इलाम । इलामको जोगमाई खोलामा जडान गर्ने तयारी गरिएको मोडुलर बेली ब्रिजको सामान अन्यत्र लगिएको पाइएको छ। इलाम ल्याइएको पुलको केही सामान रसुवा लानको लागि इलाममा ल्याईएको बाहेक बाँकी रहेको सामानसमेत हेटौँडा पुर्याइएको जनाइएको छ।
जोगमाई खोलाको पुल निर्माणका लागि करिब चार ट्रक सामान इलाम ल्याइएको थियो। तर, इलाममा बाँकी रहेको सामान हेटौँडा पुर्याएर त्यहाँबाट रसुवा लैजाने तयारी गरिएको बताइएको छ। विपद्का कारण सडक तथा पुलको समस्या झेलिरहेको इलाममा ल्याइएको पुलको सामान अन्यत्र लैजान थालेपछि स्थानीयस्तरमा समेत चासो बढेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलामका जिल्ला अध्यक्ष दिनेश महतले इलाममा आएको पुलको सामान हेटौँडा पुर्याइएको खबर आफूले पाएको बताए। उनका अनुसार उक्त पुल इलाम ल्याउन आफूहरूलगायत धेरै पक्षले लामो समयदेखि पहल र संघर्ष गरेका थिए। तर, इलामको विपद्को अवस्थालाई बेवास्ता गर्दै पुलको सामान अन्यत्र लैजानु दुःखद् भएको उनको भनाइ छ।
“धेरैले संघर्ष गरेर पुल इलाम ल्याइएको थियो। अहिले यहाँको विपद्को अवस्थालाई छाडेर पुलको सामान अन्यत्र लगिएको खबर आएको छ,” महतले भने। महतले पुलको करिब आधा सामान इलाम आइसकेकाले बाँकी सामानसमेत इलाममै फिर्ता ल्याई जोगमाई खोलामा पुल निर्माण गर्न आवश्यक समन्वय भइरहेको बताए साथै जोगमाई ल्याईएको सामान कुनै पनि हालतमा उठाउन नदिने समेत बताए ।
सडक डिभिजन इलामा प्रमुख पवन भट्टराई आधिकारिक रुपमा जोगमाईको पुल रसुवा लगिएको जानकारी नआएको बताउँछन् ”इलामबाट पुल लगिएको भन्ने सुन्नमा आएको हो आधिकारिक रुपमा सुचना आएको छैन् । इलाम विपदग्रस्त जिल्ला भएकाले प्राथमिकतामा राखेर सामान आउनुपर्ने हो । जेठमा आउनुपर्ने सामान अहिले मात्र आएको छ । तर पनि अन्तै लगिने भन्ने सुन्नमा चाहि आएको छ ।”
इलामका विभिन्न सडक तथा खोलामा आएको बाढी–पहिरोका कारण यातायात प्रभावित भइरहेका बेला जोगमाई खोलामा पुल निर्माण हुने अपेक्षा गरिएको थियो। पुलको सामान अन्यत्र लैजान थालेपछि भने स्थानीयस्तरमा यसको निर्माण अनिश्चित बन्ने चिन्ता बढेको छ।