इलाम । प्रदेश एकको प्रमुख पर्यटकीय क्षेत्र इलामको सन्दकपूर जोड्ने सडकको पहिलो खण्ड पनि कालोपत्रेका लागि ठेक्का संझौता भएको छ । इलाम बजार सन्दकपूर पर्यटकीय सडकको पहिलो खण्डको १२ किलोमिटर सडक ३३ करोड रुपैयाँमा प्रदेश एक सरकारले निर्माण कम्पनी छनौट गरि कालोपत्रे गर्न संझौता गरेको हो ।
२०५२ सालमा ट्रयाक खनिएको इलाम बजार सन्दकपूर सडक खण्डको पहिलो खण्ड कालोपत्रेका लागि ठेक्का संझौता भएको छ ।

प्रदेश सासंद खिनु लङ्वाको प्रस्तावमा प्रदेश एक सरकारबाट सडक कालोपत्रेका लागि ठेक्का संझौता गरेको थियो । ठेक्का संझौता भएपछि प्रदेश एक सरकारको पूर्वाधार विकास कार्यालय र ठेकेदार पक्षले सडक निर्माण बारे संयुक्त सर्भे शुरु गरेको पूर्वाधार कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताए । सडकको पहिलो खण्डको सन्दकपूर ३ स्थित सुलुबुङको किबि बस्तिदेखि सन्दकपूर ४ को गुरुङ्गगुम्बासम्म कालापत्रेका ठेक्का संझौता भएको हो । २ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने १२ किलोमिटर सडक कालोपत्रेको काम शुरु भएपछि सन्दकपूरबासी खुसी भएका छन् ।
१२ किलोमिटर सडक कालोपत्रे गर्न पूूर्वाधार विकास कार्यालयमा ३३ करोड ७ लाख ९९ हजार ३ सय रुपैयाँमा श्रेष्ठ संक्षम जेभि काठमाडौँसँग संझौता भएको छ । ५० करोड ११ लाख ९६ हजार लागत स्टामेट रहेको सडक कालोपत्रे गर्ने काम ३४ प्रतिशत बिलोमा ठेक्का संझौता भएको छ । सडक कालोपत्रेपछि कृषि उपज ढुवानी र प्रदेश एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपूर यात्रामा जाने पर्यटकलाई सहज हुने प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् ।
इलाम बजार सन्दकपूर पर्यटकीय सडकको दोस्रो खण्डको साढे १२ किलोमिटर सडक कालोपत्रेको काम पनि प्रदेश एक सरकारबाटै हुँदै आएको छ । २ वर्ष अघि निर्माणको संझौता भएको सडकको प्रगति अहिले ३० प्रतिशत छ ।
पर्यटकीय गन्तव्य सन्दकपूर पुग्ने सडक कालोपत्रे भएपछि नेपालबाट बिदेशी पर्यटक आवगमनमा वृद्धि भई स्थानीयको आयस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।