम्दानीको स्रोत समेत बन्ने अपेक्षा रहेको उनले बताए । पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि चुलाचुली गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत दुईवटा समूहलाई नौमती बाजा खरिद गरी वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले बताए ।

नौमती बाजा संरक्षणका लागि चुलाचुली गाउँपालिकाले दुई समूहलाई नौमती बाजाको एकरएक थान बाजा सामग्री वितरण गरिएको हो । एक सेट बाजामा दुईवटा नरसिङ्गा, दुईवटा सहनाई, दुईवटा दमाहा, एउटा ढोलक, एउटा ट्याम्को र एउटा झ्याम्टा रहेको छ । पछिल्लो समय नौमती बाजा लोप हुँदै गइरहेको अवस्थामा बाजा संरक्षणका लागि गाउँपालिकाले थालेको अभियान सराहनीय रहेको दुर्गा मन्दिर समिति अध्यक्ष गङ्गा चापागाईले बताए । ‘पछिल्लो समय चुलाचुलीबाटै लोप हुँदै गइरहेको नौमती बाजा संरक्षणमा स्थानीय सरकारले थालेको अभियान सराहनीय छ,’ उनले भने, ‘यसको प्रवद्र्धनका लागि हामी समुदाय स्तरबाट समेत लाग्नेछौं ।’

नौमती बाजा संरक्षणले संस्कृति संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने सरस्वती किर्तन मण्डलीकी उपाध्यक्ष गङ्गा सुवेदीले बताइन् । ‘हाम्रो गाउँमा कुनै कार्यक्रम हुँदा मँहगो शुल्क तिरेर बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हटेको छ’ उनले भनिन्, ‘बाजालाई सही सदुपयोग गरी यसबाट आम्दानी गर्ने बाटो समेत खुलेको छ ।’ गाउँमा हुने हरेक शुभ कार्जेमा नौमती बाजा बजाउने योजना रहेको उनले बताइन् ।
नौवटा बाजाहरुको सामूहिक बाजा
नौमती बाजा नौवटा बाजाहरुको सामूहिक बाजा हो । यो पञ्चेबाजाको ठूलो रुप हो । जसमा चारवटा अरु बाजाहरु थपिएको हुन्छ । सहनाई र दमाहा दुईदुईवटा हुन्छन् । सहनाई र नरसिंङ्गा (फुकेर), ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को (ठोकेर) तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ जना वाद्यबादक लोक कलाकारहरुले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्य समूहलाई नौमती बाजा भनिएको हो ।

नौमती बाजा शुभ साइतमा बजाइन्छ । विगतमा नौमती बाजा बजाउने कामलाई दलित समुदायले आफ्नो परम्परागत पेशा ठान्थे । विवाह, ब्रतबन्धलगायत गाउँमा हुने सबै सुभकार्जेमा नौमती बाजा बजाउन दलित समुदायबाटै प्रतिनिधित्व हुन्थ्यो । तर, अहिले परम्परागत पेशा दिगो नभएपछि दलित समुदायले नौमती बाजा बजाउन छोडेका छन् । नयाँ बुलन्द

प्रतिक्रिया
सम्बन्धित समाचार