Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लोदिया खोलामा झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा

लोदिया खोलामा झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा

  • सन्देश सम्बाददाता
  • बिहिबार, मंसिर २५ २०७७


लोदिया खोलामा झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा

माई । इलामको माई नगरपालिका वडा नं ९ र १० लाई जोड्ने स्थित लोदिया खोलामा निर्माणाधीन ८५ मिटर लम्बाईको झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ । पुलको अहिले लठ्ठा झुलाउने र मिलाउने कार्य सम्पन्न भएको छ ।
संघीय सरकारको झोलुंगे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत माई नगरपालिका मार्फत संचालित पुल आयोजना उपभोक्ता समितिबाट निर्माण हुँदै आएको छ । आयोजनाको प्राविधिक तथा सामाजिक रुपमा सुनगाभा विकास संस्था इलामले सुपरीवेक्षण गर्दै आएको छ ।
४२ लाख २५ हजार ५ सय २६ रुपैयाँमा निर्माण शुरु भएको आयोजनाको लागि संघीय सरकारबाट ९२ प्रतिशत सशर्त अनुदान र माई नगरपालिकाको आन्तरिक कोषबाट ६ प्रतिशत र बाँकी २ प्रतिशत उपभोक्ता समितिबाट श्रमदान व्यहोर्ने गरी निर्माण शुरु भएको छ । २०७६ पुस १ गते सम्झौता भई निर्माण कार्य भईरहेको नगरपालिकाका निमित्त लेखा अधिकृत क्षेत्रनाथ शर्माले बताए । सम्झौता भएको मितिले १८ महिना भित्रमा सम्पन्न गरिसक्नु पर्ने भएपनि सम्झौता मिति अघि नै सम्पूर्ण कार्य सम्पन्न भई ढोडेनी, साजबोटे, बेलडाँडा तथा मगर गाउँका विद्यार्थीहरुलाई विद्यालय आउजाउमा सहज हुनुका साथै हाटबजार , स्वास्थ्य सेवा लिन सहज हुने उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर राईले बताए । यस आयोजनाको लागि आवश्यक स्टील पार्टस् लगायतका सामग्री नगरपालिकाबाट खरिद भई अघिल्लो आर्थिक वर्षमा नै उपभोक्ता समितिलाई हस्तान्तरण भएकाले अबको ४ हप्ताभित्रमा पुलको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने सुनगाभा विकास संस्थाका प्राविधिक रोशन सुब्बाले बताए ।
हाल ईलाम जिल्लामा प्रदेश सरकारमार्फत ३ वटा तथा संघीय सरकारअन्तर्गत सम्बन्धित गाउँपालिका र नगरपालिकाहरुमा ७ वटा गरी जम्मा १० वटा झोलुंगे पुलहरु फाकफोकथुम, माईजोगमाई, सन्दकपुर , चुलाचुली, रोङ, सूर्याेदय, माई, देउमाई नगरपालिकामा पुल निर्माणाधीन अवस्थामा रहेका छन् । ती आयोजनाहरु यसै आर्थिक वर्षभित्र सम्पन्न हुने सुनगाभा विकास संस्था, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका संयोजक दिवस घिमिरेले बताए । सुनगाभा विकास संस्थाले इलाम जिल्लामा वि.सं. २०६२ सालदेखि १०४ वटा भन्दाबढी झोलुङ्गे पुल निर्माण गरिसकेको छ । त्यस्तै आगामी आर्थिक वर्षमा जिल्लाभर ११ वटा झोलुङ्गे पुलहरुको माग भएका संयोजक घिमिरेले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार