सन्दकपूर । विश्वका हजारौँ पर्यटकको रोजाईमा रहेको सन्दकपूरप्रति नेपाल सरकारको ध्यान अधिक नै पुगेको छ । देशमा नयाँ संविधान निर्माणपछि बनेका तीन तहका सरकारहरुले सन्दकपूरको पूर्वाधार निर्माणमा ध्यान दिएका छन् । देशमा संघीय संरचनामा परिर्वतन भएसँगै सन्दकपूरमा विद्युतको राष्ट्रिय प्रशारण लाइन पनि पुगेको छ ।
सडक स्तरउन्नती र कालोपत्रे सडकले जोडिदैँछ । माई नदीको मुहान क्षेत्र रहेको सन्दकपूरमा पर्यटकीय पूर्वाधार निर्माणका काम पछि तिब्र रुपमा भएका छन् । प्रदेश एक सरकारको लगानीमा सन्दकपूरको पूर्वाधार निर्माणका योजनाहरु बढी मात्रामा कार्यान्वयन हुँदै आएका छन् । तर पूर्वाधार निर्माणका लागि यहाँको मौसम तगारो बन्दै गएको छ ।
वर्षातमा झरि, हिउँदमा हिउँ जम्ने भएपछि सरकारका योजनाहरुपनि समयमा सम्पन्न गर्नमा बाधा पुगेको छ । वर्षातको झरी, हिउँदको हिउँका कारण पूर्वाधार निर्माणको योजना कार्यान्वयनमा समस्या भएको हो । त्यसको प्रत्यक्ष उदाहरण बनेको सन्दकपूरमा निर्माण हुँदै गरेको पर्यटकीय आवाश गृह । प्रदेश एक सरकारको लागानीमा निर्माण हुँदै आएको पर्यटक आवाश गृह निर्माणका लागि २०७६ असार २९ मा ठेक्का संझौता गरेको थियोे ।
विश्वमै सबैभन्दा धेरै हिमालका चुचुराहरुको दृश्यमा रमाउन सकिने सन्दकपूरमा नेपाल तर्फबाट सरकारी संरचना निर्माण शुरु भएको थियो । प्रदेश एक सरकारले पर्यटक आवास गृह निर्माणको थालनी गरि ठेक्का संझौता गरेको थियो । निर्माणको अवधि दुई वर्ष भएपनि निर्माण स्थलको समस्याले १८ महिना बित्यो । नेपाल भारत सीमा क्षेत्रमा पर्ने सन्दकपूरमा भारतपट्टि पूर्वाधार निर्माणको काम भएपनि नेपालपट्टि काम गर्नका लागि तयार भएको स्थानमा हतियारधारी भारतीय सीमा सुरक्षा बलले निर्माणमा अवरोध गरेका थिए । सोहि विवादका कारण निर्माणस्थल छनौटमा पनि समस्या भएको थियो ।
२४ महिनामा नै निर्माण सक्ने म्याद भएपनि निर्माणस्थल छनौट नहुँदा समयमै काम थाल्न सकेनौँ निर्माण व्यवसायी नविन तामाङ भन्छन्–‘ म्याद सकिन बाँकी ४ महिना हुँदा काम त शुरु गरौँ मौसम प्रतिकुलाताले काम नियमित काम गर्न सकिएको छैन ।’ वर्षातम झरी अनि हिउँदमा हिउँ जम्मा हुने भएकाले काम गर्ने समय नै वर्षमा चार महिना हुन्छ । कच्चि सडकले जोडिएपनि ढुवानीका लागि ठुला सवारीसाधन पु¥याउन मुस्किल भएकाले निर्माण सामग्री हिमाली क्षेत्रमा संचालन हुने ल्याण्डरोभर गाडिमा पुयाउने गरेका छौँ, निर्माण व्यवसायी तामाङ भन्छन्–‘वर्षात सकिएपछि अशोज, कात्तिक र मंसिरमा काम गर्ने समय भएपनि सन्दकपूरमा कात्तिक अन्त्यसम्म नै पानी पर्ने गरेको छ ।’ मंसिरबाट काम शुरु गर्यो पुषदेखि हिउँ पर्न थाल्छ, उनी भन्छन्–‘यस वर्ष एक तला ढलान गर्ने योजना थियो पुषको पोहिलो सातादेखि बाक्लो हिउँ परेपछि काम रोकिएको छ ।
३६३६ मिटर उचाईमा रहेको सन्दकपूर इलाम सदरमुकामबाट ४२ किलोमिटरको यात्रामा पुगिन्छ । निर्माणका सामग्री ढुवानी पनि इलाम सदरमुकामबाटै हुँदै आएको छ । हिमाली क्षेत्र र तराई क्षेत्रमा पनि निर्माणका आयोजनाहरुको म्याद एउटै हुन्छ व्यवसायी तामाङ भन्छन्–‘हिमाली क्षेत्रको मौसम प्रतिकुल हुँदा काम गर्न निक्कै समस्या हुने देखिन्छ ।’ सन्दकपूरमा अहिले बाक्लो हिउँ जमेको छ । पुषको पोहिलो साताबाट परेको हिउँ माघ महिनामा झनै थपिएका कारण कहिले हिउँ पर्न छोड्छ र बिलाउँछ भनेर कुर्नु परेको छ ।
हिउँदमा चिसो मौसम हुने भएकाले पक्कि संरचना निर्माण गर्दा सिमेन्ट सेट हुन लामो समय लाग्छ जसका कारण संरचना नै कमजोर हुने भएकाले काम नै रोक्नु परेको हो । हिउँद महिना लागेपछि शुरु भएको हिमपात कहिले बैशाखसम्म हुने भएकाले काम गर्न नै समस्या हुने गरेको हो । सन्दकपूरमा पर्यटक आवासका लागी तीनतले भवन निर्माणको ठेक्का पाएको थियो ।
भवन निर्माणका लागि एसएम एस थेवे देवीडाँडा निर्माण सेवाले ठेक्का पाएको थियो । २ करोड ८ लाख ५९ हजारमा संझौता भएको भवन निर्माणको म्याद कोराना माहामारीका कारण २०७८ चैत्रसम्म थपिएको छ । तर मौसम पक्कि संरचना निर्माणका लागि प्रतिकुल हुँदा निर्माण सक्न निक्कै चुनौती छ–निर्माण व्यवसायी तामाङ भन्छन्–‘हामीले फागुन र चैत्रमा हिउँ पग्लिएर मौसममा सुधार भए काम गर्ने योजना बनाएका छौँ ।