इलाम । लकडाउन गरिएसँगै रोकिएको झापबाट ताप्लेजुङ्ग जोड्ने मेचीराजमार्ग विस्तार योजना स्थानीय मजदूरको प्रयोग गरि निर्माण थालिएको छ । इलामको रोङ गाउँपालिकादेखि फिक्कल बजारसम्मको १२ किलोमिटर क्षेत्रमा अहिले ६० जना मजदूरहरु काम गरिरहेका छन् ।

लकडाउन शुरु भएसँगै रोकिएको मेचीराजमार्ग विस्तारको काम पुन : थालिएको छ । कारोना रोग नियन्त्रण तथा व्यवस्थापन समितिले सामाजिक दुरी कायम गरि विकास निर्माणका काम गर्ने निर्णय पछि राजमार्ग विस्तारको काम थालिएको हो ।

इलामको रोङ गाउँपालिकाको कुटिडाँडादेखि सूर्याेदय नगरपालिकाको फिक्कल बजारसम्मको १२ किलोमिटर क्षेत्रमा सडक चौडा गर्ने काम गरिँदै आएको छ । निर्माण सामग्री ढुवानीका लागि बेलुकी ६ बजेबाट बिहान आठबजेसम्मको समय सिमा तोकिएको छ ।

५ मिटर चौडा रहेको राजमार्ग ८ मिटर चौडा गरिँदै आएको छ । वर्षात शुरु भएपछि कालोपत्रे नहुने भएकाले स्थानीय मजदूर प्रयोग गरि निर्माण गरिँदै आएको हो । सडक विस्तारको काममा अहिले स्थानीय ६० जना स्थानीय मजदूरले दैनिक काम गरिरहेका छन् ।

दैनिक सयौँ पर्यटक आउने भएकाले सडक विस्तारलाई प्राथमिकताका साथ काम गरिएको सडक डिभिजन कार्यालय इलामको भनाइ छ । सडक विस्तार गरिएपछि कन्याम घुम्न आउने पर्यटकलाई सडक किनारामै पार्किङ गर्न पाउनेछन् भने पैदल यात्री हिड्ने छुट्टै लेन हुनेछ । घोढचढी पर्यटनको प्रख्यात कन्याममा घोडा हिडाउने छुट्टै मार्ग समेत निर्माण गरिनेछ ।