Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जनताको गुनासो सुन्न गुनासो चौतारी कार्यक्रम लिएर वाड वाडमा पुगीरहेका छौ : वडाध्यक्ष लामा

जनताको गुनासो सुन्न गुनासो चौतारी कार्यक्रम लिएर वाड वाडमा पुगीरहेका छौ : वडाध्यक्ष लामा

  • नमीन ढकाल
  • मंगलबार, माघ २३ २०७४


जनताको गुनासो सुन्न गुनासो चौतारी कार्यक्रम लिएर वाड वाडमा पुगीरहेका छौ :  वडाध्यक्ष लामा

पेमा उगेन लामा सुर्योदय नगरपालिकाका कान्छा वडाध्यक्ष हुन । नगरपालिकाको प्रवक्ता समेत रहेका उनी स्थानिय स्तरमा भाइचुङ नामले परिचित छन । स्व. पासाङ छिरिङ लामा र सोनाम दिकी काजीका छोरा उनले विद्यालय तह एभरल्यान्ड एकाडेमी र प्लस टु विर्तामोडको एमिटी कलेजबाट उतिर्ण गरेका हुन । सामाजिक र राजनितिक रुपमा सक्रिय लामासंग सुर्योदय नगारपालिकाको गतिविधी र आगामी कार्यदिशाको बारेमा लाेकल सन्देश डटकमका लागी नमीन ढकालले गरेको कुराकानीको अंश : 

तपाइको राजनितिक र सामाजिक पृष्ठभुमीको बारेमा अलिकति बताइदिनुहोस न ?
म लामो समयदेखी युवा संघमा रहेर काम गरिरहेको छु । सामाजिक क्षेत्र र खेलकुद क्षेत्रमा पनि सक्रिय नै छु । युवा संघ इलाम जिल्ला कमिटी हुँदै सचिवालय त्यसपछि मेची अञ्चल कमिटी सदस्य भएर काम गरे । हाल प्रदेश नं १ को कमिटीमा रहेकोछु । जिल्ला खेलकुद विकास समितीको कोषाध्यक्ष पनि भए ।
स्थानिय तहको निर्वाचनको बेला भोट माग्न पुग्दा जनताहरुको अपेक्षा कस्तो पाउनुभयो ?
सुर्योदय नगरपालिका–१० नगरपालिकाको केन्द्रबिन्दु हो । जनताको अपेक्षा धेरै छन । यो क्षेत्र अन्य वडाको तुलनामा सुगम भएपनि बाटो, खानेपानी, विद्युत लगायत दैनिक आवश्यकता र साधारण कुराको समेत समस्या रहेको घरदैलोको क्रममा पाएको छु । युवा सशक्तिकरणको कुरा उठेका छन । युबालाई खेलमैदान देखी लिएर रोजगारसम्म चाहिएको छ । महिला दिदिबहिनीहरुको आफनै समस्या छ रोजगारी नहुँदा आर्थिक समस्याहरु छन । यसलाई विस्तारै सम्बोधन गर्दै लगिनेछ ।
नगरपालिकाको प्रवक्ता समेत हुनुहुन्छ । सुर्योदय क्षेत्रको समस्या र संभावना के के पाउनुभयो ?
सुर्योदय नगरपालिका आफैमा एउटा संभावना बोकेको क्षेत्र हो । प्रदेश नं १ को पहाडी क्षेत्रको सबैभन्दा बढी जनघनत्व र विशेष संभावना बाकेको क्षेत्र हो । पर्यटकिय, आर्थिक हिसाबले औद्योगिक संभावना पनि छ । यहाँ गर्नुपर्ने धेरै बाँकी छन जन आकांक्षा धेरै छन यसलाई नगरपालिकाले सम्बोधन गरेर लग्ने नै छ । समस्या भन्नुपर्दा विशेष गरेर सुर्योदय नगरपालिकामा सबैको घरदैलोमा गुनासो चौतारी भन्ने कार्यक्रम लिएर टोल टोलमा पुगिरहेका छौ । अहिलेसम्म १, १३ र १४ नं वार्डमा सम्पन्न भयो भने माघ १९ गते २ र ३ नम्बर पशुपतीनगरमा समेत सम्पन्न गर्यौ । त्यसमा जनताको गुनासो प्रत्यक्ष रुपमा स्थानिय तहमा पुग्नुपर्छ भनेर कार्यक्रम अघि सारिएको हो । त्यसमा गुनासो सुन्ने क्रममा छौ । तत्काल गुनासोहरु त नआउला हामी प्रारम्भिक चरणमै छौ । स्थानिय सरका बनेको ६ महिना मात्र हुँदैछ । अहिले विशेष गुनासो भन्दा पनि आकांक्षा बढी सुनिरहेका छौ । यस्तो हुनुप¥यो भनी विकासका कुरा उठेका छन । बाटो बिजुली र खानेपानी लगायत शैक्षिक स्तरका कुरा सुन्नमा आएका छन ।
सुर्योदय नगरपालिकाको बजेट कति छ र कसरी विनियोजन गरिएको छ ?
यसको ठ्याक्कै अंकमा टिपोट गरेर दिन सकिन तर हामीले बैज्ञानिक ढंगले बर्गिकरण गरेर वडालाई जनसंख्याको आधारमा, भौगोलिक र केन्द्रबिन्दु देखी दुरीको आधारमा विभिन्न शिर्षकमा छुटयाएर बडाको सिलिङ बनाएका छौ । वडालाई बैज्ञानिक ढंगले बजेट बनाउनुपर्छ स्थानिय सरकार बन्दा वडागत रुपमा सिलिङ दियौ । यता नगरपालिकाले विभिन्न क्षेत्रमा सोही अनुरुप सिलिङ बनाएका छौ । त्यो अनुरुपले बजेट तर्जुमा भइ स्थानिय तहमा खर्च गरेका छौ ।
तपाइको वडामा चाही कस्ता योजनाले प्राथमिकता पाउछन ?
हाम्रो वडामा बिशेषत आधारभुत आवश्यकता बाटो केन्द्रित भइ स्तरोन्नती त्यो भन्दा यता लक्षित वर्गको कार्यक्रम छ । पुर्वाधारको हिसाबले सानो क्षेत्रमा जिर्ण मठमन्दिर देखी लिएर युवा लक्षित कार्यक्रम ल्याएका छौ । हामीले स्वास्थ्य बिमाको कार्यक्रम ल्याएका छौ जसमा २० जना विपन्न, लोपोन्मुख र सिमान्तकृतलाई बिशेष वडाले स्वास्थ्य बिमा गरिदिनेछ । भौतिक पुर्वाधार विकासका कार्यक्रम त छदैछन ।
सुर्योदय नगरपालिकामा व्यवस्थित बधशाला, पार्किङको ठुलो समस्या छ । भर्खरै मात्र नगरपालिकाले १५ मिटर दायाँबायाँ मेची राजमार्ग कायम गर्न प्रकाशन गरेको १५ दिने सुचनाले विबाद चुलिएको छ अब उठेका असन्तुष्टिलाई नगरपालिकाले कसरी सम्बोधन गर्छ ?
विशेष त पार्किङको समस्या देखिएको छ । यस बारेमा कार्यपालिकामा समेत उठाएका छौ र बधशालाको समस्याको बारेमा समेत समाचारहरु आइरहेका छन यस बिषयमा हामी गम्भिर छौ । यसमा के छ भने सुर्योदय नगरपालिकाले पार्किङ सहजताको लागी मेची राजमार्ग क्षेत्रमा व्यवस्थापन गरेको हो यसमा के हो भने अलिकती बुझाबुझ नभएर हो वा ठेकेदारबाट कमीकमजोरी भएको छ यस बिषयमा उहाँहरुसंग छलफल भइरहेको छ । सम्झौता गर्दा विभिन्न बुदाहरु छन जस्तो पार्किङ गर्दा कम्तीमा आधा घण्टा भएपछि मात्र शुल्क तिर्नुपर्ने हुन्छ । गाडीको स्र्टाट बन्द नहुन्जेल पार्किङ उठाउन पाइदैन भन्ने नियम छ । त्यो हिसाबमा ठेकेदारसंग बारम्बार छलफल गरिरहेका छौ । यस बिषयमा क्रमिक सुधार आउँछ । पार्किङ दिँदा नगरपालिका कै विकासको लागी हो भन्ने आम सर्वसाधारणलाई बुझिदिनुहुन आग्रह गर्छु । त्यो भन्दा उता १५ मिटरको कुरा आइरहेको छ । विगत लामो समय देखी आउँछ आउँछ भन्ने कुरामा स्थानिय सरकारले पहल कदमी गरेको हो किन भने हाम्रो बजार अस्तव्यस्त भइरहेको छन । नवनिर्मित भवनले अतिक्रमण बढेको छ । बाटो हिडन समस्या छ । त्यहाँ पर भरखरै २ जना युवायुवती बाइक दुर्घटनामा मृत्यु भयो ।
यो किन भइरहेको छ भन्ने हाम्रो बाटोहरु धेरै साघुँरो भइरहेको छ । भौतिक संरचना बन्दैछ बजार त्यसरी बढदैछ । मानिसको आस्था यसरी बढदैछ कि उनीहरु आर्थिक रुपमा बजार केन्द्रित भइरहेका छन । अब यसको बिकल्प के हो त भन्दा हाम्रो नगरमा यातायात कसरी व्यवस्थित गर्न सकिन्छ भनेर १५ मिटर लागु गर्ने कार्यक्रम अगाडी सारेका भन्दा पनि डिभिजन सडक कार्यालयसंगको सहकार्यमा नगरपालिकाबाट अघि बढेको हो । मेची राजमार्ग सुर्योदय नगरपालिका अन्र्तगत आएको हुँदा हाम्रो क्षेत्रभित्र लागु गराउने तयारी हो । शिबकुमार बस्नेतलाई कार्यपालिकाको निर्णयबाट मुख्य सडक अतिक्रमण खाली गराउने समिती संयोजक तोकेको छ । यसलाई अन्यथा भन्दा पनि उक्त काममा जनताले सहयोग गर्नुपर्छ । यहाँ गुनासो पनि कुरा आयो धेरै जना मारमा परेका छन ।
मेरो वार्डमा पहिला देखी नै भौतिक संरचना बनाउँदा सडक क्षेत्रमा बनाउनु भएको छ । त्यो भत्किएला तर यहाँ असुन्तुष्ट भन्दा संतुष्ट धेरै छन । धेरैले स्वागत गरेका छन यसरी साँघुरो बाटोले समस्या भयो भोलीका दिनमा विकासमा अघि बढ्न पर्छ भन्ने बढी छन । यदपी आफनो घर सम्पती क्षति हुँदा कसलाई दुख हुँदैन र उहाँको असन्तुष्टी जायज छ । सम्बन्धित ठाँउमा आएर छलफल गर्दा राम्रो हुन्छ ।
सुर्योदय नगरपालिकाले सुचनाको हकको कार्यान्वयन कसरी गरिरहेको छ ?
सुचनाको हकको बिषयमा सवै वडामा नागरिक वडापत्र राख्ने अहिले नगरपालिकाले हेलो सुर्योदय स्थानिय एफएमबाट साताको सोमबार प्रसारण गरिरहेको छ । जनताको गुनासो सुन्न गुनासो चौतारी कार्यक्रम लिएर वाड वाडमा पुगीरहेका छौ । हाम्रो वेवसाइट छ जति पनि पारित ऐन छन हालेका छौ । फेसबुक पेज पनि छ त्यसलाई फलो गर्न सक्नुहुन्छ । पत्रपत्रिकामा पनि व्यापक सुचना गरेका छौ । स्थानिय संचारमाध्यम संग सहकार्यमा गरिरहेका छौ ।
अबको ५ बर्षमा तपाईको वडाको प्रारुप चाही कस्तो हुन्छ ?
सुर्योदय नगरपालिकाको फिक्कल केन्द्रिबिन्दुको रुपमा स्थापित गर्नुपर्छ । अब यसलाई के छ भने पहाडी इलाका रहेकाले बजार सिमित क्षेत्रमा मात्र छ । सुर्योदय नगरपालिका–१० लाई फराकिलो रुपमा बजार बिस्तार गर्ने क्रममा छौ । अहिले हामी चोक बजारलाई मात्र केन्द्रबिन्दु बनाइरहेका छौ । अब सबै क्षेत्रलाई फराकिलो बनाएर लग्ने छौ । ५ बर्षभित्रमा यहाँका विद्युत, बाटोलाई १२ महिना चल्न सक्ने बनाउने अवधारणा अघि सारेका छौ । त्यसै गरी बजारसम्म जोडिने छिमेकी गाउँपालिका÷नगरपालिकासंग जोडने बाटोलाई स्तरोन्नतीमा ध्यान दिनेछौ ।
आर्थिक ऐन २०७४ पारित गरेर ल्याउनुभएको छ जसमा करको दायरा उल्लेख्य रुपाम बढाइएकाले नगरबासी मारमा परेका गुनासो आइरहेको छ अब के गाँउ÷नगरमा सिंहदरबार नारामा मात्र सिमित हुने हो ?
त्यो चाही हामीले बुझाउन नसकेर हो । हामी एकिकृत सम्पती करको अबधारणा लिएर आएका छौ । यसमा के छ भने हाम्रो पनि गल्ती हुन सक्छ त्यो त हामी बुझदै गएपछि सर्वसाधारणले एकदमै सहुलियत महसुुस गरेका छन सबैजना एकदमै खुशी छन । वडा नं १३ र १४ मा अलिकती समस्या परेको थियो हामी गुनासो चौतारी लिएर जाँदा गुनासो राख्नुभयो त्यसलाई हामीले प्रष्ट पा¥यौ । के छ भने एकिकृत सम्पती करले १ लाखसम्म धितो जेथा छ भने यसको २५ रुपैया मात्र पर्छ क्रमागत रुपमा बढदै जाँदा १ करोडसम्मको सम्पती छ भने १० हजार रुपैया राजस्व तिर्नुपर्छ त्यो हो एकिकृत सम्पती कर । यसले कसैलाई मार्न भन्दा पनि नेपाल अधिराज्य भर एकिकृत सम्पती कर लागु हुँदैछ । हिजो हामी आउनुभन्दा पहिला सुर्योदय नगरपालिकाले निर्धारण गरेको करलाई आंशिक रुपमा फरक पर्ने गरी मात्र कार्यपालिका÷नगरसभाले पास गरेको छ । एकिकृत सम्पती करको बारेमा आम जनसमुदायमा के आग्रह गर्छु भने एकिकृत सम्पती करले जनतालाई मारमा पारेको छैन । केही दिन अघि मात्र वडा कार्यालयमा धेरै सेवाग्राही आउनुभएको थियो यसको बारेमा बुझेर खुशी हुँदै जानुभयो । एकिकृत सम्पती कर लागु हुने जनताको लागी नै फाइदाको कुरा हो । केही दिनमा नगरपालिकाले के निर्णय गर्दैछ भने कुनै बेला बिपत प¥यो भुकम्प, भु–क्षय, आगलागीबाट जायजेथामा नोक्सानी भयो भने यस्तो बिषयमा तपाइले तिर्नु भएको एकिकृत सम्पती करको ३५ प्रतिशतसम्मको अनुदान दिन्छ यसको अर्थ हामी एकिकृत सम्पती कर उठाउने मात्र होइन उठेको कर जनता समक्ष कसरी फिर्ता गर्न सकिन्छ भन्ने कुरामा हामी अघि बढेका छौ ।
अन्त्यमा नगरबासीहरुमा भन्नुपर्ने केही कुरा छ भन्ने भनिदिनुहोला ?
समग्रमा धेरै कुरा आएका छन । नगरपालिकाले विभिन्न अभियानहरु थालेको छ त्यसमध्ये प्लाष्टिकमुक्त अभियान पनि छ । नगरलाई कसरी सुन्दर बनाउन सकिन्छ भनेर प्लाष्टिकमुक्त सुर्योदयलाई अगाडी बढाएका छौ । यसलाई जनस्तरमा सहयोग समेत पाएका छौ । यदि छिटपुट रुपमा प्लाष्टिकजन्य झोला प्रयोग गर्नुभएको छ भने नगर्दा राम्रो हुन्छ किन भने हामी कानुनको दायरा भित्र आइसकेको छौ । कुनै पनि निर्णय गर्दा तपाइहरुको साथ सहयोगले अघि बढेका छौ । आगामी दिनमा समेत अपेक्षा छ । पुर्वाधार विकासमा जनस्तरको सहयोग छ । टोल सुधार समितीले राम्रो काम गर्नुभएको छ । त्यसले गर्दा हाम्रो सुर्योदय नगरपालिकालाई कसरी हराभरा बनाउन सकिन्छ त्यसमा सवै लाग्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार