माबु । इलामको उत्तरी सन्दकपूर गाउँपालिका ४ को माबु क्षेत्रमा प्रदेश सरकारबाट निर्माण भएका योजनाको गुणस्तर बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सासंद खिनु लङ्वा लिम्बु र सन्दकपूर ४ का जनप्रतिनिधिसँगै मतदातासँग प्रदेश एक सरकारले गरेका योजनाहरुको बारेमा अन्तरक्रिया सम्पन्न भएको हो ।

सन्दकपूर गाउँपालिका ४ मा निर्माण हुँदै आएका बहुबर्षे आयोजनाहरु र क्रमगत रुपमा हरेक वर्ष हुँदै आएका विकासका योजनाहरुको कामको प्रगतिसँगै गुणस्तरका बारेमा प्रदेश सासंद खिनु लङ्वा लिम्बुले जानकारी लिएकी थिइन् । सन्दकपूर ४ मा भएर प्रदेश एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपूर जोड्ने माबु सन्दकपूर सडकको पहिलो खण्डको ६ किलोमिटर र दोस्रो खण्डको साढे १२ किलोमिटर सडक कालोपत्रे गर्ने काम हुँदै आएको छ ।

प्रदेश सासंद लङ्वा प्रस्तावमा सन्दकपूर ४ र ५ जोड्ने धुवाखोलामा पुल निर्माण हुँदै आएको छ । त्यस्तै प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपूरमा तीन किलोमिटर टे«ल रोड, प्रसिद्ध माई नदीको मुहान क्षेत्रमा पूर्वाधार निर्माण र पर्यटकीय गेष्ट हाउससँगै खानेपानी आयोजना पनि प्रदेश एक सरकारको लगानीमा निर्माण हुँदै आएको छ ।

सन्दकपूर ४ मा श्रीयाङ्जी खानेपानी आयोजनाको पनि निर्माणका लागि डिपिआर गर्ने काम सकिएको छ । प्रदेशका योजनाहरुको कार्यान्वय गर्दा आईपर्ने समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधिले गरेको समन्वयको प्रदेश सासंद लङ्वाले प्रसंशा गरिन् । प्रदेश सरकारले बहुवर्षे ठेक्का स्वीकृत गरी निर्माण शुरु भएका आयोजनाहरुमा बजेट अभाव हुन नदिन निरन्तर लागिपर्ने र गुणस्तरका बारेमा स्थानीय जनप्रनिधिसँगै जनताले निरन्तर खबरदारी गर्नुपर्ने प्रदेश सासंद लङ्वाको भनाइ थियो ।

क्रमागत रुपमा हुँदै आएका सडक, पुल, खानेपानी र पर्यटन पूर्वाधारहरुको काम निरन्तर रुपमा अघि बढ्ने भएकाले गुणस्तर काम गर्न जनतालेनै अनुगमन गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सन्दकपूर ४ का वडाध्यक्ष वर्तमान गुरुङ्गले जनताका माग अनुसार प्रदेश सरकारबाट योजनाहरु छनौट हुँदै आएकाले थप योजनाहरु कार्यान्वयनका लागि पहल गर्न प्रदेश सासंद खिनु लङ्वासँग आग्रह गरे । जनताका योजनाहरु प्राथमिकताका आधारमा कार्यान्वयन गर्नेमा हामी आसावादी छौँ वडाध्यक्ष वर्तमान गुरुङले भने–‘प्रदेश सरकारबाट सन्दकपूर गाउँपालिका भित्र थुप्रै योजनाहरु कार्यान्वयन भइरहेका छन्, त्यसका लागि पहल गर्ने प्रदेश सासंदको कामप्रति प्रशंसा गर्न चाहान्छौँ ।’ कार्यक्रमा सन्दकपूर ४ का वडासदस्य छत्र दियालीले वडाको गौरवको रुपमा रहेका माबु सन्दकपूर सडक कालोपत्रे गर्ने कामको थालनीले माबुबासी खुशि भएको बताए ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादी सन्दपूर गाउँपालिका इञ्चार्ज तथा सन्दकपूर ३ का वडासदस्य हरि लुङ्गेलीले प्रदेश एक सरकारबाट स्थानीय तहले छनौट गरेका योजनाहरुमा बजेट विनियोजन गरि निर्माणको अनुगमन गर्ने काम प्रदेश सासंसबाट हुनुले जनतामा उत्साहा आएको बताए । कार्यक्रममा सन्दकपूर ४ का वडासदस्य नरमाया सुब्बाले विकासका योजनाहरु समयमै कार्यान्व्यन हुनुपर्नेमा जोड दिइन् ।