इलाम । इलामको पहिलो व्यवसायिक भवन सिटि मार्टको निमार्ण अन्तिम चरणमा पुगेको छ । वडा नं ७ को नयाँबजारमा इलाम नगरपालिका र नेपाल सरकारको १५ करोड भन्दा बढिको लागतमा निर्माण हुँदै गरेको भवनको ९५ प्रतिशत काम सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ ।
बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर आसपासमा रहेको साना टहराहरु हटाएर निर्माण गरिएको भवनका लागि ११ करोड ८४ लाख ८४ हजार २ सय २६ रुपैयाको लागत अनुमान गरिएको थियो । ९ करोड ७१ लाख ७८ हजार ५ सय २१ रुपैया ठेकेदार कम्पनी विकोइ भगवती जेभीसंग सम्झौता गरी निर्माण थालिएको मार्ट २०७७ पुष ३० गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ ।
भवनमा थप संरचना बनाउनुपर्दा लागत बढेर गएको नगरपालिकाका इन्जिनियर दिपक गुरगाईले बताए । निर्माणाधीन सिटी मार्टको टप तल्लामा एकातर्फ सब्जी बजार र एकातर्फ मासुपसल राख्ने उद्धेश्य भएपनि मासुपसल व्यवसायीहरुले त्यस भवनको टप तल्लामा मासु पसल राख्न असुविधा हुने भएकोले अन्यन्त्र स्थानमा व्यवस्थित गरी दिन अनुरोधका कारण लागत बढेको गुरगाईले बताए ।
उनले मोटर साइकल पार्किङ भवनसँग जोडिएको हुलाकतर्फ बाँकी रहेको जग्गामा ७ वटा मासु पसल निर्माण हुँदा लागत १५ करोड ९२ लाख ३७ हजार रुपैया भन्दा बढि पुग्ने अनुमान गरिएको बताए । लिफ्ट सहितको सुविधाजनक व्यापारिक कम्प्लेक्समा ७८ बटा सटर पसल, ३३० जना क्षमताको १ पार्टि प्यालेस हल र १२० जना क्षताको एउटा रेस्टुरेण्ट संचालन हुनेछ ।
त्यसैगरी सिटी मार्ट भवन अगाडी दुइ ब्लकमा ५ बटा सटर पसल समेत रहनेछन् । पार्किङ्ग भवन माथि मासुपसलको पछाडि तर्फ रेस्टुरेण्ट थप निर्माण भएको छ । सब्जि बजार ब्यबस्थित गर्न तल थप ग्यावियन वाल को चेकड्याम र नाली निर्माणका साथै अस्पतालको पुरानो पोस्टमार्टम घर मा पुगेको बाटोबाट नया ट्रयाक खोली सब्जिबजार तथा ओपिडि ब्लक सम्म पुग्ने बाटो निर्माण समेत गरिएको छ ।
सिटी मार्ट भवन निर्माण नगरपालिकाको बजार व्यवस्थापन, चौक बजारक्षेत्र व्यवस्थापन कार्यको लागि महत्वपूर्ण योजना रहेको नगर प्रमुख महेश बस्नेतले बताए । मार्ट निर्माणपछि मासुपसल व्यवस्थापन, खुद्रा छरिएर रहेका पसल व्यवस्थापन हुनेछ । निर्माण क्रममा आइपरेको कोरोना महामारीको लकडाउनले सिर्जित व्यवधानका कारणले शुरुमा तोकिएको समयमा निर्माण सम्पन्न हुन केहि अवरोध भएकाे बताए ।
समय समयमा आवश्यकता अनुसार निर्माण कार्य थप गर्नुपर्दा पटक पटक भेरिएनको कार्य भएता पनि हाल सन्तोषजनक कार्य भइरहेको बस्नेतले बताए । उनका अनुसार मार्ट तोकिएको समयमा नै निर्माण सम्पन्न भई संचालनमा आउनेछ । हरितनगर र सफा शहरका लागि व्यापारिक प्रयोजनको यो भवनको निर्माणले थप सहयोग पु¥याउने अपेक्षा लिइएको छ ।


