सन्दकपुर । प्रदेश नम्बर एकको प्रमुख पर्यटकीयस्थल सन्दकपुरमा शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाएका छन् । इलामको पर्यटकीय क्षेत्र, सन्दकपुर, कालपोखरी, जौबारी लगायतका क्षेत्रमा शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाएका हुन् ।

हिमाली भेगमा बसोवास गर्ने शेर्पा समुदायले नयाँ वर्षको रुपमा ग्याल्बो ल्होसार मनाउँदै आएका छन् । शेर्पा समुदायले यस वर्ष २१४७औं ग्याल्बो ल्होसार मनाउँदैछन् ।

ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन समेत छ । शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन् ।

शेर्पा समुदायले बुद्ध धर्ममा विश्वास राख्ने हुनाले पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्, जसलाई लामा ‘ल्होसार’ भनिन्छ ।

दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ ।

तेस्रो दिन उनीहरू बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपालको पूजा गर्छन् जसलाई ‘धर्मपाल ल्होसार’ भनिन्छ ।