इलाम । पर्यटकीय जिल्ला इलामको सदरमुकाममा प्रदेश नम्बर एक सरकारको गौरवको आयोजना बहुतले मोटर पार्किङ भवन निर्माणले तिब्रता पाएको छ । नेपालमा सरकारीस्तरबाट पहिलोपटक निर्माण हुँदै आएको भवनमा ४७ चारपाङ्ग्रे साना सवारी र दुई सय ५० मोटरसाइकल पार्किङ्ग गर्न सकिने छ ।

पर्यटकीय जिल्ला इलाममा बहुतले मोटर पार्किङ र सिनेमा हल सहितको भवन निर्माणको कामले तिब्रता पाएको छ । प्रदेश नम्बर एक सरकारको गौरवको योजनाका रुपमा रहेको बहुतले पार्किङसहतिको भवन ११ करोड १० लाख ३९ हजारमा निर्माण हुँदै आएको हो ।

जिप, कार र भेनसँगै साना सवारीसाधन पार्किङ गर्न सकिने भवन नेपालमा सरकारीस्तरबाट पहिलो पटक निर्माण हुँदै आएको छ । इलाम नगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रस्ताव अनुसार एक तला अन्डरग्राउण्ड सहित तिनतला पार्किङ, चौथो तलामा दुईवटा सिनेमा हल र फुड कोड रहने इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए ।

पार्किङ भवन निर्माणले सडकमा अव्यवस्थित रुपमा हुने पार्किङको व्यवस्थापन हुनेछ । प्रदेश एकको गौरवको योजनामा रहेको बहुतले भवनमा भुक्तानी समस्या नहुने भएकाले समयमै निर्माण सम्पन्न हुने प्रदेश एक सरकार शहरी तथा भवन डिभिजन इलामका प्रमुख रुद्रनारायण मिश्रले बताए ।

इलाम नगरपालिकाले २३ करोड ६१ लाखको डिपिआर तयार गरेकोमा प्रदेश सरकारबाट परिमार्जन गरी १७ करोडमा लागत स्टामेट तयार भएको थियो । भवनको कविन्द्र नवसिर्जन जेभिले ११ करोड बढीमा ठेक्का पाएको थियो ।

२०७९ चैत्र ३० सम्ममा सक्नुपर्ने गरि ठेक्का संझौता भएपनि भुक्तानीको समस्या नआए समय अगावै निर्माणको काम सकिने निर्माण कम्पनीका निर्देशक संकर पाण्डेले बताए । चार रोपनी क्षेत्रफल निर्माण हुँदै आएको भवनको सिनेमा हलमा प्रतिहल २ सय ५० जना अट्ने क्षमता रहने छ । भवनमा ४७ साना सवारी र दुई सय ५० मोटरसाइकल पार्किङ्ग गर्न सकिनेछ । प्रदेश नम्बर १ सरकारले सडक सुशासनको नमुना शहर बनाउने घोषणा अनुरुप पहिलो पटक इलाममा बहुतले भवन निर्माण हुदैँ आएको हो ।