कन्याम । आन्तरिक तथा वाह्य पर्यटकको चाप रहने इलामको पाथिभरा, कन्याम र फिक्कल सडक खण्ड फराकिलो बनाइएको छ । पर्यटकको आवतजावत बढी हुने क्षेत्रमा सवारी चाप बढी भएपछि सडक डिभिजन इलामबाट मेची राजमार्गको सडक खण्ड चौडा गर्ने काम भएको हो ।

आन्तरिक पर्यटकको बढी चहलपहल हुने कन्याम, पाथिभरा, फिक्कल सडक खण्ड चौडा गरिएको छ । पर्यटक बोकेर आएका सवारीसाधनको चापले ट्राफिक व्यवस्थापनमा समस्या भएपछि मेचीराजमार्गको कुटिडाँडा फिक्कल सडक खण्ड चौडा गरिएको सडक डिभिजन इलामका प्रमुख अभिवन मुल्मीले बताए ।

वर्षभरि नै पर्यटकको चाप रहने रोङ गाउँपालिकाको कुटिडाँडादेखि सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कलसम्म सडक बिस्तार गरिएको हो । २ वर्ष अघिबाट सडक डिभिजन इलामले राजमार्गलाई आठ मिटरको सडक चौडा गरिनुका साथै पर्यटकका लागि फुटटे«ल निर्माण भए ट्राफिक व्यवस्थापन सहज भएको रोङ गाउँपालिका पाथिभरा क्षेत्र विकास समितिका सचिव दिलिप राईले बताए ।

सूयोदय नगरपालिकाले राजमार्गको दायाबाया साढे सात मिटरका संरचना हटाएपछि सडक डिभिजन इलामले २०७६ असारबाट सडक विस्तार काम शुरु गरेको थियो । कन्याम, पालटाङ्गे, फिक्कल, हर्कटे बजार विस्तार र कुटिडाँडा क्षेत्र विस्तारका लागि २ वटा ठेक्का संझौता भएका थिए ।

हर्कटेदेखि फिक्कल बजार विस्तारका लागि ४ करोड ४५ लाखमा ठेक्का संझौता भएको थियो । सो ठेक्काबाट कटिङ्ग, रेटेनिङ्ग वाल, कालोपत्रे र फुटपात निर्माण गरिएको छ । सो खण्डमा थप काम गर्नका लागि १४ प्रतिशत भेरिएसन गरिएको सडक डिभिजन इलामका इञ्जिनियर तेजनारायण साहाले बताए ।

धार्मिक भक्तजनको भिड हुने पाथिभरा कुटिडाँडा र कन्याम चिया बगान खण्ड विस्तारका लागि सडक डिभिजनबाट २ करोड ३३ लाखमा ठेक्का सम्झौता भएको थियो । सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले नयाँ वर्ष २०७८ मा कन्याम फिक्क खण्ड फराकिलो र सुन्दर हुने सूर्योदय नगरप्रमुख रणबहादूर राईले बताए ।

घुम्नैपर्ने पर्यटकीयस्थलमा घोषित यी क्षेत्रको सडक विस्तारले यात्रुसँगै पर्यटकहरुलाई पैदल यात्रमा सहज भएको छ । दुवै ठेक्काको काम अहिले ९० प्रतिशत सकिएको छ ।