ताप्लेजुङ । मध्यपहाडी लोकमार्गको सुरुवाती बिन्दु पाँचथरस्थित चिवाभन्ज्याङ भारतको सिक्किमसँग सडकमार्फत जोडिएको छ । चिवाभन्ज्याङमा नेपालले नौ वर्षअघि नै ट्र्याक खोलेको थियो ।
नेपालको पाँचथर याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङसम्म भारतको सिक्किमबाट जोडिएको सडक । भारतको सिक्किमसँग नेपाल जोडिएको यो पहिलो सडक पनि हो ।
भारतले भने बल्ल मध्यपहाडी लोकमार्गको सुरुवाती बिन्दुसम्मै ट्र्याक जोडेको हो ।पाँच महिनाअघि चिवाभन्ज्याङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गर्दा सिक्किमतर्फको सडक करिब २५ किलोमिटर तल सोक्पाखामा थियो । यो ठाउँबाट चिवाभन्ज्याङ पुग्न सात घण्टा हिँड्नुपर्थ्यो ।
नेपालले बीओपीमा खटिएका सुरक्षाकर्मीका लागि खाद्यान्नलगायत सामग्री गाडीबाटै लैजाँदा सीमा क्षेत्रमा खटिएका भारतीय एसएसबी बोकेरै ढुवानी गर्दै आएका थिए । सिक्किमसँग सडक सञ्जालले जोडिएपछि सहज भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए ।
सिमानामा दुवैतर्फ सुरक्षा बल भएकाले भन्सार राखेर नाका खोल्न स्थानीय तहको माग छ । ‘नेपालको पनि बीओपी बसिसकेको छ । बीओपीका लागि सुविधायुक्त भवन निर्माणको ठेक्का खुलेको छ,’ याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले भने, ‘भारतको सुरक्षा पोस्ट त वर्षौंदेखि छ । नाका खोल्न गाउँपालिकाबाट सरकारलाई तत्काल अनुरोध पत्र पठाउँछु ।’ नाका खुले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने उनले बताए ।