Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सिटौला र लिङ्देन दुवै उठ्दा झापा ३ मा कसले मार्ला बाजी ?

सिटौला र लिङ्देन दुवै उठ्दा झापा ३ मा कसले मार्ला बाजी ?

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक ११ २०७४


सिटौला र लिङ्देन दुवै उठ्दा झापा ३ मा कसले मार्ला बाजी ?

झापा :  नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देन दुवै आकांक्षी भएको झापा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभातर्फको निर्वाचन रोचक र प्रतिष्पर्धी देखिएको छ। दुई गाउँपालिकाको सबै र दुई नगरपालिकाको केही वडा समेटिएको यस निर्वाचन क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी मत भने एमालेले ल्याएको थियो। झापा क्षेत्र नम्बर तीनमा सात वड रहेको कचनकवल र ५ वडा रहेको हल्दीवारी गाउँपालिका प्रमुखमा राप्रपाले अध्यक्ष जितेको थियो।

७ वडा रहेको बाह्रदसी गाउँपालिकामा कांग्रेसले जितेको थियो। भद्रपुर र बिर्तामोड नगारपालिकामा भने एमालेले जितेको थियो। भद्रपुर नगरपालिकाको १० मध्ये आठ वटा वडा र बिर्तामोडको एउटा वडा तीन नम्बर क्षेत्रमा पर्छ। २८ वटा वडा रहेको तीन नम्बर क्षेत्रमा एमालेले स्थानीय तहमा १४, कांग्रेसले ७, राप्रपाले ४ र माओवादी केन्द्रले ३ वटा वडामा विय हासिल गरेको थियो। यो क्षेत्रमा गत स्थानीय तहमा एमालेका वडा अध्यक्षहरुले प्राप्त गरेको मत जोड्दा सबैभन्दा बढी देखिन्छ। यो क्षेत्रमा एमालेले गत स्थानीय तहमा २० हजार दुई सय ९६ मत पाएको थियो। कांग्रेसले यो क्षेत्रबाट १८ हजार दुई सय ६० मत, राप्रपाले १२ हजार आठ सय ८१ मत र माओवादी केन्द्रले १० हजार चार सय ४४ मत पाएको थियो। फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले भने क्रमश एक हजार ४७ र नौ सय ४८ मत पाएको थियो। फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भइसकेको छ। कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा १९ हजार तीन सय सात मत देखिन्छ। कांग्रेस र राप्रपाबीच तालमेल हुँदा दुवैको मत ३२ हजार एक सय ८८ पुग्छ। एमाले र माओवादी केन्द्रको मत जोड्ने हो भने ३० हजार ७ सय ४० मत हुन आउँछ। २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवारले जितेको सो क्षेत्रबाट २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला विजयी भएका थिए।

आगामी निर्वाचनमा आफूले उम्मेदवार बनेर चुनाव जित्ने दाबी कांग्रेस पूर्वमहामन्त्री सिटौलाले गरिरहेको बेला लोकतान्त्रिक गठबन्धन गर्न सहमत राप्रपाले पार्टी महामन्त्री राजेन्द्र लिङ्देन नै उम्मेदवार बन्नुपर्ने अडान राखिरहेको छ। सिटौला र लिङ्देन दुवै प्रतिस्पर्धामा उत्रिए भने एमाले माओवादी गठबन्धनका उम्मेदवार बलियो बन्नेछन्। सिटौलाको सम्भावना र चुनाौती एमाले माओवादी गठबन्धनबाट बन्ने उम्मेदवारसँग टक्कर लिन कांग्रेस महामन्त्री सिटौलाले राप्रपा वा वाम गठबन्धन दल समर्थित मत तान्न सक्नुपर्छ। माओवादी वा एमालेको करिव चार हजार मत र राप्रपा वा संघीय समाजवादीको केही मत आफ्नो पक्षमा पार्न सक्नुपर्छ। संघीय समाजवादी फोरमले समर्थन गरे पनि सिटौलालाई चुनाव जित्न सहज छैन्। माओवादीको तुलनामा एमालेको मत दोब्बर भएकोले यस क्षेत्रबाट माओवादीले प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएमा एमालेका असन्तुष्ट मत तान्ने पक्षमा सिटौला लागेका छन्। राप्रपासँग तालमेल गर्दा सिटौलालाई चुनाव जित्न केही सहज हुने देखिए पनि एक्लै प्रतिस्पर्धामा उत्रदा भने धेरै मिहनेत गर्नुपर्ने देखिन्छ। राजनीतिक दलमा छोड्ने र प्रवेश गर्ने क्रम यो क्षेत्रमा चलिरहेको छ। गत स्थानीय तहमा हल्दिवारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएका तुलसीप्रसाद ओली कांग्रेसमा प्रवेश गरिसकेका छन्।

ओलीसँगै माओवादीका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि सिटौलाले केही राहत महसुस गरेका छन्। झापाको सबैभन्दा पछि परेको यस क्षेत्रको विकासको गति केही बढेको छ। यसको श्रेय कांग्रेस पूर्वमहामन्त्री सिटौला र राप्रपा महामन्त्री लिङ्देन दुवैले लिँदै आएका छन्। तराईरमधेसको लाइफलाइनको रुपमा रहेको हुलाकी राजमार्ग २०७० को संविधानसभा निर्वाचन पछि निर्माण भएको जस कांग्रेस महामन्त्री सिटौलाले लिने गरेका छन्। तर राप्रपा महामन्त्री लिङदेन राप्रपा सरकारमा हुँदा स्थानीय विकास मन्त्रालयको जिम्मेवारीमा रहेका बेला यो सडक निर्माणमा प्रमुख भूमिका निर्वाह गरेको दाबी गर्छन्। हुलाकी राजमार्ग २०६७ सालमा भारत सरकारलाई निमार्णको जिम्मा दिएसँगै काम अघि बढेका थिएन। तर गतबर्ष पूर्व पश्चिम लोकमार्गको चारआलीदेखि झापा सदरमुकाम भद्रपुर हुँदै ऐतिहासिकस्थल केचनासम्म हुलाकी बाटोको निर्माण हाल हाल द्रुत गतिमा भइरहेको छ। हुलाकी राजमार्ग अन्तरगत नैं भद्रपुर – राजगढ सडक निर्माण भइरहेको छ।

संसदीय निर्वाचनमा सबैभन्दा वढी प्रतिस्पर्धा गरेका सिटौलाले २०४८ को आमनिर्वाचन, २०५० को ९तत्कालिन झापा १० उपनिर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभा निर्वाचन र २०७० को संविधानसभाको दोश्रो निर्वाचनमा सिटौला झापाको पूर्व दक्षिण भाग ९हाल क्षेत्र नम्वर ३० बाट निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएका छन्। सिटौलाले यसै क्षेत्रबाट २०५०, २०५६, २०७० को निर्वाचनमा जित हासिल गरेका थिए। पूर्वउपप्रधानमन्त्री सिटौलाको गृहनगर भद्रपुर नै हो। (थाहा खबर)

प्रतिक्रिया
सम्बन्धित समाचार