पशुपतिनगर। २००५९ सालमा रोजगारीका लागि साउदी अरेबिया पुगेका इलामको सन्दकपुर गाउँपालिका २ का वडाध्यक्ष गिरिराज खनाल घर फर्किएर कृषि कर्मबाट मनग्ये आम्दानी गरेका छन् । व्यवसायीक रुपमा फलफुलको नर्सरी राखेपछि खनालको आम्दानी बढेको मात्रै छैन गाउँका युवालाई रोजगारीको अवसर पनि दिएका छन् । बिदेशमा गरिने मेहनतबाट देशमै गरे कृषि क्षेत्रबाट रोजगारी सिर्जना हुने देखेर घर फर्किएका खनालले शुरुमा बाख्रा पालनबाट आफ्नो कृषि कर्मको शुरुवात गरेका थिए ।
सामाजिक सेवामा सक्रिय भएर बाख्रा र कुखुरा पालन गर्दै आएका खनाल वडाध्यक्षमा निर्वाचित भएपछि फलफुल र नगदेवालीको बिरुवा उत्पादन शुरु गरे ।
‘वडाध्यक्षमा निर्वाचित भएपछि बाख्रा र कुखुरा पालन गर्न नभ्याउने भएपछि आफ्नो व्यवसायलाई परिवर्तन गरे–खनाल भन्छन्–‘अहिले फलफुल र नगदेवालीको बिरुवा बिक्रिबाट राम्रो आम्दानी भएको छ ।’
सन्दकपुर २ का वडाध्यक्ष रहेका गिरिराज खनालले वैदेशिक रोजगारीबाट फर्केर गरेको आम्दानी देखेर स्थानीय युवापनि कृषि कर्ममा सक्रिय हुन थालेका छन् । २०५९ सालमा रोजगारीमा घरबाट निस्किएका खनाल साउदी अरेबिया पुगेका थिए । वैदेशिक रोजगारीका क्रममा कृषि फर्ममा नै काम गर्ने अवसर पाएपछि खनालले देशमै केहि गर्न सकिने बुझेर घर फर्किएको बताएँछन् । ‘बिदेशमा पनि घरमा दैनिक जसो गरिएका क्षेत्रहरुमा नै रोजगारीका अवसरहरु प्राप्त हुँदा रैछन्–खनाल भन्छन्–‘ हामीले बिदेशमा बसेर दिनको १० घण्टा नेपालमै काम गरेमा देशमै रोजगारीका अवसरसँगै आम्दानी मनग्ये आम्दानी गरिने रैछ ।’ खनालले आफु स्वरोजगारसँगै गाउँका युवाहरुलाई रोजगारीका अवसरहरु पनि दिएका छन् । बिदेशमा गरिने मेहनत देशमै गरे कृषि क्षेत्रबाट रोजगारी सिर्जना हुने देखेर घर फर्किएका खनालल अहिले हरेक वर्ष २० लाख बढी आम्दानी गर्दै आएका छन् ।
कुखुरा र बाख्रा पालन गर्दा गर्दै स्थानीय तहमा वडाध्यक्षको टिकट मिल्यो, चुनाव पनि जितियो उनी भन्छन्–‘बिदेशमा बस्दा फलफुल र तरकारी खेतीमै काम गरेको अनुभवले गर्दा फलफुल र नगदेवालीको नर्सरी स्थापना गरि आफ्नो कृषि कर्मलाई निरन्तरता दिएको छु । बिहान बेलुकी आफै नर्सरीमा खट्ने खनालले ५ जना स्थानीय युवालाई रोजगारी दिएका छन् ।
किबि, टिम्बुर, एबोकाडो, अलैची, कागती, सुन्तोला प्रजातिका बिरुवा उत्पादन हुने नर्सरीबाट आम्दानी सँगै रोजगारी पाएको स्थानीय चन्द्र खतिवडाले बताए । रोजगारीसँगै कृषि क्षेत्रमा गर्नुपर्ने प्राविधिक ज्ञान पनि प्राप्त भएको छ, खतिवडा भन्छन्–‘शुरुमा नर्सरीमा किन नङ खियाउनु जस्तो लाग्थ्यो अहिले गर्दै जाँदा आम्दानीका श्रोतसँगै आफ्नो बारीमा किबि खेती रोपण गरी आम्दानी गर्न थालेका छौँ ।’ पूर्वी नेपालका पहाडी जिल्लामा व्यवसायीक रुपमा खेती हुने अलैचीको बिरुवा खनालको नर्सरीबाट बार्षिक १० लाखको संख्यामा बिक्रि हुन्छ ।
सरकारले सन्दकपुर गाउँपालिकालाई किबि जोन बनाएपछि उनको नर्सरीमा किबीका बिरुवाको माग बढी छ । कागती, अचार खाने टिम्बुर सुन्तलाका बिरुवा बिरुवा १० लाखको संख्यामा बार्षिक बिक्रि हुने गरेको छ । सन्दकपुर २ को वडाध्यक्ष रहेका खनालको नर्सरीको आम्दानी देखेर स्थानीयलाई पनि कृषि तथा पशुपालन क्षेत्रमा काम गर्ने प्रेरणा मिलेको स्थानीय बताउँछन् । हरेक वर्ष ३० लाख बिरुवा बिक्रि गर्ने खनालको नर्सरी तीन वटा टनेलमा राखिएको छ । एक टनेलबाट खर्च कटाएर ७ लाख आम्दानी हुने गरेको छ ।