गत ८ सेप्टेम्बरमा इरानी महिला फुटबल फ्यान शहर खोदायारीले अदालत अगाडी नै आत्मदाह गरिन् । उनको त्यागको सर्वत्र चर्चा मात्र भएन इरानी फुटबलमा एउटा नयाँ क्रान्ति पनि आयो । त्यो हो रंगशालामा गएर महिलाले पुरुष फुटबल हेर्न पाउने अवसर । ४० बर्ष अघि अर्थात सन १९७९ को इस्लामीक क्रान्तिपछि महिलाहरुलाई रंगशाला प्रवेशमा बन्देज लगाइएको थियो । बारम्बार रंगशाला प्रवेशको माग उठेपनि इरान सरकार कठोर बन्दै सुनवाई गरेको थिएन् । तर खोदायारीको आत्मदाहले इरान सरकार र इरानी फुटबल संघलाई झुकाएर छाड्यो । जसको परिणाम स्वरुप विश्व फुटबल महासंघ (फिफा) लाई आगामी महिना तेहरानमा हुने सन २०२२ को कतार विश्वकप छनौट खेल इरानी महिलाहरुले रंगशालामा नै गएर हेर्न पाउने आश्वासन दिएको छ ।
खोदायारी गत मार्चमा भेष बदलेर इरानको राजधानी तेहरानको आजादी रंगशाला आफनो प्रिय क्लब एस्तेगलको खेल हेर्न पुगेकी थिइन । ‘ब्लु गर्ल’ अर्थात ‘निलो केटी’ को उपनामले चिनिएकी उनी निलो नक्कली कपाल र ओभरकोट लगाएर पुरुषको भेषमा रंगशाला छिरेकी थिइन । उनलाई पक्राउ गरेर तत्काल जमानतमा छाडिएको थियो । तर पछि छ महिना कैद हुने भएपछि अदालत अगाडी नै उनले पेट्रोल छर्किएर आत्मदाह गरिन् । जसको विरोधमा क्लब, खेलाडी र सर्मथक उत्रिएपछि इरान सरकारलाई रंगशाला प्रवेश फुकुवा गर्न दबाब परेको थियो ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आइतबार भनेका छन–‘ हामीलाई महिला सहभागी हुनु आवश्यक छ । हामीले यसलाई दृढ र सशक्त ढंगले सम्मानका साथ जोडनुपर्छ ।’ उनले भने ‘हामी आश्वासन दिइएको छ की इरानको आगामी अन्तराष्ट्रिय खेलमा महिलालाई रंगशाला प्रवेशलाई अनुमती दिइनेछ ।’ इरानले आगामी अक्टोबर १० तारिकको दिन कम्वोडियासंग विश्वकप छनौटको पहिलो खेल त्यही रंगशालामा खेल्ने छ । जहाँ प्रवेश गरेको निहुँमा खोदायारीलाई पक्राउ गरी सजाय सुनाइएको थियो । सो खेलमा महिलाहरु रंगशालामा नै गएर हेर्न पाउनेमा फिफा विश्वस्त रहेको छ ।
आगामी नोभेम्बरमा, इन्फान्टिनोको उपस्थिती रहने तेहरानमा एशियन च्याम्पियनसिप लिग फाइनलमा महिलाहरूको एउटा समूहलाई खेल हेर्न अनुमती दिइएको अन्तराष्ट्रिय संचारमाध्यम डीडब्लु ले जनाएको छ ।