- मिति २०७९।३।१० गते इलाम नगरपालिकाको एघारौ नगर सभा सम्पन्न भएको छ, एघारौ नगर सभाका उपलब्धिहरुलाई आमसञ्चार समक्ष सम्प्रेषण गर्नका लागि उपस्थित नेपाल पत्रकार महासंघ इलामको अध्यक्ष लगायत पदाधिकारी र सबै सञ्चारकर्मीहरुलाई हार्दिक स्वागत गर्दछु ।
- यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण अभियानको क्रममा राजनैतिक अधिकार प्राप्तिको लागि शहिद हुनु भएका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली र सम्मान व्यक्त गर्दछु । जनआन्दोलन र अधिकार प्राप्तिको क्रममा घाइते हुनु भएका अधिकारकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै द्वन्द्वपीडित तथा बेपत्ता परिवारप्रति हार्दिक सम्मान समेत गर्दछु ।
- विगत लामो समयदेखि हामी र हाम्रा अग्रजहरुको निरन्तर प्रयास, प्रयत्न र बलिदानीबाट प्राप्त राजनैतिक अधिकारलाई नेपालको संविधानले संस्थागत गर्दै हाम्रा प्रयासहरु मुलुकको समृद्धिको बाटोमा अगाडि बढेको अवस्था हाम्रो सामु विद्यमान छ । नागरिकहरुका आशा अपेक्षाहरुलाई हामीसँग उपलब्ध सीमित साधनस्रोतले व्यवस्थापन गर्दै लैजानु पर्ने अवस्था छ ।
- समुन्नत इलाम, सम्पन्न इलामेलीको नारालाई सार्थक गर्नका लागि हामीले हाम्रा मतदाताहरुले दिनु भएको विश्वासलाई इमान्दारिता र निष्ठामा रुपान्तरण गर्दै पर्यटकीय नगरको रुपमा पहिचान बनाई यस इलाम नगरलाई सुदृढ र व्यवस्थित गर्दै एउटा समृद्ध नगर बनाउने दायित्व हाम्रो सामु छ ।
- यिनै दायित्वहरुलाई मूर्त रुप दिनका लागि इलाम नगरपालिकाको आर्थिक वर्ष ०७९।०८० को लागि रु १ अरब २२ करोड ३७ लाखको बजेट तथा कार्यक्रम पारित गरिसकेका छौ । यही बजेट र कार्यक्रम लिएर अब हाम्रो यात्रा प्राप्त भएको छ । समुन्नत इलाम सम्पन्न इलामेलीको दूरदृष्टि लिएर हामी अगाडि बढेका छौ ।
- समुन्नत इलाम, सम्पन्न इलामेलीको यो दूरदृष्टि नै हाम्रो गन्तव्य हो र यो दूरदृष्टि प्राप्त नहुन्जेलसम्म हामी कटिबद्ध भएर जिम्मेवारीपूर्वक अगाडि बढने नै छौ । हाम्रो यो दृष्टिकोण र दूरदृष्टि नै हाम्रो सपना हो, यो सपनालाई पूर्ण गर्नका लागि हामी आजैदेखि कम्मर कसेर लाग्नेछौ भन्ने कुरामा हामी विश्वस्त छौ ।
- नगरमा अहिले लगभग ५० हजार जनसंख्या छ, यसलाई २ लाख पु¥याउने, नगरका आम नागरिकहरुलाई सफा खानेपानीको सुविधा दिने, नगरको खोलाहरुबाट पर्याप्त बिजुली निकाली विद्युत निकासी गर्ने, पर्यटकीयस्तरको होटल, मोटल, रिसोर्ट र होम स्टे बनाउन प्रोत्साहित गरी उद्यानहरु बनाउने, वार्षिक ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई इलामबजारलाई पर्यटन हब बनाई इलामको प्रकृति र संस्कृतिलाई आर्थिक आधार बनाउने जस्ता अवयवहरु हाम्रा दूरदृष्टिमा रहेका छन् ।
- इलाम नगरका खेतीयोग्य जग्गाहरु बाँझो नराखी व्यावसायिक कृषि प्रवद्र्धन तथा निकासी गर्ने, अर्गानिक सागसब्जी, फलपूmल तथा कृषि उपजहरु निकासी गर्ने, नगरको आन्तरिक आयलाई न्यूनतम २५ करोड पु¥याउने, इलाम अस्पताललाई ३०० शैयाको अस्पतालमा रुपान्तरण गर्दै मेडिकल कलेज बनाउने, राष्ट्रियस्तरको रङ्गशाला र कवर्ड हल भएको नगर बनाउने, महेन्द्ररत्न बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने र नगरमा प्राविधिक शिक्षालयहरु थप्ने, आधारभूत तथा माध्यमिक विद्यालयहरुलाई उत्कृष्ट तथा नमुना विद्यालय बनाउने, गौतमबुद्ध सभा गृहको क्षमता विस्तार गर्ने कुराहरु दूरदृष्टिका अभिन्न अङ्ग हुन ।
- यसैगरी नगरको सबै बाटोहरु पिच गर्ने, मुख्य मार्गहरुलाई बाहै्र महिना सञ्चालन योग्य राख्ने, फाल्गुनन्द सुकिलुम्वा विमानस्थलको स्तरोन्नति गर्ने, कृषिजन्य उद्योगधन्दाहरु टोल टोल र बस्ती बस्तीमा खोली उद्यमशीलता विकास गर्ने, फोहोरमैला प्रशोधन तथा व्यवस्थापन प्रणालीलाई सुदृढ गरी सफा सहर बनाउने, विद्युत खानेपानी र सञ्चार सेवाको उपलब्धलाई सर्वसुलभ बनाउने लगायतका कुराहरु छन् ।
- नगरमा आधुनिक पशु बधशाला र व्यवस्थित विद्युतीय शवदाह स्थल बनाउने, नगरमा निर्माण हुने भवनहरुलाई भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री बनाउने, रहर लाग्दो शहर र बसौ बसौ लाग्ने गाउँ बनाउने, रोजगारीको पर्याप्त अवसर उपलब्ध गराउने, सर्वत्र हरियाली, जताततै इन्टरनेट सुविधा, स्मार्ट सिटी, रोजगार नागरिक, सडक, खानेपानी, सरसफाइ, कालोपत्रे सहरी सडक, सोलार बत्ती, बगैंचा र पार्क, अपाङ्गतामैत्री सवारी साधन भएको, खुशी र सम्पन्नताले भरिएको एउटा रहर लाग्दो शहर बनाउने सपना भैm लाग्ने कुराहरुलाई बिपनामा रुपान्तरण गर्ने हाम्रो अठोटबाट भविष्यमा इलाम नगरलाई उपमहानगरपालिका बनाउने अभियानमा अग्रसर रहन म सबैमा आग्रह गर्दछु ।
- नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तह बिचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न, लोकतन्त्रका लाभहरुको समानुपातिक समावेशी र न्यायोचित वितरण गरी कानुनी राज्य र दिगो विकासको अवधारणाका साथ नगरको विकास अभियानमा हामी प्रतिबद्ध छौै ।
- समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहअन्तर्गत वडास्तरदेखि नै सुदृढीकरण गर्न, स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न जारी भएको स्थानीय सरकार संंचालन ऐन, २०७४ बमोजिम हामी जनताको सेवामा रहेका छौ र रहने छौ ।
- हामी सुशासन, पारदर्शिता, जवाफदेहित र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुशरण गरी भ्रष्टाचारमुक्त र मितव्ययी शासन प्रणाली अवलम्बन र संस्थागत गर्नेछौ । हामी जनताको करबाट उठेको राजश्वलाई अनुत्पादक क्षेत्रमा लगानी गर्ने छैनौ । सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको अनुचित दोहन गर्ने छैनौ र गर्न दिने छैनौ ।
- कानुनको सीमा भन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्ने छैनौ । निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपरादर्शी वा अनुत्तरदायी रुपमा हचुवाका भरका कुनै पनि निर्णय वा काम गर्ने छैनौ । कानुन, आर्थिक तथा वित्तीय उत्तदायित्व र अनुशासनको उल्लङघन गर्ने छैनौ ।
- महिला माथि हुने हिंसा, जातीय भेदभाव, लैगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहित हुने कुरामा प्रत्यक्ष तथा परोक्ष रुपमा समेत कुनै पनि अवस्थामा संलग्न हुने छैनौ भन्ने कुरामा हामी प्रतिबद्ध छौ ।
- इलाम नगरको समृद्धिका आधारशीला भनेका यहाँका प्रकृति र संस्कृति हुन् । यहाँको प्रकृति र संस्कृतिलाई सिर्जनशीलता र उद्यमशीलताले सजाउदै विकासपथमा अग्रसर रहनका लागि हामीलाई निश्चय पनि प्रेरणा र ऊर्जा प्राप्त हुनेछ भन्ने कुरामा हाम्रो विश्वास छ ।
- इलाम नगरका आर्थिक समृद्धिका आधारहरु पर्यटन, कृषिको व्यावसायीकरण, जलस्रोतको उपयोग, शिक्षा तथा स्वास्थ्यको केन्द्र निर्माण र व्यापारमा विविधीकरण जस्ता कुराहरुमा हाम्रो ध्यान केन्द्रित छ । युवा वर्गको विदेश पलायनलाई रोक्नका लागि यस नगरमा रोजगारीका अवसरहरु सिर्जना गर्दै आर्थिक समृद्धि खोज्नका लागि हामी अग्रसर रहेर अहोरात्र क्रियाशील रहनेछौ ।
- विकास भन्नु नै सकारात्मक परिवर्तन हो । यो सकारात्मक परिवर्तन मानव र मानव सभ्यतासँग सम्बन्धित प्रकृति, संस्कृति, जैविक विविधता र वातावरण समेतको लागि आवश्यक छ । आजको यस प्रतिबद्धताले आम नागरिकहरुमा एउटा सकारात्मक र ऊर्जाशील सन्देश दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौ ।
- हामी चाहन्छौ, इलाम नगरका प्रत्येक नगरवासीको भोकै बस्नु नपरोस्, इलाम एउटा रहर लाग्दो शहर र बसौ बसौ लाग्ने गाउँ होस्, परी आएका बेला सहज स्वास्थ्य सेवा उपलब्ध होस्, हाम्रा सन्ततिहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन, जनप्रतिनिधिहरु जुनसुकै बखत जनताको सेवामा हाजिर रहुन, सबैको मुहारमा खुशी छाओस्, सबैको जीवन सम्मानित र सम्पन्न होस्, सबैले म इलाम नगरको बासिन्दा हुँ भनी गौरव गर्ने ठाउँ बनोस् भन्ने उच्च आशाका साथ हामी अगाडि बढेका छौ । हामीलाई जनताले दिएको अभिभारा र विश्वासलाई इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्नेछौ भन्ने कुरामा हामी प्रतिबद्ध छौ ।
- इलाम नगरपालिकाको एघारौ नगर सभाले आर्थिक वर्ष ०७९।०८० को लागि रु १ अरब २२ करोड ३७ लाखको आयव्यय अनुमान गरेको छ । यसअन्तर्गत आन्तरिक स्रोतमा २० करोड ४९ लाख ८९ हजार १ सय ६०, संघीय सरकारबाट प्राप्त हुने ८४ करोड २८ लाख, प्रदेश सरकारबाट प्राप्त हुने ४ करोड २८ लाख ४ हजार र राजश्व बाँडफाँडबाट १३ करोड ३१ लाख ६ हजार ८ सय ४० रहेको छ ।
- यसैगरी व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्पm १६ करोड ५८ लाख ५० हजार, वडास्तरीय योजना तथा कार्यक्रमतर्पm १२ करोड, नगरस्तरीय योजना तथा कार्यक्रमतर्पm २२ करोड ९७ लाख ३९ हजार, संघीय सशर्त अनुदानमा ४७ करोड ४६ लाख, प्रदेश सशर्त अनुदानमा ३ करोड ३५ लाख ११ हजार, सामाजिक सुरक्षामा २० करोड रहेको छ ।
- वडास्तरीय योजना तथा कार्यक्रमअन्तर्गत आर्थिक विकासमा १ करोड ३२ लाख, सामाजिक विकासमा १ करोड ९८ लाख ५० हजार, पूर्वाधार विकासमा ५ करोड ९६ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा २ करोड, सुशासन तथा संस्थागत विकासमा ७३ लाख ५० हजार रहेको छ ।
- नगरस्तरय योजना तथा कार्यक्रममा आर्थिक विकासमा ४९ लाख, सामाजिक विकासमा ४ करोड ७६ लाख ९९ हजार ८ सय ४०, पूर्वाधार विकासमा १३ करोड २२ लाख ३९ हजार १ सय ६०, वन वतावरण तथा विपद् व्यवस्थापनमा ७० लाख, सुशासन तथा संस्थागत विकासमा ३ करोड ७९ लाख रहेको छ ।
- संघीय सशर्त अनुदानमा आर्थिक विकासतर्फ १ करोड ५१ लाख, सामाजिक विकासमा ३० करोड ७४ लाख,पूर्वाधार विकासमा ११ करोड ९९ लाख, वन वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ८० लाख, सुशासन तथा संस्थागत विकासमा १ करोड ४२ लाख रहेको छ ।
- प्रदेश सर्शत अनुदानमा सामाजिक विकासमा ९ लाख ५३ हजार, पूर्वाधार विकासमा ३ करोडढ २५ लाख ५८ हजार रहेको छ ।
- उल्लिखित बजेट भित्रबाट प्रत्येक वडामा न्यूनतम ५ लाखका दरले कृषि कार्यक्रम, ५ लाखका दरले लक्षित कार्यक्रम, ५ लाखका दरले शिक्षा तथा स्वास्थ्य कार्यक्रम रहेको छ । गाई खरिदमा ३३ लाख, पशु स्वास्थ्य शिविरमा ८ लाख, मानव स्वास्य शिविरमा १० लाख, कृषि सहकारीसँग सहकार्यमा १० लाख, जेष्ठ दलित र अति विपन्नलाई स्वास्थ्य बीमा १० लाख, छात्रवृत्तिका लागि १० लाख, नमुना विद्यालयका लागि १६ लाख, बोटानिकल गार्डेनको लागि ५ लाख, कृषि अनुसन्धान केन्द्रको लागि ५ लाख, मिलगोलाइ विणापानी सडकका लागि ३ करोड ७५ लाख, फोहोरमैला व्यवस्थापन केन्द्र १ करोड ८० लाख, माई भगवती रङ्गशालालाई २ करोड, स्वास्थ्य उपचार कोषमा रु १० लाख विनियोजन भएको छ ।
- इलाम नगरपालिकाको ११ औ नगर सभाले पारित गरेको नीति तथा कार्यक्रम यस प्रकार रहेको छ । यही नीति र कार्यक्रमका आधारमा इलाम नगरपालिकाले आप्mनो वार्षिक आय तथा व्यय अनुमान गरेको छ ।
आर्थिक विकास
- नेपालको पूर्व प्रधानमन्त्री श्री वि.पि. कोइरालाप्रति सम्मानका लागि गरिबसँग महामानव विश्वेश्वर कृषि विकास कार्यक्रम सञ्चालन गरी कृषि क्षेत्रलाई प्रवद्र्धन तथा सहयोग गरिनेछ र कृषि विकासका लागि प्रतिवेदन पेश गर्न गठित समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्दै लगिनेछ । यस कार्यक्रमअन्तर्गत गाईपालन, माछापालन र मौरीपालनका साथै चिया, किवी, एवाकार्डो, सुन्तला, कागती, लोक्ता, कफी जस्ता कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखिनेछ ।
- इलाममा उत्पादित कृषिजन्य वस्तुहरुको औद्योगिकीकरणका लागि उद्योगी तथा लगानीकर्ताहरुको सम्मेलन आयोजना गरिनेछ ।
- लक्षित वर्गहरुलाई रोजगारमुखी कार्यक्रममा उत्प्रेरित गर्न उद्यमशीलता विकास तालिम कार्यक्रमहरु आयोजना गरी उद्यमी तथा व्यवसायीको अभिलेख अद्यावधिक गरिनेछ ।
- इलाममा उत्पादन हुने कृषि उत्पादनको व्यवसायीकरण तर्फ उन्मुख गराउने कार्यक्रमहरु सञ्चालन तथा आवश्यकतानुसार पशु स्वास्थ्य शिविर आयोजना गरिनेछ ।
- रैथाने जातको बीउ बिजन उत्पादन तथा भण्डारणको लागि सामुदायिक बीउ बैंक स्थापनामा कृषि सहकारी संस्थासँग सहकार्य गरिनेछ ।
- स्थानीय कच्चा पदार्थ र सिपमा आधारित पर्यटक लक्षित मायाको चिनो वा कोसेली उत्पादन तथा चिया, दूग्धजन्य उत्पादनको बजारीकरणमा सहकारी संस्थासँग सहकार्य गरिनेछ ।
- खाद्य संकट न्यूनीकरण तथा कृषि उत्पादन अभिबृद्धिका लागि उत्कृष्ट कृषक, कृषि व्यवसायी, कृषि समूह तथा कृषि सहकारी संस्थालाई सहयोग गरी पुरस्कार समेतको व्यवस्था गरिनेछ ।
- गरिवी निवारण तथा सामाजिक परिचालन कोषबाट सहकारी सस्थामार्फत कृषकहरुलाई ऋण सुविधा प्रवाह गरी वित्तीय साक्षरता तथा सहकारी शिक्षा प्रवद्र्धन गरिनेछ ।
- कृषि प्रबद्र्धनका लागि सहभागितामुलक फलफुलका विरुवा, कृषि मल, वीउविजन कृषि औजार तथा उपकरण अनुदानको साथै सिंचाई कुलोको व्यवस्था गरिनेछ ।
- वडा वडामा अर्गानिक कृषि उत्पादनको प्राथमिकतामा राखेर व्यावसायिक नमुना कृषि फर्महरुलाइ प्रोत्साहित गरिनेछ र नगरका मुख्य स्थानमा कृषि बजारको विस्तार तथा व्यवस्थापनका लागि सहकारी संस्थासँग सहकार्य गरिनेछ ।
- पर्यटन प्रवद्र्धन गर्न सम्भाव्य पर्यटकीस्थलहरुको सम्भाव्यता अध्ययन तथा आवश्यक पूर्वाधार निर्माणका योजना कार्यान्वयन गरिनेछ र नगरका महत्वपूर्ण पर्यटकीय स्थल तथा पार्कहरुको निर्माण तथा मर्मतसुधार गरिनेछ ।
- धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने नीति अवलम्बन गरिनेछ र पर्यटन विकासका लागि एकीकृत योजना कार्यान्वयन गरी अन्य नगरपालिका तथा गाउपालिकासँग साझेदारीमा पर्यटन प्रवद्र्धन कार्यलाई अगाडि बढाई कृषि पर्यटन र होम स्टेहरुलाई सहयोग गरिनेछ ।
- जिल्लाका छिमेकी स्थानीय तहहरुसँग पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन तथा विकासको लागि सहकार्य गरी पाटेनागी लगायत नगरका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुको विकास गरिनेछ ।
- लगानी प्रवद्र्धनका लागि लगानीकर्तालाई छुट सुविधा लगायत लगानी प्रवद्र्धनका कार्यक्रममार्पmत सहयोग गर्ने नीति अवलम्बन गरी सो कार्यमा आवश्यक सुझाव पेश गर्नका लागि विज्ञहरु समेत रहेको कार्यदल गठन गरिनेछ ।
- उद्योग व्यवसाय सञ्चालनका लागि अल्पकालीन तथा मध्यकालीन तालिम दिने तथा पुँजी प्रवाहमा सहयोग गरिनेछ ।
- कृषि तथा पशु पालन क्षेत्रको विकासमा सहयोगको लागि वडा वडामा कृषि तथा पशु प्राविधिकको सेवा अभिबृद्धि गरिनेछ ।
- सहकारीहरुलाई कृयाशील तथा मजबुत बनाउने र सहकारी एकीकरण नीतिलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याई स्थानीय सहकारी संस्थाहरुलाई सम्वद्र्धन गर्दै अन्य जिल्लामा दर्ता भएका सहकारी संस्थालाई इलाम नगरमा पुन दर्ता कार्य निरुत्साहित गरिनेछ ।
- भूउपयोग नीतिलाई अवलम्बन गरिने छ, बाँझो जमिनमा सामुहिक तथा व्यक्तिगत रुपमा खेती गर्न प्रोत्साहन गरिनेछ ।
- सार्वजनिक तथा सरकारी जमिनहरुको उचित संरक्षण र विकासका लागि लगत अभिलेख व्यवस्थित रुपमा राखिनेछ ।
- सुकुम्वासीहरुलाई भूमि आयोगमार्पmत जग्गाधनी बनाउने कार्यमा आवश्यक सहयोग गरिनेछ ।
- भूउपयोग योजनाअनुसार खेती योग्य जमिनमा बस्ती विकासका कार्यलाई दुरुत्साहन गरिनेछ ।
- इलाम नगरपालिकालाई जिल्ला कै व्यापारिक केन्द्रको रुपमा विकास गर्ने नीति अवलम्वन गरी उद्योग वाणिज्य क्षेत्रसँग सहकार्य गरिनेछ ।
- बजार अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन श्रोत साधनको व्यवस्था गरिनेछ ।
- नगरको विकास अभियानमा सार्वजनिक नीजि साझेदारी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
- इलाम नगरपालिका वडा नं. ९ मा काले दमाई जनकदेव शाक्य साइन्स पार्कमा सौन्दर्यीकरणको काम गरिनेछ ।
- इलाम नगरपालिकास्थित ऐतिहासिक चिया बगान र कारखानालाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।
- इलाम नगरपालिका वडा नं. १ साँखेजुङ्गमा स्थापना भएको चिया अलैंची अनुसन्धान केन्द्रलाई सहयोग गरिनेछ ।
- इलाम नगरपालिका वडा नं. १ मा स्थापित चिया उद्योगहरुमा नियमित विद्युत आपूर्तिका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण समन्वय गरी नियमित विद्युत आपुर्तिको व्यवस्था मिलाईनेछ ।
सामाजिक विकास
- इलाम अस्पतालमा स्थापित स्वास्थ्य हेल्प डेस्कलाई व्यवस्थित ढङ्गले सञ्चालन गरिनेछ र इलाम मेडिकल कलेजको स्थापनाका लागि नगरपालिकाको दायित्वमा पर्ने जग्गा व्यवस्थापन कार्य ६ महिना भित्रमा गर्ने गराउने कार्यलाई प्राथमिकतामा राखिनेछ ।
- विगतमा नगरको स्वास्थ्य, राजनैतिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु हुने स्व. पूर्णलाल श्रेष्ठको सम्मानमा पूर्णलाल श्रेष्ठ स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरी नगरमा स्वास्थ्य बिमा कार्यक्रमलाई अझ प्रभावकारी बनाइनेछ । नगरका अति विपन्न परिवारलाई साझेदारीमा स्वास्थ्य बिमा गर्ने गराउने कार्यलाई प्राथमिकतामा राखिनेछ ।
- जनसंख्याको सन्तुलनलाई कायम गर्ने नीति अवलम्वन गरिनेछ र बसाइ सरी आउनेलाई प्रोत्साहनस्वरुप वडाध्यक्षबाट घरदैलोमा स्वागत तथा बसाइ सरी जानेलाई निरुत्साहन गर्ने गरी आवश्यक कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ ।
- स्थानीय भाषा तथा संस्कृति संरक्षणको नीति अवलम्वन गरिनेछ यसका लागि भाषिक, सांस्कृतिक क्षेत्र तथा सम्पदाको संरक्षण गर्न सम्बद्ध संस्थामार्फत काम गरिनेछ । लिम्बु, किराँत (राई), नेवार, सुनुवार, लेप्चा जातिको सांस्कृतिक विकासमा ध्यान दिई लिम्बु, बान्तवा राई, नेवारी भाषाको उत्थानका लागि तालिम सञ्चालन गर्ने र अन्य जनजातिको भाषिक विकास तथा विगतमा राजनैतिक अधिकार प्राप्तिको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने श्री भक्तबहादुर देवानको सम्मानका लागि भक्तबहादुर देवान भाषा संरक्षण कार्यक्रमलाई क्रमिकरुपमा सहयोग गरिनेछ ।
- नगरको विकास अभियानका कार्यक्रम तथा योजना सञ्चालनमा सहकार्य तथा साझेदारी कार्यक्रमहरुलाई प्रोत्साहित गरिनेछ ।
- १ वडा १ खेल मैदानको निर्माण तथा सुधार कार्यलाई निरन्तरता दिइनेछ ।
- जिल्ला स्तरीय माइ भगवती रङ्गशाला निर्माण कार्यलाई निरन्तरता दिइनेछ भने अन्य खेलकुद पूर्वाधार निर्माणका कार्यक्रम सञ्चालन गरिनेछ ।
- इलाम नगरमा प्रदेशस्तरीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजना तथा सहयोग गर्ने कार्यलाई निरन्तरता दिन स्थानीय खेलकुदसँग सम्बन्धित संघसंस्थाहरुसँग सहकार्य गरिनेछ र नगरका विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि खेलकूद प्रशिक्षकहरुको रोस्टर तयार गरी विद्यालयहरुमा परिचालन गर्ने कार्यक्रम कार्यान्वयन गरिनेछ ।
- युवा स्वरोजगार तथा सीप विकास कार्यक्रम सञ्चालन गरिनुका साथै युवा प्रतिभाहरुलाई प्रोत्साहित गरिनेछ र विदेशबाट फर्की आएका युवाहरुलाई स्वरोजगार बनाउन प्रोत्साहित गरिनेछ ।
- समाजमा रहेका कुरीति, कुसंस्कार तथा दुव्र्यसनका विरुद्धमा युवालाई नै परिचालन गरि न्यूनीकरण गर्ने कार्यक्रम ल्याइनेछ ।
- लक्षित वर्ग, एकल महिला, जनजाति, अल्पसंख्यक जस्ता वर्गको उत्थान तथा बेरोजगारहरुको क्षमता विकास गर्न सीपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिई सि.टि.इ.भि.टि. मार्पmत सीपमूलक तालिम र सीप परीक्षणका लागि प्रोत्साहित गरिनेछ ।
- महिलाको क्षमता विकासका लागि उपप्रमुख महिला सीप विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- शिक्षा क्षेत्रमा लगानी अभिबृद्धि गर्ने नीति अवलम्बन गर्दै विद्यालयमा इ हाजिरी लागू गरी विद्यालय अनुगमन कार्यलाई जनताले अनुभूत गर्ने गरी कार्यान्वयन गरिनेछ र नमुना विद्यालय घोषणा गरी आधुनिक शिक्षालाई प्रोत्साहित गरिनेछ ।
- विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोगको लागि मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ ।
- इलाम नगरको शैक्षिक गुणस्तर अभिबृद्धिको लागि सुुझाव पेश गर्न गठित समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्दै लगिनेछ र शैक्षिक गुणस्तर अभिबृद्धिको लागि अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
- आदर्श मा.वि. लाई जिल्लाकै सुविधासम्पन्न उत्कृष्ट अगुवा विद्यालय बनाउन सो विद्यालयसँग सहकार्य गरिनेछ र नगरका अन्य आधारभुत विद्यालय तथा मा.वि. हरुलाई उत्कृष्ट विद्यालयमा रुपान्तरण गर्नका लागि प्रत्येक वर्ष कुनै ४ विद्यालयलाई नमुना विद्यालयको रुपमा क्रमश विकास गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
- अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरु बीचको प्रभावकारी गुनासो सुनुवाइका लागि अर्धवार्षिक रुपमा शनिबारका दिन सम्बन्धित वडाध्यक्षको नेतृत्वमा गुनासो सुनुवाइ कार्यक्रम सञ्चालन गरिनेछ ।
- हरितनगर अध्ययन अनुसन्धान केन्द्रलाई प्रभावकारी बनाइनेछ र सो केन्द्रमार्पmत अनुसन्धानमा संलग्न शोधकर्ताहरुलाई सहयोग गरिनेछ ।
- इलाम नगरपालिकाका पहिलो चेयरम्यान तथा इलामको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने समाजसेवी तथा शिक्षासेवी श्री पदमबहादुर देवानको सम्मानमा पदमबहादुर देवान शैक्षिक विकास कार्यक्रम सञ्चालन गरी आधारभूत र माध्यमिक विद्यालयहरुको शैक्षिक उन्नयनमा सहयोग गर्न विद्यालय सुधार योजनालाई अद्यावधिक गरी सहयोग गरिनेछ ।
- परिवर्तित नयाँ पाठ्यक्रम अनुसार शिक्षण प्रणाली व्यवस्थित रुपमा सञ्चालन गरिनेछ र स्थानीय पाठ्यक्रममा नैतिक शिक्षा पठनपाठन कार्यलाई प्रोत्साहित गरिनेछ ।
- महिला शिक्षकहरु प्रसुति बिदामा बस्दा लामो समय विद्यालयको पठनपाठन प्रभावित हुने भएकोले त्यस्तो अवस्थामा वैकल्पिक शिक्षक व्यवस्थापन गरी पठनपाठनलाई सुचारु राखिनेछ ।
- नगरमा आवश्यकता अनुरुप समय समयमा स्वास्थ्य शिविरको आयोजना गर्ने व्यवस्था मिलाइनेछ ।
- १ वडा १ स्वास्थ्य संस्थाको नीति कार्यान्वयन गरी स्वास्थ्य संस्थाहरुलाई प्रभावकारी ढंगबाट सञ्चालन गरिनेछ ।
- स्वास्थ्य क्षेत्रको क्षमता बृद्धिका कार्यक्रम ल्याई महिला स्वास्थ्य स्वयंमसेविकाको प्रोत्साहनका कार्यक्रम ल्याइनेछ ।
- सुत्केरी सुविधा कार्यक्रमलाई निरन्तरता दिइनेछ तथा बच्चाको स्वास्थ्य बीमा र बच्चाको नाममा सहकारीमा बाल बचत खाता खोल्न प्रोत्साहित गरिनेछ ।
- आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउँदै आयुर्वेद औषधालय र स्वास्थ्य केन्द्रहरुमा पर्याप्त औषधि तथा उपकरणको व्यवस्थापन गरिनेछ । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको औषधि वितरण प्रणालीको अनुगमनमा बिषेस ध्यान दिइनेछ ।
- इलाम जिल्ला अस्पतालको क्षमता विकासका साथै डायलोसिस सेवा सञ्चालनमा आवस्यक सहयोग गरिनेछ ।
- इलाम सामुदायिक आँखा अस्पतालको सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गरिनेछ तथा नेत्रज्योति संघबाट सञ्चालित आँखा उपचार केन्द्रलाई सहकार्यको लागि प्रोत्साहित गरिनेछ ।
- इलाम सामुदायिक कृषि क्याम्पसको सञ्चालन तथा व्यवस्थापनलाई महेन्द्ररत्न बहुमुखी क्याम्पससँग सहकार्य गरी शैक्षिक उन्नयनमा सहकार्य गरिनेछ ।
- वडामा रहेका जेष्ठ नागरिक मिलन केन्द्रलाई व्यवस्थित गर्दै अपाङ्ग, अनाथ, बृद्धबृद्धालाई संरक्षण तथा सहयोग गर्ने नीति ल्याइनेछ । नगरमा स्थापित अनाथालय, बृद्धाश्रम र बौद्धिक अपाङ्ग केन्द्रहरुलाई सहयोग गरिनेछ ।
- हिंसापीडित महिलाहरुलाई तत्काल राहत तथा आवासको लागि आवश्यक व्यवस्था गरिनेछ ।
- जेष्ठ दलित विमा कार्यक्रमलाई निरन्तरता दिई विपन्न परिवारलाई स्वास्थ्य बिमाका लागि प्रोत्साहित गरिनेछ ।
- सातखाल्डे र अन्य क्षेत्रका शहिदहरुप्रति सम्मान र श्रद्धाका लागि शहिदहरुको दस्तावेजसहितको अभिलेख राखी शहिद परिवार सम्मान कार्यक्रम र राजनैतिक अधिकारका लागि आन्दोलन गर्दा बेपत्ता भएका व्यक्तिका परिवारलाई सहयोग गरिनेछ ।
- स्वास्थ्य उपचार कोषमार्पmत गम्भीर प्रकृति तथा कडारोग लागेका बिरामी तथा दीर्घ रोगीलाई सहयोग गरिनेछ ।
- सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित गरिनेछ र यस भत्तालाई सम्बन्धित वडाबाटै वितरण व्यवस्था मिलाउन समन्वय गरिनेछ ।
- बृद्धबृद्धाहरुलाई महिला स्वास्थ्य स्वयम्सेविका र वडास्थित स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमार्पmत टोलटोेलमा सेवा प्रवाहको व्यवस्था मिलाइनेछ ।
- बालबालिकाको समग्र विकासका लागि विविध कार्यक्रम सञ्चालन गरी बालमैत्री अवधारणा कार्यान्वयन गरिनेछ ।
- दलित समुदायका युवा वर्गको विकास तथा विगतमा दलित वर्गको उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने समाजसेवी श्री कमलबहादुर शिवाको सम्मानका लागि कमलबहादुर शिवा युवा विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
- साना तथा घरेलु उद्योगहरुलाई नियमन तथा प्रोत्साहनको नीति अवलम्वन गरिनेछ ।
- धार्मिक मठमन्दिर, देवीथान, गुम्वा, चैत्य, चर्च, मस्जिद निर्माण तथा सौन्दर्यीकरणमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
- नगरपालिकाबाट गठित समितिहरुलाई अनुदान दिने कार्यलाई निरन्तरता दिई आवश्यकतानुसार समितिका पदाधिकारी हेरफेर लगायत अन्य आवश्यक समितिहरु गठन गरी सञ्चालन परिचालन गरिनेछ ।
- विभिन्न जातीय परम्परा अनुसारको समाधि तथा अन्त्येष्ठी स्थललाई खोज, संरक्षण र सम्वद्र्धन गरी शवदाहस्थलको व्यवस्थापन गरिनेछ । राजदुवालीमा विद्युतीय शवदाह स्थलको निर्माण तथा व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।
- शान्ति सुरक्षा व्यवस्थाका लागि प्रहरी चौकी नभएका वडाहरुमा प्रहरी चौकी÷ प्रहरी बिटको स्थापनाकोलागि नेपाल सरकारमा अनुरोध गरीनेछ ।
- बैंक स्थापना नभएका वडामा बैक स्थापनाका लागि आवस्यक पहल गरीनेछ ।
पूर्वाधार विकास
- नगरको केन्द्रबाट वडाको केन्द्रसम्म जोड्ने सडकलाई बाह्रैमास चल्न सक्ने गरी निर्माण सुधार गरिनेछ ।
- नगरका सडकहरुको प्राथमिकीकरण गरी प्राथमिकताका आधारमा स्तरोन्नतिको कार्य गरिनेछ तथा यथासम्भव नयाँ सडकको ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गरिनेछ ।
- नगरका प्राथमिकताप्राप्त तथा निर्माणाधिन सडकहरुको पूर्णता तथा स्तरोन्नतीका लागि संघ तथा प्रदेश सरकारसँग पहल गरिनेछ ।
- इलाम नगरको विकास अभियानलाई “समुन्नत इलाम, सम्पन्न इलामेली”नारा र दीर्घकालीन सोचका साथ आवधिक तथा क्षेत्रगत योजना तयार गरी सो अनुरुप सञ्चालन परिचालन गरिनेछ ।
- नगरका निर्माण कार्यहरुमा लागत सहभागिताको नीतिलाई प्राथमिकतामा राखिनेछ र सडकको निर्माण तथा मर्मत सुधार कार्यसँगै बायोइन्जिनियरिङ्गको कार्यलाई समेत समावेश गरिनेछ ।
- वडा प्रशासकीय भवन, विद्यालय भवन तथा स्वास्थ्य भवनहरु निर्माण तथा सुधार गर्दै यस्ता भवनहरुलाई आधुनिक सञ्चारयुक्त डिजिटल बनाइनेछ ।
- इलाम नगरपालिका वडा नं ९ मा रहेको नयाँ बसपार्क सञ्चालनमा ल्याउन पहल गरिनेछ ।
- भानुपथ बसपार्कमा निर्माणाधीन मुख्यमन्त्री बहुतले पार्किङ्ग भवनको निर्माण समयमै सम्पन्न गर्न सहयोग गरिनेछ ।
- एक घर एक धाराको सिद्धान्त अनुरुप इलाम नगरपालिकाका खानेपानीको सुविधा नपुगेको क्षेत्रहरुमा खानेपानीको ब्यवस्था मिलाइनेछ ।
- इलाम सहरी खानेपानी आयोजनालाई समयमै सम्पन्न गराई संचालनमा ल्याइनेछ ।
- सिंचाई कुलोका योजनाहरु संघ तथा प्रदेशको साझेदारीमा सञ्चालन गरिनेछ र सिंचाई कुलोको मर्मतसम्भार कार्यलाई सहयोग गरिनेछ ।
- फुसको छानोरहित घर निर्माण तथा फुसको छानो हटाई व्यवस्थित गर्ने कार्यलाई प्रोत्साहित गरिनेछ ।
- रहर लाग्दो शहर, बसौ बसौ लाग्ने गाउँ को अवधारणा अनुरुप अव्यवस्थित बसोबास, सुकुम्वासी, बस्ती विकास, शहरी केन्द्र र उपनगरको विकास जस्ता कार्य कार्यान्वयन गरिनेछ ।
- राष्ट्रिय भवन संहिता र स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम घर निर्माण प्रक्रिया अझ प्रभावकारी बनाइनेछ । विगतमा नक्सापास बिना निर्माण भएका संरचनाहरुलाई आवश्यक नीति बनाई नियमित गरी सम्पत्तिकरमा अभिलेखाङ्कन गरिनेछ ।
- नक्सापास नगरी जबरजस्ती नयाँ घर निर्माण गर्ने व्यक्ति वा संघसंस्थालाई सबै प्रकारको सेवा सुविधा रोक्का गरी कानुन बमोजिम कारवाही गर्ने नीति लिइनेछ ।
- नक्सापास तथा नक्सा नियमित (अभिलेखीकरण) को प्रक्रिया विपरीत सडक अधिकार क्षेत्रमा निर्माण भएका घरटहराहरुलाई हटाई सडक अधिकार क्षेत्र खुला गरिनेछ ।
- व्यवस्थित सहरीकरण तथा उपनगरको विकासका लागि भूउपयोग योजनाअनुरुप निर्देशित जग्गा विकास कार्यक्रम लागू गर्न गराउन आवश्यक अध्ययन गरिनेछ ।
- ट्राफिक व्यवस्थापन कार्ययोजना तयार गरी कार्यान्वयन गरिनेछ र स्मार्ट पार्किङ्गको अवधारणा प्रयोग गरिनेछ ।
- इलाम बजार आसपासका क्षेत्रहरुको सौन्दर्यीकरण, सडक नालीहरुको उचित व्यवस्थापन तथा नियमित सरसफाइ गरिनेछ ।
- इलाम नगरमा सूचना तथा सञ्चारको विकास विस्तारका लागि सञ्चार प्रविधिको क्षेत्रमा आवश्यक पहल गरिनेछ ।
- इलाम नगरपालिका वडा नं. ९ स्थित फाल्गुनन्द सुकिलुम्वा विमानस्थलमा आवश्यक पूर्वाधार निर्माण र विमानस्थलको भलबाढी व्यवस्थापनका लागि नेपाल सरकार र नेपाल नागरीक उड्डयन प्राधिकरणमा अनुरोध गरी सो विमानस्थलबाट नियमित उडान गर्न गराउनका लागि विमान कम्पनीहरुसँग सहकार्य गरिनेछ ।
वन वातावरण तथा विपद् व्यवस्थापन÷फोहोर मैला व्यवस्थापन
- नगरको सरसफाइ तथा स्वच्छता अभियानलाई पर्यटनसँग जोडेर प्रभावकारी बनाउन वडास्तरीय सरसफाइ अभियान समितिअन्तर्गत प्रत्येक टोल टोलमा अभियान सचालनका लागि संयन्त्र बनाइनेछ ।
- वन, वातावरण, विपद व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापन र वडाको समग्र आर्थिक समुन्नतिका लागि स्थानीय कानुन बनाई टोल विकास संस्था गठन तथा संञ्चालन गरिनेछ ।
- सरसफाई क्षेत्रको विस्तार तथा खाल्डे फोहोरमैला व्यवस्थापन केन्द्रको व्यवस्थापन गर्न स्वीकृत विस्तृत परियोजना प्रस्तावबमोजिम समयमै निर्माण कार्य सम्पन्न गरिनेछ ।
- नगरको ढल व्यवस्थापनका लागि संघ तथा प्रदेश सरकारलाई कार्यक्रम सञ्चालन गरि दिन आवश्यक पहल गरिनेछ ।
- हरित शान्ति पार्कमा स्थापित कम्पोष्ट प्लाण्टलाई प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक औजार उपकरण थप गरिनेछ ।
- नगर क्षेत्रमा वन विकासका लागि सामुदायिक वन दर्ता र सामुदायिक वनसँगको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- मेची राजमार्ग तथा नगर मुख्य सडकहरुका दायाँबायाँ तथा सार्वजनिक खाली जग्गामा फलपूmलका विरुवा रोपण तथा संरक्षणका कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
- नगरको उत्तरी क्षेत्रमा जडिबुटी खेतीलाई प्रोत्साहित गरी लोक्ता खेती तथा कागज उद्योगलाई प्राथमिकतामा राखि प्रोत्साहन गरिनेछ ।
- वैज्ञानिक वन व्यवस्थापन प्रणाली अवलम्बन गर्दै वनलाई वालीको रुपमा विकास गर्ने नीति प्रोत्साहन गरिनेछ र निजी वन लगाउने कार्यलाई प्रोत्साहित गरिनेछ ।
- विपद व्यवस्थापनमा तत्काल राहत तथा पुनरस्थापनाका लागि कोषको व्यवस्थापन गरिनेछ र विपद राहतमा नक्सापास अभिलेखलाई समेत आधार मानी राहत वितरणलाई पारदर्शी गरिनेछ ।
- नगरपालिका क्षेत्र भित्र रहेका जलाधार क्षेत्र र खोल्सीहरुको नक्साङ्कन तथा व्यवस्थापन गर्ने र सिमसार तथा पोखरीको संरक्षण सम्वद्र्धन गर्ने कार्यलाई व्यवस्थित दिइनेछ ।
- नगरको विद्युत सेवा नपुगेको क्षेत्रहरुमा विद्युत विस्तार गर्न सम्वन्धित निकायमा समन्वय गरीनेछ तथा वैकल्पिक ऊर्जा प्रयोगमा प्रोत्साहित गरिनेछ ।
- विपद व्यवस्थापन योजना तयार गरी आपतकालीन कार्यसञ्चालन केन्द्रलाई आधुनिक सञ्चारसुविधासहित साधन सम्पन्न बनाई वडागत रुपमा उद्धार तथा राहत सामग्रीको व्यवस्था मिलाईनेछ ।
- वातावरणीय प्रदुषण नियन्त्रणका लागि वायु प्रदुषण मापनको लागि आवश्यक व्यवस्था गरिनेछ ।
- माध्यमिक विद्यालयमा वातावरण सूचक क्रियाकलाप कार्यान्वयनको कार्य अनिवार्य गरिनेछ ।
- विपद् जोखिम क्षेत्रको पहिचान र नक्साङ्कनका लागि प्रतिवेदन तयार गरी जोखिम न्यूनीकरण कार्यक्रम गरिनेछ ।
- सहरी सौन्दर्य तथा वातावरण सरक्षणका लागि गैसस तथा निजी क्षेत्रको सहभागिता अभिबृद्धिका लागि व्यावसायिक सामाजिक उत्तरदायित्व तथा लागत सहभागितालाई ध्यान दिइनेछ ।
- जलवायु अनुकुलन योजना बनाई कार्यान्वयन गरी वातावरणमैत्री नगर निर्माणका लागि विद्यालयहरुमा विविध चेतनामूलक कार्यहरु गरिनेछ ।
- बि.पि. पार्कको सौन्दर्यीकरण तथा व्यवस्थापनमा ध्यान दिई पर्यटकीय आकर्षणको केन्द्र बनाइनेछ ।
- नगरको प्रमुख पर्यटकीय स्थल तथा पार्कको सरसफाइ तथा सौन्दर्यीकरणको कार्यमा काम गर्नका लागि इच्छुक ५५ वर्ष नाघेका स्थानीय व्यक्तिलाई वैतनिक स्वयम्सेवकको रुपमा परिचालन गरिनेछ ।
- नगरको पर्यटन गुरुयोजना बनाई सो योजनाअन्तर्गत पर्यटकीय आकर्षणका लागि सेतीदेवी÷भालुढुंगा वन क्षेत्र लगायत उपयुक्त क्षेत्रमा विभिन्न प्रजातिका चराहरुको संरक्षण गर्न आवश्यक अध्ययन गरिनेछ ।
- इलाम नगरपालिका वडा नं. ६ सेतीदेवी मार्ग छेउ बोटानिकल गार्डेन निर्माणका लागि आवश्यक कार्य अगाडि बढाइनेछ ।
सुशासन तथा संस्थागत विकास
- नगरको सर्वाङ्गिण विकासका लागि टोल टोल जाऔ, विकासमा जनसहभागिता जुटाऔ अभियानलाई घरदैलोसम्म पु¥याउन तथा पूर्व प्रधानमन्त्री श्री मनमोहन अधिकारीप्रति सम्मानका लागि मनमोहन अधिकारी पूर्वाधार निर्माण तथा जनसहभागितामूलक कार्यक्रम सञ्चालन गरी विकास अभियानमा जनप्रतिनिधि र लाभग्राहीहरुको प्रत्यक्ष तथा सक्रिय सहभागिता अभिबृद्धि गर्ने ढङ्गले सूचना प्रवाह, सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
- आम नगरवासीको गुनासो सम्बोधनका लागि इलाम नगरपालिकाको राजश्वको निम्न शीर्षकमा करको दर घटाई छुट सुविधा दिइनेछ ।
- सम्पत्ति कर र मालपोतको प्रचलित दरमा १० प्रतिशत छुट ।
- कोरोना महामारीका कारण थला परेको उद्योग व्यवसायलाई राहत स्वरूप व्यवसाय करअन्तर्गत होटल व्यवसायमा १० प्रतिशत र अन्य सबै व्यवसायमा ५ प्रतिशत छुट ।
- सफाइ सेवा शुल्क फोहोरमैला संकलन गाडीको रुटको ५० मिटर दायाँबायाँ मात्र असूल गरी सेवा प्रवाहको रुट बाहिर छुट ।
- शिक्षण संस्था, सहकारी संस्था, गैसस र उद्योगको नाममा हुने नक्सापासको दस्तुरमा २५ प्रतिशत छुट ।
- इलाम नगरपालिकालाई भ्रष्ट्राचारमुक्त तथा बेरुजु शून्य नगरपालिका निर्माण गरिनेछ ।
- स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भई इलाम नगरपालिकामा नयाँ नेतृत्व निर्वाचित भई आएको हुँदा नगरको यथार्थ आर्थिक अवस्थाको बारेमा नगरवासीलाई जानकारीको लागि २०७९ असार मसान्तसम्मको अवस्था झल्किने श्वेतपत्र÷आधारपत्र आ.ब. २०७९÷८० को पहिलो चौमासिक अवधि भित्र जारी गरिनेछ ।
- नगरपालिकाको सूचना शाखालाई अझ व्यवस्थित गरी भूउपयोग योजना, नगर यातायात गुरुयोजना, नगर पाश्र्वचित्र र विकास निर्माण मापदण्डलाई डिजिटल माध्यमले राखी नगरका ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, सांस्कृतिक, धार्मिक सम्पदाहरुको अभिलेखीकरण र खानेपानी मुहान, पोखरी, वनजंगल जस्ता सम्पदा समेतको अभिलेख अद्यावधिक गरी राखिनेछ ।
- समुन्नत इलाम, सम्पन्न इलामेलीको नारालाई मूर्त रूप दिनका लागि नवीन सोच का स्रष्टा÷सर्जकहरु बिच प्रतियोगिता गराई पुरस्कृत गरिनेछ र प्राप्त नवीन सोचलाई नगरपालिकाको कार्यक्रममा समावेश गरेर इलामको समग्र विकासमा प्रयोग गरिनेछ ।
- इलाम नगरको आर्थिक समुन्नतिका लागि बडाहाकिम गजराजसिंह थापा स्मृति प्रतिष्ठान स्थापना गरी सो प्रतिष्ठानमार्पmत आर्थिक समृद्धि तथा लगानी प्रवद्र्धनका क्रियाकलापहरु सञ्चालन गरी लगानीको क्षेत्रका अनुभवी व्यक्तिहरुको अनुभव र क्षमतालाई परिचालन गरिनेछ । यस प्रतिष्ठानमार्पmत वर्षेनी उत्कृष्ट किसान तथा उद्योगीलाई सम्मान तथा पुरस्कार दिइनेछ ।
- लक्षित समुदायअन्तर्गत विशेष गरी दलित समुदायको विकासका लागि काले दमाई स्मृति प्रतिष्ठान स्थापना गरी सो प्रतिष्ठानमार्पmत रोजगार सिर्जना र आर्थिक समृद्धिका क्रियाकलापहरु सञ्चालन गरी दलित समुदायको हक, हित र अधिकारमा समर्पित व्यक्तिहरुको अनुभव र क्षमतालाई परिचालन गरिनेछ ।
- असहाय गरिब तथा हिंसा पीडितहरुलाई सहज ढङ्गले न्यायमा पहुँच तथा विगतमा न्यायिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने कानुन व्यवसायी श्री गणेशदास श्रेष्ठको सम्मानको लागि गणेशदास श्रेष्ठ कानुनी सहायता कार्यक्रम सञ्चालन गरी प्रत्येक वडामा मेलमिलाप केन्द्रलाई सहयोग गरिनेछ । बार एसोसिएसनसँग सहकार्य गरी कानुनी साक्षरता प्रवद्र्धन गरिनेछ ।
- नगरपालिकाद्धारा सञ्चालन भएका कार्यक्रमको अनुगमन मूल्याङ्कन प्रभावकारी रुपमा गरिनेछ । नगरपालिकाअन्तर्गत सञ्चालन हुने योजना तथा कार्यक्रमको अनुगमनमा सुशासन तथा संस्थागत विकास समितिका पदाधिकारीहरुलाई आवश्यकतानुसार परिचालन, अनुगमन तथा मूल्याङ्कन प्रक्रियामा लाभग्राहीलाई समेत सहभागी गराउने पद्धति विकास गरिनेछ ।
- वडा कार्यालय, नगर प्रहरी तथा अनुगमनका लागि जिम्मेवार निकायलाई परिचालन गरी बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण सम्बन्धी कार्य गरिनेछ ।
- मदिरा बेचबिखन तथा जथाभावी सेवन र सो कारण सिर्जित घरेलु हिंसा तथा सामाजिक अपराध साथै लागू औषध सेवन जस्ता कार्यलाई प्रहरी समेतको सहयोगमा नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारीलाई प्रभावकारी गरिनेछ ।
- नगरपालिकाको राजश्व नीतिमा करको दायरा फराकिलो बनाउने कार्यलाई प्राथमिकतामा राखेर प्रगतिशील कर प्रणालीलाई अवलम्वन गर्दै दोहोरो कर प्रणालीलाई अन्त्य गरी लगानीमैत्री, रोजगारमैत्री र उद्यममैत्री कर प्रणालीलाई प्रोत्साहित गरी करदस्तुर करले होइन, रहरले तिर्ने वातावरण बनाइनेछ ।
- न्यायिक समितिलाई प्रभावकारी तथा सवल वनाउन श्रोत साधनको व्यवस्थापन गरिनेछ । वडा वडामा स्थापित मेलमिलाप केन्द्रमार्पmत कानुनी साक्षरता तथा मानव अधिकार प्रवद्र्धनलाई कार्यान्वयन गरिनेछ ।
- प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ र सहभागिता तथा श्रममा आधारित रोजगारका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- नगरपालिकाको सूचना तथा तथ्याङ्क प्रणालीलाई भौगोलिक सूचना प्रणालीमार्पmत व्यवस्थित गरी नगरको नगर पाश्र्वचित्र र आधारसूचक तयार गरीे तथ्याङ्कहरुलाई डिजिटल माध्यमबाट व्यवस्थित गरिनेछ ।
- नगरपालिकामा संस्थागत तथा व्यक्तिगत विज्ञ जनशक्ति र नगरपालिकामा कार्यरत विज्ञ जनशक्ति समेतको सूची (रोस्टर) तयार गरी सूचना शाखामा व्यवस्थित गरी अद्यावधिक गरिनेछ ।
- विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसहरुलाई अवसरको रुपमा लिई सामाजिक चेतना अभिबृद्धि गर्दै यस्ता दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति, समूह, संस्थाहरुलाई सम्मान तथा पुरस्कारको व्यवस्था गरिनेछ ।
- इलाम नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७६ लाई समयानुकूल परिमार्जन गर्दै लैजाने र नगरपालिकाको सांगठनिक संरचना तालिका अनुसारका महाशाखा तथा शाखामा प्रदेश लोक सेवा आयोगबाट कर्मचारी सिफारिस भई आएका बखत सोही अनुसार हुने गरी तत्काल आवश्यकता परिपूर्ति गर्न करारसेवामार्फत विज्ञ÷सल्लाहकार लगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिनेछ ।
- नगरपालिकाको आवश्यक जनशक्ति व्यवस्थापन गर्दा लक्षित वर्गअन्तर्गत दलित समुदायलाई प्राथमिकता दिने नीति अवलम्बन गरिनेछ ।
- भूउपयोग योजनालाई प्रभावकारी रुपमा लागू गर्न भूमि व्यवस्थापन शाखामा जनशक्ति तथा उपकरण थप गरिनेछ र वडास्तरमा कार्यान्वयनको लागि कार्ययोजना तयार गरिनेछ ।
- कर्मचारीको क्षमता विकास तथा बृत्ति विकासका लागि क्षमता विकास योजना तयार गरी कार्यान्वयन गरिनेछ ।
- करको दरमा समायोजन गरी करको दायरा फराकिलो वनाइनेछ । नगरपालिकाको सूचना प्रणालीलाई एकीकृत सूचना प्रणाली अनलाइन सेवामार्फत सञ्चालन गरी वडा वडाबाटै कर असुली गर्ने व्यवस्था मिलाई करदाताका लागि सहज वातावरण बनाइनेछ ।
- करदातालाई कर तिर्न प्रोत्साहन गरिनेछ र नगरका उत्कृष्ट करदातालाई पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ ।
- राजश्व प्रशासनलाई सुदृढ गर्न वडा कार्यालयमार्पmत व्यवसायकर, बहालकर, नक्सापास र बहाल बिटौरीलाई अभियानको रुपमा सञ्चालन गरी अभिलेख अद्यावधिक गरिनेछ ।
- साझा हित र सरोकारका विषयमा आवश्यकतानुसार स्थानीय तह संयुक्त समिति गठन गरी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
- नेपाल सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना, सामाजिक सुरक्षा कोष र बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ
- लैगिक उत्तरदायी बजेट निर्माण तथा परीक्षण कार्यलाई प्रभावकारी गरिनेछ ।
- सुरक्षित आप्रवासनका लागि नगर प्रमुख सुरक्षित आप्रवासन आपतकालीन कोष निर्माण गरी सञ्चालन व्यवस्थापन गरिनेछ र यसअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम अभिबृद्धिको लागि जनशक्ति व्यवस्थापन गरिनेछ ।
- नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य केन्द्र, विद्यालयहरुमा सिसिटिभी क्यामेरा जडान, इ हाजिरी, डिजिटल सूचनापाटी, मोवाइल एप जस्ता आधुनिक प्रविधिहरुको प्रयोग बढाउँदै लगिनेछ ।
- नगरवासीहरुमा सुशासनको अनुभूतिका लागि जनतासँग मेयर कार्यक्रम, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सेवाग्राही सन्तुष्टि सर्वेक्षण, पदाधिकारीहरुलाई अनिवार्य शपथ, सूचना प्रवाह जस्ता माध्यमको प्रयोगबाट पारदर्शिता, जिम्मेवारिता, जवाफदेहितालाई प्राथमिकतामा राखिनेछ ।
- सेवाग्राहीको गुनासो सुनुवाइलाई प्रभावकारी गर्नका लागि गुनासो सुन्ने अधिकारी, स्वास्थ्य हेल्प डेस्क, नगर प्रहरी डेस्कलाई अझ प्रभावकारी गर्दै वडा कार्यालयबाट समेत गुनासो सुनुवाइ र सम्बोधन गर्ने गराउने व्यवस्था मिलाइनेछ ।
- नगरवासीका कोखदेखि शोकसम्मका समस्या समाधानको आवश्यक पहल गरीनेछ ।
- दीगो विकासका लक्ष्यहरुको स्थानीयकरणका लागि कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ र विषय क्षेत्रगत योजना तर्जुमाको कार्यलाई दीगो विकास लक्ष्यसँग तादम्यता मिलाइनेछ ।
- इलाम नगरपालिकाअन्तर्गतका विषयगत समितिबाट प्राप्त सुझावहरुलाई उपलब्ध स्रोत साधनका आधारमा कार्यान्वयन गर्दै लगिनेछ ।
- सेवाग्राहीहरुलाई अनलाइन सेवाबाट सेवा उपलब्ध गराउने प्रणाली विकास र सञ्चालन अझ प्रभावकारी गरिनेछ ।
केदार थापा (प्रमुख) इलाम नगरपालिका