Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेम्वाङ र थापाबीचकाे इलाम २ मा रोचक प्रतिस्पर्धा

नेम्वाङ र थापाबीचकाे इलाम २ मा रोचक प्रतिस्पर्धा

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक २६ २०७४


नेम्वाङ र  थापाबीचकाे इलाम २ मा रोचक प्रतिस्पर्धा

इलाम । इलाम २ मा पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङ र पूर्वसांसद केशव थापाबीच रोचक प्रतिस्पर्धा हुँदै छ । दुवै नेता दिनरात चुनावी दौडमा छन् । राजनीतिक खेलाडी नेम्वाङ संविधानसभा र व्यवस्थापिका संसद्का अनुभवी मियोका रूपमा परिचत छन् भने थापालाई जिल्लामा ‘विकासप्रेमी’ नेताका रूपमा चिनिन्छ ।

मीठो बोल्ने नेम्वाङ र सीधा कुरा राख्न सिपालु थापाबीच २०६४ को संविधानसभा निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । ०७० को संविधानसभामा भने नेम्वाङ २ र थापा ३ नम्बर क्षेत्रबाट उम्मेदवार भई विजयी भएका थिए । संविधान जारी गर्न नेम्वाङले प्रमुख राजनीतिक दललाई सहमतिका लागि दबाब दिइरहँदा थापा सभासद थिए । नेम्वाङ संविधानसभाको मुख्य कुर्सीमा बसिरहेका बेला थापा कांग्रेसको लाइनमा बसेर आफ्ना कुरा राख्थे । नेम्वाङको अध्यक्षतामा संविधान जारी भएपछि हुन लागेको पहिलो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुवै एउटै क्षेत्रबाट मैदानमा छन् ।
स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमालेले दुई नगरपालिका र एक गाउँपालिका जितेको छ भने कांग्रेसले दुई गाउँपालिका । माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा कांग्रेस, इलाम र देउमाई नगरपालिका तथा चुलाचुली गाउँपालिका एमालेले जितेका छन् । यसअघि ३ नम्बर क्षेत्रमा रहेको इलाम नगरपालिका १० गोदक क्षेत्र अहिले १ नम्बरमा गाभिएको छ भने माई नगरपालिकाको महमाई क्षेत्र २ मा । इलाममा अहिले दुइटा मात्र निर्वाचन क्षेत्र छन् । यो निर्वाचनमा कांग्रेसभन्दा वाम गठबन्धन करिब ५ हजार मतले अगाडि छ । माओवादीले एमालेलाई समर्थन गरेकाले उसको मत थपिएको हो । नेम्वाङले चुनाव जित्न आफू २४ घण्टा खटिएको बताए । ‘संविधानसभामा संविधान जारी भएपछि यसको कार्यान्वयनका साथै विकास र समृद्धिको विषय लिएर मतदातासमक्ष पुगेको छु,’ उनले भने, ‘मतदाताले कति काम गरिस् भनेर सोधिरहेका छन् ।’

कांग्रेस उम्मेदवार थापाले भने केन्द्रमा ‘हेबिवेट’ हुँदैमा विजयी अभियानमा असर नपर्ने बताए । ‘संविधान कार्यान्वयन र विकासका लागि मतदाताले मलाई खोजेका छन्,’ उनले चुलाचुली प्रचारमा रहेका थापाले भने, ‘मुख्य कुरा विकास हो, यहाँ कुरामा मात्र विकास भएको छ, त्यो म गर्न सक्छु ।’ कांग्रेसले वामपन्थी गठबन्धनमाथि अधिनायकवाद ल्याउन खोजेको आरोप लगाइरहेका बेला नेम्वाङले ठाडै अस्वीकार गरे । ‘लोकतान्त्रिक संविधानमा अधिनायकवाद जन्मने ठाउँ कहाँ छ ?’ उनले भने, ‘बरु सरकारमा बसेर कांग्रेसले अधिनायकवादी चरित्र देखाइरहेको छ ।’ कांग्रेससँग माओवादी मिल्दा लोकतान्त्रिक हुने तर एमालेसँग तालमेल गर्दा अधिनायवादी कसरी हुन्छ भनी नेम्वाङले प्रश्न गरे । ‘प्रचण्ड हामीसँग मिल्दा आकाश खसेजस्तै किन गरेको ?’ उनले थपे, ‘देशलाई माया गर्ने एक ठाउँमा उभिनुपर्छ ।’ विगतमा संविधान जारी गर्ने मुख्य जिम्मेवारी भएकाले विकासको काम सोचेजस्तो नभएको उनले स्विकारे । ‘मतदाताको आर्थिक समृद्धिको चाहना छ, त्यसका लागि हामी लागिरहेका छौं ।’

प्रतिस्पर्धीको विगत

नेम्वाङ पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वअध्यक्ष झलनाथ खनालका स्कुल तथा क्याम्पसका सहपाठी हुन् । ०२९ सालमा इलाम बहुमुखी क्याम्पसका सभापति रहेका उनी ०४८ र ०५१ मा राष्ट्रियसभा सदस्य बने । उनी ०५६ यता इलाम २ बाट निरन्तर प्रतिस्पर्धामा छन् । ०५६ मा तत्कालीन कांग्रेस महामन्त्री कुलबहादुर गुरुङलाई पराजित गरेका नेम्वाङ ०६४ र ०७० को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भए । ‘स्ववियु निर्वाचनदेखि हालसम्म मैले कहिल्यै हारेको छैन,’ उनले सुनाए । ०६२र६३ को आन्दोलनपछि पुनस्स्थापित संसद्का सभामुख रहेका नेम्वाङले ०६४ र ०७० को संविधानसभा अध्यक्ष तथा रूपान्तरित व्यवस्थापिका संसद्को सभामुखसमेत गरी चार पटक जनप्रतिनिधिहरूको अध्यक्षता गरे । उनकै अध्यक्षतामा रहेको संविधानसभाले नेपालको संविधान जारी गरेको थियो । एमाले संसदीय दलका उपनेता रहिसकेका उनी हाल पार्टी स्थायी समिति सदस्य छन् ।

०३३ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका नेम्वाङका प्रतिस्पर्धी थापा ०५६ को प्रतिनिधिसभा निर्वाचनमा इलाम ३ बाट विजयी भएका थिए । ०४८ मा इलाम नगरपालिका मेयर निर्वा्चित उनी ०५९ मा पार्टी जिल्ला सभापति निर्वा्चित भए । ०६४ को संविधानसभा निर्वाचनमा उनी नेम्वाङसँग पराजित भएका थिए । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा इलाम ३ बाट विजयी बने । ठीक १० वर्षपछि नेम्वाङ र थापा आमनेसामने भएका छन् । यो क्षेत्रमा इलाम र देउमाई नगरपालिकासहित माङसेबुङ, चुलाचुली र फाकफोकथुम गाउँपालिका छन् । र्इकान्तिपूरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार