Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पौरखको लागी पढाइले छेक्दैन, प्रेरणाको स्रोत बनिन दुर्गा

पौरखको लागी पढाइले छेक्दैन, प्रेरणाको स्रोत बनिन दुर्गा

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक ९ २०७४


पौरखको लागी पढाइले छेक्दैन, प्रेरणाको स्रोत बनिन दुर्गा

इलाम ।  इलाम नगरपालिका-६ की दुर्गा कुमारी राई पौरख गर्न सके पढाइले छेक्दैन् भन्ने उदहारण बनेकी छिन् । तत्कालिन इलामको उत्तरी गाविस माइपोखरीमा जन्मेकी दुर्गाले ग्रामिण विद्यालयबाट कक्षा आठ सम्म मात्र उत्तिर्ण गरेकी थिइन् । उनले २०५७ सालमा देउमाई नगरपालिका ६ शान्तिडाँडाका चन्द्र राईसँग विवाह गरिन् ।

२०६२ सालमा इलाम नगरपालिका १, साखेजुङ्गको नेपालटारमा मखमली महिला समुहको अध्यक्ष रहेकी दुर्गाले अर्को सुनाखरी महिला समूहसँग साझेदारीमा दुईवटा समुहबाट साझेदारी फर्म सञ्चालन गरी दुग्ध परिकार इलामको कोसेली रुपमा चिनिने ललिपप र बम्बैसन उद्योग स्थापना गरिन । २०६२ सालमा घरेलु तथा साना उद्योग विकास समिति इलामबाट उद्योग दर्ता गरि सञ्चालन गर्न थालेको सात वर्षपछि एकल लगानीमा इलाम नगरपालिका स्थित नारायणस्थानमा इलाम ललिपप उद्योग दर्ता गरेर आत्मनिर्भर बन्न पुगिन ।
भाडाको घरमा तीन वर्षसम्म उद्योग सञ्चालन गरे पछि २०७२ सालमा इलाम नगरपालिका ६ चुरेघाँटीमा आफ्नै उद्योगको भवन निर्माण गरेर सरे पछि उनलाई जिल्ला पशुसेवा कार्यालय इलामले डेरी पसल निर्माणको लागी २ लाख रुपैया अनुदान दियो । पशुले दिएको अनुदानबाट आफुलाई हौसला मिलेको दुर्गा बताउँछिन । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिबाट २०७४ सालमा ७२ हजार रुपैँया बरावरको बम्वइस प्याक गर्ने मेसिन, फेन लगायतको सामाग्री अनुदानमा पाइन । त्यसैगरी व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले उद्योगका लागि सामग्री खरिद गर्नका निमित्त तीन लाख ४५ हजार रुपैंयाँ सहयोग गरेपछि आफ्नै लगानीमा इलाम नपा ६ चुरेघाटीँमा आफ्नै उद्योग निर्माण गरेको उनी बताउछिन् ।


इलामको प्रसिद्ध ललिपप र बम्बैसन कोसेलीका रुपमा बाहिर समेत जाने हुनाले उद्योगप्रतिको आकर्षण बढेको उनको भनाई छ । उनको उद्योगबाट दैनिक ६० किलो ललिपप उत्पादन हुने गरेको छ । जसका लागी इलाम नगरपालिका–४ माइपोखरी र देउमाइ नगरपालिकामा संचानल गरिएको डिपोबाट दैनिक ३ सय लिटर दुध संकलन हुन्छ ।
महिलाहरुले पनि चाहेमा जस्तोसुकै कार्य गरी आत्मनिर्भर बन्न सक्छन् भन्ने प्रेरणाकी स्रोत बन्न पुगेकी दुर्गाले आफू जस्तै महिला गृहिणीहरुका लागि रोजगार समेत दिएकी छिन् । उद्योगमा आठ जना महिला र डिपोमा तीन जना गरी जम्मा ११ जना कामदार रहेका छन् । क्याम्पस पढ्ने विद्यार्थी देखि बच्चा पढाउन कोठा बसेका गृहिणीसम्म उद्योगमा काम गर्ने गरेका छन् ।

सदरमुकामस्थित चारखोला उच्च माविमा कक्षा १२ मा अध्ययनरत भिमा राईले बिहानको समय क्याम्पस जाने र दिनमा काम गरेर खर्च जुटाउने गरेको बताइन् । उनले खाली समयको सदुपयोग गरी आफूलाई व्यस्त बनाउनका लागि काम गरेको बताइन् । यस्तै स्थानीय धनमाया लिम्बुले काम गरेर घरायसी खर्च र बच्चा पढाउन समेत सहज भएको बताइन् । उद्योगमा काम गर्नेहरुलाई काम हेरेर मासिक रुपमा ५ देखी ८ हजार रुपैयासम्म पारिश्रमिक दिने गरेको दुर्गा बताउँछिन । मासिक छ लाखको हाराहारीमा कारोबार हुने ललिपपबाट १० प्रतिशत भन्दा बढी नै मुनाफा हुने गरेको छ । ललिपप स्थानीय इलाम, फिक्कल, बिर्तामोड, काठमाडौँसम्म बजारीकरण हुने गरेको दुर्गाले बताइन् । काठमाडौँमा भने भूकम्प पश्चात कम मात्रामा मात्र जाने गरेको उनको भनाई छ ।

उनले २०७० सालमा घरेलु तथा साना उद्योग पूर्वाञ्चल क्षेत्रीय पर्यटन तथा कृषि प्रदर्शनीबाट उत्कृष्ट पुरस्कार साथै २०७१ सालमा घरेलु तथा साना उद्योग केन्द्रिय समितिबाट राष्ट्रकै दोसा्रे पुरस्कार प्राप्त गरिसकेकी छिन् । यस्तै अन्य पुरस्कारबाट समेत सम्मानित भएकी उद्यमी दुर्गा कुमारी राई एक प्रेरणाकी स्रोत बनेकी छिन् ।( माइपोखरी न्युज)

प्रतिक्रिया
सम्बन्धित समाचार