इलाम । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले इलामको जिल्ला अधिवेशन यहि कात्तिक २९ र ३० गते हुँदैछ । एमालेको ११ अधिवेशनका लागि कात्तिक २१ गते एकैपटक प्रतिनिधि छनौटको काम भएको छ । फाकफोकथुम ७, चुलाचुली गाउँपालिका ४ र इलाम नगरपालिका ९ वडामा चुनावबाटै प्रतिनिधि छनौट भए । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ जना गरि ५ जना पदाधिकारी सहित १ सय ५ जनाको जिल्ला कमिटी एमालेको ११ औँ जिल्ला अधिवेशनले चयन गर्नुपर्नेछ । इलामका १० स्थानीय तह, तीन इलाका कमिटी, एक शाखा कमिटी र २१ जनवर्गीय संगठनबाट प्रतिनिधि छनौट भएका छन् ।
अधिवेशनका लागि ५ सय ८३ जना प्रतिनिधि छनौट भएका छन् । जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधि छनौट भइसकेपछि जिल्ला कमिटी, पदाधिकारीका आकाक्षिहरुको चर्चा हुन थालेको छ । इलामको गौतमवुद्धसभा गृहमा संचालन हुने ११ औँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा नरेन्द्र भट्टराई र गणेश बरालबिच भिडन्त प्रायः निश्चित छ । नरेन्द्र भट्टराई इलाम नगरपालिकाको ६ बाट जिल्ला अधिवेशनमा प्रतिनिधि छनौट भएर आएका छन् भने गणेश बराल देउमाई नगरपालिका ४ बाट सर्वसम्वत प्रतिनिधि छनौट भएका छन् ।
यी दुवैजनाबिच कुनै राजनीतिक चमत्कार नभए ११ औँ अधिवेशनमा एमालेको जिल्ला अध्यक्षमा प्रतिस्पर्धा हुनेछ । २०२७ सालबाट पार्टीमा रेडगार्ड सदस्यबाट बामपन्थि राजनीतिमा होमीएका नरेन्द्र भट्टराई अहिले नेकपा एमालेको केन्द्रिय सल्लाहाकार परिषद् सदस्य हुन् । पार्टीको बहुपदमा नहुँदा उनी पार्टीको उप सचिवसम्म भएका थिए ।
भट्टराई नेकपा एमालेको आठौँ अधिवेशनमा जिल्ला अध्यक्षमा उमेद्धवारी दिएका थिए । उनी आठौँ अधिवेशनको पराजयलाई ११ औँ अधिवेशनमा सोहि पदमा बिजयी भइ पार्टीमा काम गर्ने योजनाका साथ प्रतिनिधिसँग छलफलमा छन् ।
अध्यक्ष पदमा उमेद्धवारी दिने योजनाका साथ अर्का एमाले नेता हुन्, गणेश बराल । इलामको देउमाई नगरपालिका ८ स्थायी घर भएका गणेश बराल २०३६ सालबाट बाल रेडगार्ड मार्फत बामपन्थि राजनितिमा लागेका थिए । उनी साविक जीतपूर गाविसका अध्यक्ष पनि हुन् । अहिले नेकपा एमाले अधिवेशन आयोजक समितिका अध्यक्ष रहेका बराल ९ औँ अधिवेशनमा अध्यक्षमा उमेद्धवारी दिएका थिए ।
उनी ९ औँ अधिवेशनको पराजयलाई बिर्साउने योजनाका साथ ११ औँ अधिवेशनमा अध्यक्ष पदमा बिजयी हुने योजनाका साथ प्रतिनिधिसँग छलफल गर्दै आएका छन् । बराललाई २०८१ असार ५ गते भएको प्रदेश कमिटिको बैठकले जिल्ला अध्यक्षमा मनोनित गरेको थियो । बाल रेडगार्ड, विद्यार्थी संगठन, युवासंघका विभिन्न पदमा काम गरेका बरालले २०५५ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएका थिए । उनी जिल्ला कार्यालय सचिव भई काम समेत गरेका छन् । उनी जिल्ला समन्वय समति इलामका पूर्व उप प्रमुख पनि हुन् । अध्यक्ष पदमा डा देवी क्षेत्री दुलालले पनि उमेद्धवारी दिने चर्चा रहेको छ ।