इलामः पूर्वी नेपालमा भईरहेको लिम्बुवान आन्दोलन लिम्बूहरुको मात्र नभई ऐतिहासिक लिम्बुवानवासी जनताको साझा मुद्दा भएको इलाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
लिम्बू विद्यार्थी मञ्च इलामले १८३१ को लालमोहर सन्धीको स्मरणमा आयोजना गरको कार्यपत्र प्रस्तुत तथा साहित्य वाचन कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले लिम्बुवान लिम्बुहरुको मात्र मुद्दा नभई साझा भएको बुझिदिन आग्रह गर्दै वर्तमानमा ऐतिहासिक लिम्बुवानको सीमानाभित्र बस्ने सबै समुदायको सामाजिक सांकृतिक आर्थिक जीवनको पहिचान भएकोले यसलाई राज्यले सम्मान गर्न आग्रह गरे ।
लिम्बू विद्यार्थी मञ्चका पूर्व अध्यक्ष अबोध अबिरलले ‘विस १८३१ को गोरखा लिम्बुवान लालमोहर सन्धी र लिम्बुवान आन्दोलन’ विषयक कार्यत्रप प्रस्तुत गरेको कार्यक्रममा राष्ट्रियताका लागि लिम्बुवानको मुद्दालाई सम्बोधन गरे मात्र दिगो शान्ति संस्थागत विकास हुने बताए । उनले लिम्बुवान आन्दोलन २५० वर्षदेखि चलिरहेको भन्दै अधिकार प्राप्त नभएसम्म निरन्तर चलिरहने बताए ।
नेपाल एकिकरणका क्रममा पृथ्वीनारायण शाहले पूर्वी नेपालमा रहेको तत्कालिन लिम्बुवानसँग युद्धमा विजयी हासिल गर्न नसकेपछि १८३१ साउन २२ गते लालमोहर प्रदान गरी नेपालमा गाभेका थिए । यसलाई तत्कालिन लिम्बुवान र गोर्खा राज्यबीच भएको नुनपानी सन्धी भनेर चिनिन्छ ।
लालमोहरमा लिम्बुवानबासीलाई भूमि, प्राकृतिक श्रोत र सधान तथा प्रशासनिक अधिकार दिइएको थियो । तर २०२१ को भूमिसुधार एन जारी भएपछि सबै अधिकार खोखिएको भन्दै पुन लिम्बुवान आन्दोलन भइरहेको छ ।
लेखक साहित्यकार उपेन्द्र सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इतिहासकार युद्धप्रसाद बैद्य, नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष चक्र येक्तेन (अभिषेक), जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकर, प्राध्यापक अरुण नेपाल लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी सुब्बा सहित साहित्यकार विमल वैद्य, प्रकाश थाम्सुहाङ, याम नुनाम, रुद्र अनमोल, संगीता थामी, फरक आयामका अभियन्ता जीतेन पन्धाक, महेन्द्र विरही, केवी तुम्बापो, निर्मल दियाली, पाँचथरका स्रष्टा मधु आजित केरुङ लगायतले सृजना वाचन समेत गरेका थिए ।
कार्यक्रम लिम्बू विद्यार्थी मञ्च इलामका अध्यक्ष शिव थेगिमको अध्यक्षता र सचिव अतित योङहाङको सञ्चालनमा भएको थियो ।