Local Sandesh बिहिबार, साउन २८ २०८३
  • ट्रेण्डिङ :

वृद्धाश्रममा पिताको निधन : आएनन् छोरीहरू, भने– ‘दाहसंस्कारको भिडियो पठाउनू’

वृद्धाश्रममा पिताको निधन : आएनन् छोरीहरू, भने– ‘दाहसंस्कारको भिडियो पठाउनू’

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन २४ २०८३


वृद्धाश्रममा पिताको निधन : आएनन् छोरीहरू, भने– ‘दाहसंस्कारको भिडियो पठाउनू’

भारतको हरियाणास्थित सोनीपतमा एक वृद्धको निधनपछि परिवारका कुनै पनि सदस्य अन्तिम संस्कारमा उपस्थित नभएको घटनाले धेरैलाई भावुक बनाएको छ। सफल व्यवसायीका रूपमा जीवन बिताएका शिवचरण रतन गुप्ताले जीवनको अन्तिम समय वृद्धाश्रममा बिताएका थिए। उनको निधनपछि आफूलाई हेरचाह गर्दै आएका वृद्धाश्रमका कर्मचारीहरूले नै अन्तिम संस्कार गरेका हुन्।

शिवचरणका तीन छोरी भारतका विभिन्न स्थान तथा विदेशमा बस्दै आएका छन्। तर, बुबाको निधनपछि उनीहरू अन्तिम संस्कारका लागि सोनीपत पुगेनन्। बरु उनीहरूले भिडियो कलमार्फत दाहसंस्कार हेरेका थिए र पछि त्यसको भिडियो पठाइदिन आग्रह गरेका थिए। घटनाले सामाजिक सञ्जालमा वृद्धावस्थाको एक्लोपन, पारिवारिक सम्बन्ध र बदलिँदो सामाजिक जीवनबारे व्यापक बहससमेत निम्त्याएको छ।
सफल जीवन, तर अन्त्यमा एक्लोपन
शिवचरण गुप्ता सधैँ एक्लो थिएनन्। उनी महाराष्ट्रमा परिचित कपडा व्यापारीका रूपमा स्थापित थिए। परिवारको भविष्य सुरक्षित बनाउन उनले जीवनभर मेहनत गरेका थिए। वृद्धाश्रमका अनुसार उनले आफ्नो बचतको ठूलो हिस्सा तीन छोरीको शिक्षा र उनीहरूलाई आत्मनिर्भर बनाउन खर्च गरेका थिए। उनकी जेठी छोरी अनिता हाल नेपालमा शिक्षिकाका रूपमा कार्यरत रहेको बताइएको छ।

माइली छोरी निशा उत्तर प्रदेशको आजमगढमा सरकारी विद्यालयकी शिक्षिका हुन् भने कान्छी छोरी प्रिया मुम्बईमा बस्दै आएकी छन्। करिब १८ महिनाअघि शिवचरण र उनकी श्रीमती मीना गुप्ता सोनीपतस्थित वृद्धाश्रममा आएका थिए। पछि श्रीमती मीनाको निधन भएपछि शिवचरण त्यहीँ एक्लै बस्दै आएका थिए।
छोरीहरूको फोनको प्रतीक्षामा थिए शिवचरण
वृद्धाश्रमका व्यवस्थापक आनन्दका अनुसार शिवचरण आफ्नो मोबाइल फोन सधैँ नजिकै राख्थे। छोरीहरूसँग सम्पर्क गर्ने मुख्य माध्यम नै मोबाइल भएकाले उनी फोनको प्रतीक्षामा रहन्थे। तर, स्वास्थ्य अवस्था कमजोर हुँदै गएसँगै छोरीहरूसँग हुने फोन सम्पर्क पनि क्रमशः कम हुँदै गएको वृद्धाश्रमका कर्मचारीले बताएका छन्। शिवचरणको स्वास्थ्य अवस्था गम्भीर भएपछि वृद्धाश्रमले उनका तीनै छोरीलाई सम्पर्क गरी बुबालाई भेट्न आउन आग्रह गरेको थियो।

वृद्धाश्रमका व्यवस्थापक आनन्दका अनुसार तीनै छोरीले आफू आउन नसक्ने जानकारी गराएका थिए। उनीहरूले फरक–फरक कारण देखाउँदै तत्काल आउन असमर्थता जनाएका थिए। शिवचरणको राति निधन भएपछि वृद्धाश्रमले पुनः परिवारलाई खबर गरेको थियो। छोरीहरूलाई अन्तिम संस्कारमा सहभागी हुन समय मिलोस् भनेर शव केही समय सुरक्षित राख्नेसमेत प्रस्ताव गरिएको थियो। तर, परिवारले त्यसका लागि पनि सहमति नदिएको वृद्धाश्रमको भनाइ छ।
वृद्धाश्रमका कर्मचारीले नै गरे अन्तिम संस्कार
परिवारका कुनै सदस्य नआएपछि शिवचरणको अन्तिम संस्कार गर्ने जिम्मेवारी उनकै हेरचाह गर्दै आएका वृद्धाश्रमका कर्मचारीमाथि आइप¥यो। कर्मचारीहरूले नै उनको अन्तिम संस्कार गरेका थिए। तीमध्ये एक छोरीले अन्तिम संस्कारको खर्चका लागि अनलाइनमार्फत ५ हजार १०० भारतीय रुपैयाँ पठाएको बताइएको छ। सुरुमा परिवारले शिवचरणको अस्थि सुरक्षित राखिदिन आग्रह गरेको थियो, ताकि पछि आएर उनीहरूले लैजान सकून्। तर पछि उनीहरू आउन नसक्ने जानकारी गराउँदै अस्थि आफूहरूको तर्फबाट गंगामा विसर्जन गरिदिन वृद्धाश्रमलाई आग्रह गरेको बताइएको छ।
‘दाहसंस्कारको भिडियो पठाउनू’
शिवचरणको अन्तिम संस्कारका क्रममा एक छोरी र वृद्धाश्रमका कर्मचारीबीच भएको कुराकानीको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ। भिडियोमा छोरीले दाहसंस्कारको प्रक्रिया ठीकसँग भइरहेको छ कि छैन भनेर सोधेको सुनिन्छ। त्यसपछि उनले दाहसंस्कारको भिडियो पठाइदिन आग्रह गर्छिन्। उनले दाहसंस्कार सकिन अझै कति समय लाग्छ भनेर समेत सोधेको बताइएको छ।

जवाफमा वृद्धाश्रमका कर्मचारीले अझै करिब १० देखि १५ मिनेट लाग्ने बताएका थिए।  भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा घटनाप्रति दुःख व्यक्त गर्नेहरूको संख्या बढेको छ। धेरैले वृद्धावस्थामा आमाबुबालाई आर्थिक सहयोगसँगै भावनात्मक साथ र उपस्थितिको पनि उत्तिकै आवश्यकता हुने बताएका छन्।
एउटा परिवारको घटनाभन्दा ठूलो सामाजिक प्रश्न
वृद्धाश्रमका कर्मचारीका लागि शिवचरण केवल एक वृद्धाश्रमका सदस्य मात्र थिएनन्। श्रीमती गुमाएपछि उनको दैनिक हेरचाह गर्ने क्रममा कर्मचारीहरू उनीसँग भावनात्मक रूपमा नजिक भएका थिए। उनको अन्तिम समयमा आफन्तको उपस्थिति नभए पनि वृद्धाश्रमका कर्मचारीहरू भने उनीसँगै थिए। अन्तिम साससम्म उनीहरूको साथ पाएपछि कर्मचारीहरूले नै उनलाई अन्तिम बिदाइ दिएका थिए। यस घटनाले वृद्धावस्थामा परिवारबाट टाढा बस्नुपर्ने बाध्यता, एक्लोपन र बदलिँदो पारिवारिक सम्बन्धबारे गम्भीर प्रश्न उठाएको छ।

आधुनिक जीवनशैली, रोजगारी, करिअर र भौगोलिक दूरीका कारण परिवारका सदस्यहरूबीच दूरी बढ्दै गएको अवस्थामा वृद्ध आमाबुबाका लागि आर्थिक सुरक्षासँगै माया, समय, संवाद र भावनात्मक साथ पनि उत्तिकै महत्वपूर्ण हुने यस घटनाले देखाएको छ। वृद्धाश्रमका कर्मचारीहरूले पनि परिवारहरूले आफ्ना आमाबुबालाई शिक्षा र करिअरका लागि अवसर दिनुका साथै वृद्धावस्थामा उनीहरूसँग भावनात्मक रूपमा जोडिइरहनुपर्ने सन्देश यस घटनाले दिन्छ भन्ने बताएका छन्। शिवचरण गुप्ताको जीवनको अन्तिम क्षणमा उनका आफन्तहरू साथमा थिएनन्। तर, उनलाई अन्तिम समयसम्म हेरचाह गर्ने वृद्धाश्रमका कर्मचारीहरू नै उनका परिवारजस्तै बने र अन्तिम साससम्म उनको साथमा रहे।

प्रतिक्रिया
सम्बन्धित समाचार