पशुपतिनगर । इलामका पर्यटकीयस्थलहरुको प्रचारप्रसार र प्रवद्र्धनका लागि सन्दकपुरका पर्यटन व्यवसायी सक्रिय भएका छन् । इलामको पर्यटकीय क्षेत्र सन्दकपुर डाँडा र कालपोखरी क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आएका व्यवसायीहरुले इलामका पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्ने पशुपतिनगरबाट सन्दकपुर डाँडासम्म बाइक र्याली शुरु गरेका छन् । सन्दकपुर स्कट नामक संस्था निर्माण गरि पर्यटन व्यवसायीहरुले भारतीय पर्यटक भित्र्याउन बाइक र्यालीको आयोजना गरेका हुन् ।
बाइक र्यालीमा नेपाली पर्यटन व्यवसायीसँगै भारतीय बाइक राइडर र कन्टेन्ट क्रिएटरहरुको सहभागिता रहेको छ । ६ वटा बाइक राइडर सहित २० जना पर्यटन व्यवसायी सहभागि रहेको बाइक र्याली तीन दिनसम्म संचालन हुने आयोजक संस्थाका मिङ्युर सेर्पाले बताए ।
नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट शुरु भएको बाइक र्याली पर्यटकीयस्थल बुद्धपार्क, कन्याम, अन्तु, रामसार क्षेत्र माईपोखरी हुँदै सन्दकपुरसम्म पुगेर टुङ्गीने आयोजक संस्थाका पेम्बा छिरिङ शेर्पाले बताए । नेपाल भारत सीमा क्षेत्रमा पर्ने कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर भारतीय सडक हुँदै बढी पर्यटकहरु पुग्ने गरेकाले नेपाली सडक भएर अन्य पर्यटकीय गन्तव्य घुमाउँदै पर्यटक पुर्याउने उदेश्यले बाइक र्यालीको आयोजना गरिएको कालपोखरीका पर्यटन व्यवसायी कर्मा शेर्पाले बताए । आजबाट शुरु भएको बाइक र्याली पशुपतिगनरबाट बुद्धपार्क, फिक्कल, कन्याम, अन्तु हुँदै इलाम पुगेर बिसाउने र भोली इलामका पर्यटकीय गन्तव्य घुमेर सन्दकपुर तर्फ लाग्ने योजना रहेको छ ।
बाइक र्यालीको उद्घाटन सत्रमा पर्यटन कार्यालय काँकरभिट्टा झापाका कार्यालय प्रमुख छविलाल खतिवडा, केचना कंचनजंघा पर्यटन विकास समितिका निर्वतमान संचालक समिति सदस्य सुजन तिमसिना लगायतले स्वागत गरेका थिए । पशुपतिगनर नाका हुँदै पूर्वी इलामका पर्यटकीय गन्तव्य घुमेर सन्दकपुरसम्म पर्यटक पुर्याउने लक्ष्य रहेको बाइक र्यालीमा पर्यटक कार्यालय काँकरभिट्टाले पनि सहयोग गर्ने प्रमुख खतिवडाले जानकारी दिए । उनले भने–‘आगामि आर्थिक वर्षको बजेटमा समेत यो कार्यक्रम समेट्ने प्रयत्न रहनेछ ।’