इलाम । सरकारले बाढीपहिरो प्रभावित इलाम जिल्लाको सन्दकपुर गाउँपालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट बढी प्रभावित सन्दकपुर गाउँपालिकालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव राउतले बताए । विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमा पुनः स्थापना, पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तीव्रता दिने गरिन्छ । त्यसका लागि खरिद प्रक्रिया पनि सरल हुन्छ ।
