चुलाचुली । ४० बर्ष पछि पहिलो पटक भूमिगत जल सिंचाई सफल भएपछि इलामको दक्षिणी भेग चुलाचुलीमा पहिलो पटक भूमिगत सिचाई संचलान भए पछि सो क्षेत्रका नागरिकहरुमा खुशियाली छाएको छ । खानेपानीको समेत ठूलो अभाव रहेको चुलाचुली क्षेत्रमा पहिलो पटक भूमिगत सिंचाई संचालन भए पछि सो क्षेत्रका नागरिकमा खुशियाली छाएको हो ।
जंगल फडानी गरेर बसोवास गरेको झण्डै ४ दशक पछि भूमिगत जल सिंचाई विकास डिभिजन कार्यालय विराटनगर मार्फत अन्नपूर्ण जल उपभोक्ता समितिले सिंचाई शुरुवात गरेको अन्नपूर्ण जल उपभोक्ता समितिका अध्यक्ष लक्ष्मिप्रसाद निरौला बताउनुभयो ।
३५ घर परिवारको ६० विगाह जमिनलाई लक्षित गरी शुरु गरिएको सिंचाईले वेमौषमी तरकारी खेती, धान, मकै, गहुँ र घाँस लगायतका गर्न थालिएको छ । ७ बर्ष अघि देखि भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत भूमिगत जल सिंचाई विकास डिभिजन कार्यालयमा थालिएको प्रकृया चुलाचुलीको हकमा पहिलो पटक संचालन हुँदा जग्गा जमिनको मुल्य समेत बढेको चुलाचुली गाऊँपालिका वडा नं. ४ का अध्यक्ष कालिप्रसाद भट्टराईले बताउनुभयो ।
पानी नै नहुने भनेर बर्षो देखि सवैले हेला गरिएको चुलाचुलीमा पानी आए पछि सो क्षेत्रका नागरिकहरुले वेमौषमी तरकारी खेतीको अवधारणा समेत अगाडि बढाउँन थालेका छन् । प्रति कठ्ठा २ सय रुपयाँका दरले उपभोक्ताबाट संकलन गरेको २ लाख ४० हजार सहित ७० लाख हाराहारीमा चुलाचुलीमा भूमिगत सिंचाई सफल भएको छ । विधुतीय उर्जाको सहयताबाट जमिन मुनीको पानीको सिंचाई शुरु भएसँगै हरियाली चुलाचुली बनाउने लक्ष्य लिइएको जल उपभोक्ता समितिका सचीव मोहन तुम्रुकले बताउनु भयो ।
इलाम जिल्लाको दक्षिणी भेग चुलाचुली गाऊँपालिकामा ४० बर्षको इतिहासमा पहिलो पटक भूमिगत जल सिंचाई आयोजना संचालन गरिएको छ । वेमौषमी तरकारी खेती लगायतका अन्य बालीहरु प्रति सिंचाई आयोजना संचालन भएसँगै कृषकहरुको आकार्षण बढ्न थालेको छ ।