इलाम । इलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) स्थापनाको प्रयास तिव्र रुपमा अघि बढिरहेको छ । इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले इलाममा मेडिकल कलेज स्थापनाको प्रयास अघि बढाएका हुन् । गत साउनमा नगर प्रमुख केदार थापाको नेतृत्वमा काठमाण्डौ गएको जनप्रतिनिधिहरुको टोलीले इलामबाट प्रतिनिधित्व गरेका पुर्व प्रधानमन्त्री झलनाथ खनाल, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ कुलबहादुर (केबी) गुरुङ लगायतसंग मेडिकल कलेजको बारेमा छलफल गरेको थियो ।
छलफलमा सहभागीहरुले समेत सकारात्मक प्रतिक्रिया दिएका थिए । पुर्वी पहाडमा स्वास्थ्यको दृष्टिकोणले इलाम महत्वपुर्ण मानिदै आएको छ । पाँचथर र ताप्लेजुङबाट स्वास्थ्य सेवाका लागि इलाम आउनेको संख्यामा समेत उल्लेख्य छ । सविकको मेची अञ्चलको केन्द्रमा रहेको र राजनीतिक, सामाजिक, भौगोलिक, वातावरणीय लगायतका थुप्रै अवसरहरु तथा पूर्वी भारतका दार्जिलिङ, सिक्कीम लगायतका क्षेत्रका बासिन्दाहरुको लागि समेत पहुँच भएको छ ।
मेचीका ४ वटा जिल्ला र तेह्रथुमको पूर्वी भेग समेत गरी करिव १० लाख भन्दा बढी जनसंख्यालाई सेवा पुर्याउन सक्ने संभावना बोकेको क्षेत्र इलाम भएकाले मेडिकल कलेज स्थापना हुनुपर्ने इलाम नगर प्रमुख केदार थापा बताउँछन् । इलाम नगरपालिका–७ मा रहेको इलाम अस्पताललाई स्तरोन्नती गर्दै मेडिकल कलेज बनाउने तयार भएको हो । स्वास्थ्य सेवाको हिसाबले इलाममा बि.सं. १९८७ मा तीन कोठे कच्चीभवनमा डिस्पेन्सरी स्थापना र सञ्चालन भएको देखिन्छ ।
बि.सं. १९९४ मा अस्पतालको मान्यता पाएपछि आर्थिक बर्ष २००४/०५ मा डाक्टरहरुबाट सेवा सुरु गरेको देखिन्छ । बि. सं. २०२९ सालमा भारत सरकारको सहयोगमा नेपाल भारत मैत्री भवन निर्माण इलाममा १५ शैय्याको अस्पताल स्तरोन्नती भएको छ । स्वास्थ्य सेवालाई सबल बनाउन २०४४ मा इलाम अस्पताल विकास तथा सहयोग समिति गठन भएको थियो । सरकारले २०७२ सालमा तत्कालिन जिल्ला अस्पताल इलामलाई ५० शैय्यामा स्तरोन्नती गरेको थियो । मेडिकल कलेज बनाउने प्रयासमा अघि बढेको इलाम अस्पतालसंग हाल इलाम नगरपालिका–७ मा ३२ रोपनी जमिन रहेको छ ।
इलाम समृद्धिको योजना सहित जनप्रतिनिधि काठमाण्डौमा
हाल इलाम अस्पतालबाट ओपीडी, रेडियोलोजी, स्वास्थ्य प्रयोगशाला, इमरजेन्सी, इन्टर्नल, एआरटी, डाइलोसिस, मेटरनीटी, फार्मेसी लगायतका नौ वटा बिभागहरुबाट सेवा सुचारु भइरहेको छ । क्षयरोगका रोगीका लागि डट्स सेवा लगायतका सेवाहरु अहिले अस्पतालले पुर्वी पहाडका विरामीहरुलाई प्रवाह गरिरहेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इन्टर्नसिप कक्षा सञ्चालन भइरहेको छ । प्रस्तावित इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि व्यवस्थापन गर्न ५ किलोमिटर आसपास १ हजनार रोपनी बराबर जग्गा प्राप्त गर्न सकिने अवस्था रहेको नगरले जनाएको छ ।

प्रतिष्ठानका लागि इलाम नगरपालिका–९ घटीटार आसपास मात्र विभिन्न कित्तामा गरी १४३० रोपनी ७ आना २ पैसा ३ दाम जग्गा रहेको छ । नगरको स्वामित्वमा रहेको चौहानबन्धु गुठीको १८ रोपनी २ पैसा ३ दाम जग्गा रहेको छ । सोही स्थानमा बुट्यान खाली जग्गा १० रोपनी ३ आना ३ पैसा, ८१० रोपनी २ आना, ७१ रोपनी १ आना ३ पैसा १ दाम, अर्को कित्तामा ८५ रोपनी १ आना २ दाम, २३५ रोपनी १५ आना जग्गा रहेको छ । त्यसैगरी ३९ रोपनी १५ आना १ दाम, ४९ रोपनी ८ आना १ दाम, १६० रोपनी १ दाम जग्गा व्यवस्थापन गर्न सकिने नगरले जनाएको छ ।
सोही स्थानमा स्थानीय बिभिन्न व्यक्तिहरुको स्वामित्वमा रहेको मुआव्जा दिएर अधिग्रहण गर्नु पर्ने ६७ रोपनी ११ आना ३ दाम जग्गा समेत रहेको छ । नगरले प्रतिष्ठानका लागि भएको विभिन्न प्रयास र प्रगतीहरु समेत सार्वजनिक गरेको छ । जग्गाव्यवस्थापनका लागि इलामनगरपालिका अन्तर्गत आर्थिक तथा जग्गा व्यवस्थापन सहयोग समिति गठन गरि जनस्तरबाट सहयोग संकलन भइरहेको छ । सोही कोष नगरपालिकाले चालु आर्थिक बर्षमा २५ लाख र अन्य स्रोतबाट संकलित रकम बैंक खातामा जम्मा गरिएको जनाएको छ ।
इलाम अस्पताल सहित प्रस्तावित इलाम स्वास्थ्य विज्ञान स्थापनाको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाई सहयोग गरिदिनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश १ सरकार स्वास्थ्य मंत्रालय समेतलाई इलाम नगरपालिकाकातर्फबाट अनुरोध गरिएको उपप्रमुख विष्णु दाहालले बताइन् । प्रस्तावित इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार व्यवस्थापनका लागि इलाम अस्पताललाई ३०० शैय्याको शिक्षण अस्पतालमा स्तरोन्नती गर्न आवश्यक देखिएको छ ।
जमिन र भवनलगायतका थप आवश्यक पूर्वाधार विकास गर्नु पर्ने, सेवा क्षेत्र भित्रका राजनीतिक दल, नेतृत्व, संघीय, प्रदेश तथा स्थानीय सरकार र अन्तर्गतका सम्बन्धित निकायहरु सँगको नियमित सम्पर्क, सहकार्य र समन्वय आवश्यक देखिएको छ । देशविदेशमा रहेका सेवा क्षेत्र भित्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय दातृ तथा नागरिक संस्था र लाभग्राही तथा सम्बन्धित व्यक्ति र व्यक्तित्वहरु सँगको समन्वय समेत आवश्यक देखिएको नगरले जनाएको छ । सेवा क्षेत्र भित्रका स्वास्थ्य संस्था र शिक्षण संस्थाहरुको सवलिकरणका लागि समन्वय, प्रतिष्ठान र अस्पता विकास मोडलका साथै शिक्षा,आवास, पूर्वाधार, रोजगारी लगायतको विकासका लागि समन्वय र सहकार्य गरिने भएको छ ।
जमिन प्राप्ति र भौतिक संरचना विकास, कानूनी, आर्थिक, प्रशासनीक र प्राविधिक मान्यता र क्षमता अभिवृद्धीको कार्य अघि बढाइने भएको छ । छलफलबाट इलाम लगायत प्रदेश एकका उच्च राजनीतिक नेतृत्व, प्राज्ञिक एवं प्राविधिक व्यक्तित्व र दल तथा संस्थाहरुको प्रभावकारी समन्वय, सहयोग र प्रतिवद्धता भएको नगर प्रवक्ता नुतनदेव दुलाले बताए ।
तीनै तहका सरकार र अन्तर्गतका सम्बन्धित निकायहरुको सहयोग र समन्वयका साथै नागरिक स्तरका संघ सस्था र व्यक्तिहरुको निरन्तर साथ, सहयोग प्राविधिक रुपमा यस कार्यका लागि बिभिन्न क्षेत्रका विज्ञ, सरोकारवाला र सहयोगीहरुको निरन्तर साथ, सहयोग र समर्थनका लागि संयन्त्रहरु विकासमा सहमत भएको जनाइएको छ ।