Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

संयुक्त बाम गठबन्धनको साझा उम्मेदवार भएकाले गर्दा स्पष्ट मतले चुनाव जित्छुः खिनु लङ्वा लिम्बु

संयुक्त बाम गठबन्धनको साझा उम्मेदवार भएकाले गर्दा स्पष्ट मतले चुनाव जित्छुः खिनु लङ्वा लिम्बु

  • सुजन तिमल्सिना / नमिन ढकाल
  • मंगलबार, मंसिर १२ २०७४


संयुक्त बाम गठबन्धनको साझा उम्मेदवार भएकाले गर्दा स्पष्ट मतले चुनाव जित्छुः खिनु लङ्वा लिम्बु

खिनु लङ्वा लिम्बु  इलाम क्षेत्र नं १ को १ की बाम गठबन्धनको तर्फबाट प्रदेशसभाकाे साझा उम्मेदवार हुन । २०२७ सालमा बाबु बिर्खबहादुर लिम्बु र आमा फिकिरानी लिम्बुको कोखबाट जन्मिएकी उनले अनेरास्ववियुबाट विद्यार्थी राजनिती सुरु गरिन । महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी उनी २०४७ सालबाट नेकपा एमालेको सदस्यता प्राप्त गरेपछि सक्रिय राजनितिमा देखा परिन । २०४७ देखी २०५१ सालसम्म अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष रहिसकेकी लिम्बुसंग समसामयिक राजनितिक र चुनावको बिषयमा गरिएको संक्षिप्त कुराकानी

पार्टीको सदस्यता कहिले लिनुभयो ?
२०३८ सालमा अनेरास्ववियुमा इलाका स्तरिय कमिटीमा बसेर काम गरेको छु । त्यसपछि जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँदै पार्टीको लागी काम गरियो । त्यसबेला अखिल नेपाल महिला संघको पनि बरावर काम संचालन गर्नुपर्थ्याे । जनशक्ति कम भएकाले महिलाको क्षेत्रमा विद्यार्थी, जनसांस्कृतिक क्षेत्रमा काम गर्दै पञ्चायती व्यवस्था विरुद्ध काम गरियो । अनेरास्ववियुको अगुवाइमा २०४० साल जेठ २६ गते किसान आन्दोलन इलाम सदरमुकाममा गरियो । पार्टी संगठन सदस्य २०४४ सालको आवेदन हो २०४७ साल माघमा प्राप्त गरे ।

पार्टीको कुनकुन पदमा बसेर काम गर्नुभएको छ ?
पञ्चायत विरुद्ध विभिन्न टोलस्तर कमिटीमा बसेर काम गरेको छु । त्यसपछि गाउ कमिटीलाई सशक्त रुपमा परिचालन गर्दै वुद्धिजिवी, गाविस स्तरको परिचालन गर्दै गाउ कमिटीबाट महिला संघको इलाका स्तरिय अध्यक्ष हुँदै काम गरेको छु । २०४८ साल देखी २०५३ सालसम्म अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष समेत भए ।

संघसंस्थामा कुन कुनमा हुनुहुन्छ ?
अनेमसंघमा लामो समय काम गरेपछि त्यससंगै महिला सृजना समाजमा २०५१ सालदेखी हालसम्म महिला शसक्तीकरण, महिला हिंसा न्युनिकरण, महिलाको सवाल सम्वोधनका निम्ती त्यस क्षेत्रमा भुमिका निर्वाह गरेको छु । गैसस महासंघमा पनि काम गरेको छु ।

तपाइको उम्मेदवारी के को लागी ?
मुख्य गरी लामो समयसम्म पार्टीमा काम गरेर आइसकेको छु । लामो लगनशिलता दिगोपन, सक्रियताका कारण उम्मेदवारी प्राप्त गरे । यसले समग्र पार्टीले उठाएको मुद्धालाई सम्वोधन गर्ने दृढताका साथ उभिने गठबन्धनले उठाएको साझा मुद्धा कार्यान्वयनको नितीमा ठुलो सहयोग छ । जसले साझा रुपमा सहयोग गरेको छ । यसले निरन्तरता अडान, दिगोपनको लागी उम्मेदवारी हो । जसको लागी समग्र पार्टीको मुद्धामा अडानका साथ उभिने भएकाले उम्मेदवारी पाएको छु ।

तपाइको एजेन्डा के के छ । तपाइले जित्नुभयो भने के के परिर्वतन गर्ने लक्ष्य छ ?
सर्वप्रथम गठबन्धनको साझा उम्मेदवार भएकाले गठबन्धनको साझा सवाल सम्वोधन गर्ने बिषय छ । संविधान कार्यान्वयन गर्ने प्रमुख बिषय छ । संविधान कार्यान्वयनको निम्ती निती बनाउनु छ जुन जनताको हितको निम्ती, अधिकार सम्पन्न गराउनको निम्ती, स्थानिय तहलाई अधिकार सुसजित बनाउनको निम्ती एउटा आवश्यकता छ ।

स्थिर सरकार निर्माण गरी विकास र समृद्धीलाई अगाडी बढाइ समाजवाद उन्मुख ठाँउमा पुर्याउन विशेष जिम्मेवारी रहनेछ यसको निम्ती । साथ साथै महिला हिंसा, कुरिती, कुसंस्कारको अवशेष अन्त्य गर्न, दलालशाही अन्त्यको निम्ती विशेष पहल हुनेछ । त्यसै गरी आदिवासी, दलित, पिछडिएको क्षेत्रलाई विशेष निती बनाएर अधिकार सम्पन्न बनाउदै आधारभुत समस्या सम्वोधनको निम्ती मेरो उम्मेदवारी हो ।

तपाइको जित्ने आधार के के हुन सक्ला ?
पहिलो आधार संयुक्त बाम गठबन्धनको साझा उम्मेदवार हो । जसले गर्दा जित्छु । पार्टीपंक्ति छन शसक्त रुपमा कमिटी छन । जहाँ शुभेच्छुक, शुभचिन्तक, व्यापक रुपले परिचालित छन । संगठन विस्तार र सक्रिय पार्टी परिचालन शक्ती र महिलाको हिसावले महिला दिदिवहिनी, भोलीका दिनमा अधिकार सम्पन्न गराउनुपर्छ भन्ने विश्वास बोकेकाहरुबाट सहयोग हुनेछ । भोलीका दिनमा अधिकार दिलाउने क्षेत्रमा पुग्ने लक्ष्य छ जसको निम्ती हाम्रो पार्टी, गठबन्धनले पुर्याउनेमा विश्वस्त छौ ।

चुनावी एजेन्डाको कुरा गर्दा राजनितिक नेतृत्वले आश्वासन बाडने काम नगर्ने गुनासो बढी छ के कारणले होला ?
विशेष गरेर अस्थिर सरकारका कारण सृजना भएको हो । मजवुत रुपमा कुनै सरकार लामो समय काम गर्न सकेनन् । नेपाली कांग्रेस चाही लामो समयसम्म राज्य सत्तामा रहेर अस्थिर रुपमा परिचालन भयो । उस्को नेतृत्व अहिलेसम्म सफल हुन सकेन । जसकारण देशमा चाहना अनुरुप विकास भएन जसको प्रमुख कारण अस्थिर सरकार नै हो । त्यस कारण बाम गठबन्धनले बहुमत र स्थिर सरकार निर्माण गर्ने पक्षमा छौ ।

बहुमत सरकार भएको खण्डमा विकास अधिकारको मुद्धालाई सम्वधोन गर्दै क्रमागत रुपले योजना तर्जुमा विधीबाट प्राथमिकिरण गरेर वडाबाट गर्ने कुरा वडास्तरको कार्यकर्ता पंक्तिबाट र वडाले नसक्ने कुरालाई गाउपालिका र नगरपालिकाको बजेटबाट सम्वोधन गरिनेछ । त्यसबाट पनि नसक्ने कार्यक्रम र ठुला आयोजनालाई प्रदेशबाट सम्वोधन गर्ने छौ । प्रदेशबाट हुन नसक्ने आयोजनालाई केन्द्र तहबाट गराउने प्रतिवद्धता छ । त्यती मात्र नभएर ३ तहले समेटन नसकेको योजना दातृ संस्थासंग प्रपोजल पेस गरेर उत्साही बनाएर ठुलो योजनामा लगानी ल्याउछौ ।

एजेन्डाकै कुरामा लामो समयदेखी एमालेको नेतृत्व छ । स्थानिय चुनावमा पनि धेरै ठाँउमा एमालेले जित्यो । बाम गठबन्धन भएपछि अझ बलियो छ तर एजेन्डा कार्यान्वयनको विश्वास गर्ने आधार के छ ?

लामो समयसम्म एकलौटी कांग्रेसको शासन थियो । त्यो कार्यक्रममुखी थियो त्यसले सवै क्षेत्रलाई समेटन सकेन । तर हामीले आगामी दिनमा संविधान कार्यान्वयन गर्दा सम्पुर्ण क्षेत्र समुदाय र विकासलाई नितीमा समावेश गरेर विधीमुखी, नितीमुखी बनाएर समग्र विकासलाई समानुपातिक समावेशी र सहभागीतामुलक निती अन्र्तगत सम्पन्न गर्ने हाम्रो विधी मुख्य विधी नै निती निर्माण हो ।

अन्त्यमा आफना मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?
भन्नै पर्दा प्रदेशसभाको लागी इलाम क्षेत्र नं १ को १ उत्तरी क्षेत्र भौगोलिक रुपमा अफठयारो छ । सम्पुर्ण क्षेत्र, टोलटोलमा पुग्न सकिदैन जस अनुसार सम्पुर्ण मतदाताहरुलाई प्रदेशसभाको तर्फ संयुक्त बाम गठबन्धनको साझा उम्मेदवार रहेर उभिएको छु । २१ गतेको निर्वाचनमा सक्रियतापुर्वक भाग लिएर सुर्य चिन्हलाई अमुल्य मत दिएर बहुमतका साथ बाम गठबन्धन जिताउन हार्दिक अपिल गर्दछु ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार